22nd February | 2018 | Thursday | 1:04:23 PM

संकटा राइनो गोल्डकपको च्याम्पियन

  POSTED ON : Friday, 10 November, 2017 (5:11:19 PM)

संकटा राइनो गोल्डकपको च्याम्पियन

हिमालय टाइम्स

कोल्हुवा । काठमाडौंको सिएमजी क्लब संकटा चौथो संस्करणको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नवलपारसीको कोल्हुवामा बिहीबार भएको फाइनलमा विभागीय टोली नेपाल एपिएफ क्लबलाई सडन डेथमा ५–४ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

निर्धारित समयमा १–१ गोलको बराबरी तथा पेनाल्टी सुटआउटमा पनि ४–४ गोलको बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो । सडन डेथमा एपीएफका टोपबहादुर विष्टको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाएपछि संकटा च्याम्पियन बन्न सफल भएको हो । 

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता नेपाल एपिएफ क्लबले लिएको थियो । त्यो अग्रता एपीएफले जोगाउन सकेन । २७ औं मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । ७५ औं मिनेटसम्म १–० को अग्रता बनाएको एपीएफले ७६ औं मिनेटमा गोलखायो । संकटाका विदेशी खेलाडी मार्टिन अजायीले बराबरी गोल फर्काएका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो । 

जसमा संकटाले बाजी मा¥यो । च्याम्पियन बनेसँगै संकटाले नगद ५ लाख २५ हजार ५ सय ५५, प्रमाण पत्र तथा शिल्डसँगै एक दिनको होम स्टे तथा चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण गर्ने मौका पाएको छ । उप विजेता बनेको नेपाल एपीएफ क्लबले नगद २ लाख ५० हजार ५ सय ५५, प्रमाण पत्र तथा शिल्ड प्राप्त गरे । विजयी खेलाडीलाई वन तथा भू संरक्षण मन्त्रालयका सचिव युवध्वज जिसीले पुरस्कृत गरे । 

नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितिले राइनो संरक्षण गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरेको हो । कात्तिक १३ गतेबाट सुरु प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित १२ टिमको सहभागिता रहेको थियो ।