Date:2017/11/23 |Thursday

यसरी भयो ऐतिहासिक जित

Posted on: November 13, 2017 | views: 52 |

हिमालय टाइम्स

काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले अलराउण्डर प्रदर्शनमा युवा क्रिकेट टिमले टेष्ट मान्यता प्राप्त भारतलाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ ।

मलेसियामा जारी एसीसी यु–१९ युथ एसिया कपको दोस्रो खेलमा अलराउन्डर प्रदर्शन गरेका कप्तान दीपेन्द्रले ब्याटिङतर्फ ८८ रन र बलिङमा ४ विकेट लिएका थिए । 

बायोमास ओभलमा आइतबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले सम्हालिएको प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रनको मध्यम स्कोर तयार पारेको थियो । १ सय ८६ रनको लक्ष्य पछ्याएको भारतले राम्रो सुरुवात गरे पनि पूरै ओभर खेल्न सकेन । 

भारतले ४८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो । नेपालले पहिलो विकेटको रूपमा भारतका लागि ओपनर हिमांशु रानालाई ४६ रनमा आउट गरेको थियो । ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरेका हिमांशुलाई कमलसिंह ऐरीले बोल्ड गरेका थियो । दीपेन्द्रसिंह ऐरीले आदित्य ठाकरेलाई २३ ओभरको अन्तिम बलमा १३ रन बनाएर खेलिरहँदा एलबिडब्लूको धरापमा पारे । मनोज कर्ला ३५ र सलमान खान १ रनमा आउट भए । मनोजलाई पवन सर्राफ र सलमानलाई साहब अलामले आउट गरे । 

अनुज रावलले २६ बलमा १८ रन जोडे । तनुस कोइटेन शून्य रनमा आउट भए । अभिषेक शर्मा २७ रन बनाएर खेलिरहँदा आउट भएपछि खेल नेपालको पक्षमा आएको थियो । लगत्तै कप्तान दीपेन्द्रसिंह ऐरीले मन्दीप सिंहलाई शून्य रनमा आउट गरे । ऐरीले नै शिव सिंहलाई ९ रनमा आउट गरे । 

नेपालका कप्तान ऐरीले ४ विकेट लिए । किफायती बलिङ गरेका कप्तान ऐरीले १० ओभर बलिङ गर्दै २ मेडन ओभरसहित ३९ रन खर्चँदै ४ विकेट लिन सफल भएका थिए । पवन सर्राफ र सहाब अलामले २–२ विकेट लिए । सन्दीप लामिछाने र कमलसिंह ऐरीले १–१ विकेट लिए । 

मलेसियाको वायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । नेपालका लागि कप्तान ऐरीले सर्वाधिक ८८ रन जोडे । १०१ बलको सामना गरेका ऐरीले ६ चौका र २ छक्का प्रहार गरे । ओपनर जितेन्द्र सिंहले ३६ रनको योगदान गरे । उनले ९५ बलमा ३ चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेखले ३ रन मात्र जोड्न सके । अनिलकुमार साह ६ रनमा आउट हुँदा रोहितकुमार पौडेल पनि ६ रनमै पेभेलियन फर्किए । भीम सार्कीले १५ रनको योगदान गरे । उनले २२ बलमा २ चौका र १ छक्का हिर्काए । 

पवन सर्राफ १ रनमै पेभेलियन फर्किए । कमलसिंह ऐरी १७ बलमा ५ रन जोडेर आउट भए । सन्दीप लामिछानेले नटआउट ९ र किशोर महतोले नटआउट ७ रन जोडे । बलिङतर्फ भारतका आदित्य ठाकरे र अभिषेक शर्माले २–२ विकेट लिए । मन्दीप सिंह, विवेकानन्द तिवारी, शिव सिंह र अथर्व टइडेले १–१ विकेट हात पारे । जितपछि दुई खेलबाट २ अंक जोडेको नेपाल समूह ‘ए’ को दोस्रो स्थानमा छ । हारपछि पनि समान २ खेलबाट २ अंक जोडेको भारत रनरेटमा अघि रहँदै शीर्ष स्थानमा छ । नेपालले अब आयोजक मलेसियासँग खेल्न बाँकी छ । 

मलेसियाविरुद्धको खेलमा जित हात पारे नेपालले सेमिफाइनलमा स्थान बनाउनेछ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । एसिया कपअन्तर्गत भारतले पहिलो खेलमा मलेसियालाई हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह बी मा श्रीलंका, अफगानिस्तान, युएई र पाकिस्तान रहेका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं