23rd July | 2018 | Monday | 12:08:15 AM

टमाटाको बलमा नेम्वाङको ब्याटिङ

  POSTED ON : Tuesday, 02 January, 2018 (3:15:47 PM)

टमाटाको बलमा नेम्वाङको ब्याटिङ

हिमालय टाइम्स

काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमीले सञ्चालनमा ल्याएको मदन भण्डारी क्रिकेट एकेडेमी उद्घाटन गरिएको छ । पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङले सोमबार एकेडेमी उद्घाटन गरेका हुन् । बानेश्वरस्थित ओमकारेश्वर चोकमा रहेको एकेडेमी करिब २० लाखको लागतमा तयार भएको हो ।

तीनवटा अभ्यास ढलान पिच रहेको एकेडेमीले करिब २ रोपनी जग्गा ओगटेको छ । सभासद् गणेश दुलाल संरक्षक रहेको एकेमेमीको प्रशिक्षकमा प्रदीप ऐरी छन् । क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाको बलिङमा विशेष अतिथि नेम्वाङले ब्याटिङ गरेर एकेडेमी उद्घाटन गरेका थिए । उद्घाटनका अवसरमा नेम्वाङले भने, ‘क्रिकेट परबाट हेरेको छु, आफूले जीवनमा पहिलोपटक बल र ब्याट छुने अवसर पाएको हो । एकेडेमीको म नै पहिलो विद्यार्थी हुँ ।’

उद्घाटनका क्रममा उनले तीन बल सामना गरेका थिए । तीनैपटक ब्याटले बललाई हिर्काएका उनले भने, ‘मेरो लक्ष्य राम्रो रहेछ । लक्ष्य अनुरूप उपलब्धि हासिल गर्नु सक्नुपर्छ, अनिमात्र संस्थाको अर्थ र महŒव रहन्छ ।’

नेम्वाङले नेपाली खेलाडीको प्रशंसा गर्दै भने, ‘सीमित स्रोत र साधनका बाबजुद नेपाली खेलाडीले दिलाएको उपलब्धि अतुलनीय छ ।’ मदन भन्डारी स्पोर्टस् एकेडेमीको नवौं स्थापना दिवासका अवसरमा आयोजित उद्घाटन कार्यक्रममा हालै सम्पन्न सागस्तरीय हिृवलचियर क्रिकेट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने नेपाली टिमलाई एकेडेमीले नगद ५० हजारसहित सम्मान गरेको थियो । सोही अवासरमा मोराक्कोमा सम्पन्न सेल्फ डिफेन्स मार्सल आर्टमा रजत प्राप्त गरेकी सञ्जु महर्जन र बेलारुसमा सम्पन्न आइटिएफ तेक्वान्दोमा कास्य विजेता अञ्जना सिवाकोटीलाई पनि सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रममा एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, राखेप पूर्वउपाध्यक्ष पिताम्बर तिमिल्सिना, फुटबलर हरि खड्का, ओलम्पियन दीपक विष्ट, एकेडेमीका महासचिव वचन देउजा, मदन भण्डारी क्रिकेट विभागका संयोजक सुदीप शर्मालगायतको उपस्थिति थियो ।