16th October | 2018 | Tuesday | 8:22:14 AM

विश्वकप खेल्न स्थलमार्ग हुँदै पाकिस्तान

  POSTED ON : Wednesday, 03 January, 2018 (3:51:02 PM)

विश्वकप खेल्न स्थलमार्ग हुँदै पाकिस्तान

हिमालय टाइम्स

काठमाडौं । पाँचौं नेत्रहीन एकदिवसीय क्रिकेट खेल्न जाने नेपाली टोली स्थलमार्ग हुँदै पाकिस्तान प्रस्थान गरेको छ । जहाजका लागि टिकट किन्ने पैसा नभएका कारण टोली स्थलमार्ग हुँदै पाकिस्तान प्रस्थान गरेको हो ।

पुस २४ गते हुने प्रतियोगिताका लागि नेपाली टोली पुस २२ गतेमात्रै पाकिस्तान पुग्ने भएको हो । स्थलमार्गमा कुनै कारणवस अवरोध भएमा नेपाली टोलीले विश्वकप नै गुमाउने जोखिम रहेको छ ।

आर्थिक अभावका कारण बल्लतल्ल जर्सी र खेलाडीका लागि खान–बस्नको बन्दोबस्त मिलाएको नेत्रहीन क्रिकेट संघ नेपालले प्रतिव्यक्ति एक लाख ५० हजार तिरेर टिकट खरिद गर्न नसक्ने भएको जनाउँदै स्थलमार्गबाट खेलाडीलाई पाकिस्तान पठाएको हो ।

नेपाली टोलीले पुस २४ मै पहिलो खेल बंगलादेश खेल्नेछ । मंगलबार त्यसतर्फ प्रस्थान गरेको टोली चार दिनमा पाकिस्तान पुग्ने छ । काठमाडौंबाट सुनौली हुँदै भारत प्रवेश गरेर गोरखपुर, अमृतसर हुँदै पाकिस्तानको सीमा बाघा बोर्डरबाट टोलीले पाकिस्तान प्रवेश गर्ने संघले जनाएको छ ।

चार दिनको बाटो स्थलमार्गबाट तय परेर पाकिस्तान पुग्ने टोलीले एक दिनमात्र आरामको अवसर पाउने भएको छ । २४ गते पहिलो खेल खेल्ने नेपाली टोली २२ गते पाकिस्तान पुग्ने तालिका छ । २३ गते एक दिन आराम गर्ने या अभ्यासमा जुट्ने भन्ने दोधार पनि टोलीमा देखिएको छ ।



Views: 40