23rd May | 2018 | Wednesday | 4:14:06 AM

डेब्यूमा सन्दीपको प्रभावशाली प्रदर्शन

हिमालय टाइम्स   POSTED ON : Monday, 14 May, 2018 (1:45:48 PM)

डेब्यूमा सन्दीपको प्रभावशाली प्रदर्शन

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) को ‘डेब्यू’ मा प्रभावशाली प्रदर्शन गरेपछि उनको चौतर्फी चर्चा भएको छ । दिल्ली डेयरडेभिल्सले शनिबार रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध सन्दीपलाई डेब्यू गराएको थियो । डेब्यू खेलमा सन्दीपले ४ ओभरमा एक विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे । 

दिल्लीले बैंग्लोरविरुद्ध विश्वका आफ्ना ५ बलरको प्रयोग गरेको थियो । जसमध्ये सन्दीपले सर्वाधिक किफायती बलिङ गरे । चार ओभरमा सन्दीपको औसत ६.२५ थियो । दिल्लीका अन्य बलरहरू अमित मिश्रा (८.२५), ट्रेन्ट बोल्ट(१०), जुनियर डाला (११.३३) र हर्षल पटेल(१२.७५) ले सन्दीप महंगा भए । सन्दीपले पार्थिव पटेललाई एलबिडब्लूको धरापमा पारेका थिए । विश्वका उत्कृष्ट ब्याट्सम्यानहरू भारतीय कप्तान विराट कोहली, दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सविरुद्ध सन्दीपले उत्कृष्ट बलिङ गरेका थिए । विराटविरुद्ध ८ बल गरेका सन्दीपले ९ रनमात्रै दिए । जसमा १ चौका सामेल थियो । यस्तै डिभिलियर्सले सन्दीपको ८ बल खेल्दै ८ रनमात्रै लिन सके । जसमा एक छक्का सामेल थियो । 

खेलपछि प्रतिरक्रिया दिँदै डिभिलियर्सले सन्दीपकोे खेल प्रशंसनीय रहेको बताएका थिए । उनले भने, ‘१७ वर्षे सन्दीपको प्रदर्शन प्रशंशनीय थियो । यी युवाहरूले कसरी उत्कृष्ट प्रदर्शन गर्न सक्छन म अचम्मित छु । यो विश्व क्रिकेटका लागि निकै राम्रो सन्देश हो । आजको दिन मलाई उनीहरूले उप्रेरित पारे ।’ दिल्लीले यसअघि ११ वटा खेल खेलिसक्दा १७ वर्षे सन्दीपलाई मौका दिइएको थिएन् । संयोगवश शनिबार दिउँसो दुईदिने नेपाल भम्रणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दीपको नाम उल्लेख गर्दै क्रिकेटले पनि जनस्तरमा सम्बन्ध अघि बढेको बताएका थिए । सोहीदिन साँझ १२ खेलमा सन्दीपले मौका पाएका हुन् । दिल्लीले अष्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेल र इंग्लिस खेलाडी लियम प्लुन्केटलाई विश्राम दिँदै सन्दीप र दक्षिण अफ्रिकी खेलाडी जुनियर डालालाई मौका दिएको हो । गत नोभेम्बरमा बैंग्लोरमा भएको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा खरिद गरेको थियो । 

सन्दीपको प्रभावशाली प्रदर्शनका बाबजुद पनि दिल्लीले जित निकाल्न सकेन । बैंग्लोरका डिभिलियर्स र कोहलीले उत्कृष्ट इनिङ खेलेपछि दिल्ली ५ विकेटले पराजित भएको थियो । जितसँगै सातौं स्थानमा रहेको बैंग्लोरको ८ अंक पुगेको छ भने प्ले अफ पुग्ने सम्भावना गुमाइसकेको दिल्ली ६ अंकसहित पुछारमा छ । घरेलु मैदान फिरोज शाह कोट्लामा टस हारेर ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ८२ रनको लक्ष्य बंैग्लोरले कोहली र एबिडी भिलियसले अर्धशतकीय पारी खेलेपछि १ ओभर अगाडि नै ५ विकेट गुमाएर भेटाएको थियो । डिभिलियर्सले छक्का प्रहार गर्दै विजयी रन बटुलेका थिए । डी भिलियर्सले अविजित ७२ र कोहलीले ७० रनको योगदान गरे । उनीहरूले तेस्रो विकेटका लागि १ सय १८ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । ३७ बल खेलेका डी भिलियर्सले ६ छक्का र ४ चोका प्रहार गरे भने ४० बल खेलेका कोहलीले ७ चौका र ३ छक्का प्रहार गरे । उनीहरूबाहेक मन्दीप सिंहले १३, सरफराज खानले ११ रन बनाएका थिए ।

सन्दीपले पार्थिव पटेल (६ रन) लाई एलबिडब्लू आउट गरेका थिए । उनीबाहेक दिल्लीका लागि ट्रेन्ट बोल्टले २ तथा हर्सल पटेल र अमित मिश्राले समान १–१ विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको छ । दिल्लीका लागि ऋसब पन्तले ६१ र अभिषेक शर्माले अविजित ४६ रन जोडेका थिए । ३४ बल खेलेका ऋसबले ५ चौका र ४ छक्का प्रहार गरेका थिए । अभिषेकले १९ बलमा ४ छक्का र ३ चौका प्रहार गरे । बैंग्लोरका युजभेन्द्र चाहलले २, मोइन अली र मोहम्मद सिराजले समान १–१ विकेट लिए । सन्दीपले नेपाली राष्ट्रिय टोलीबाट पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले वर्ष २०७४ मा ८४ अन्तर्राष्ट्रिय विकेट लिएका छन् । गत फ्रेब्रुवरीमा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपाललाई उपविजेता बनाउँदै एक दिवसीय विश्वकपमा छनोट गराउन सन्दीपले महŒवपूर्ण भुमिका निभाए । सन्दीप १७ विकेटका साथ म्यान अफ द सिरिजमा चुनिएका थिए । आइपिएल डेब्यूपछि प्रतिक्रिया दिँदै सन्दीपले विश्वका उत्कृष्ट खेलाडीबीच खेल्न पाउनु ठूलो अवसर भएको बताएका छन् । उनले आफूले धेरै कुरा सिक्ने मौका पाएको भन्दै आगामी दिनमा यसले अन्य नेपाली खेलाडीका लागि पनि ढोका खोल्ने विश्वास व्यक्त गरे ।