22nd September | 2018 | Saturday | 6:46:22 PM

लालबन्दी गोल्डकप : उद्घाटन खेलमा आयोजक स्तब्ध

दुर्गाप्रसाद चौंलागाई   POSTED ON : Friday, 08 June, 2018 (4:35:00 PM)

 लालबन्दी गोल्डकप : उद्घाटन खेलमा आयोजक स्तब्ध

सर्लाही । लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत विहीबार भएको उद्घाटन खेलमा ललितपुरको ‘ए’ डिभिजन क्लब जावलाखेल विजयी भएको छ ।

राधाकृष्ण स्थित खेल मैदानमा अत्यन्तै प्रतिस्पर्धात्मक रहेको खेलमा आयोजक सर्लाही–११ले एक गोलको अग्रता टिकाउन नसक्दा जावलाखेलसंग  ट्राईबेकरमा ५–४ गोलले पराजित हुन पुग्यो । खेल सुरु भएको ३२ औं मिनेटमा आयोजकको तर्फबाट जर्सी नम्बर ९ का सनी चौधरीले पहिलो गोल गर्दै आयोजक टिमलाई अग्रता दिलाएका थिए । मध्यान्तर सम्म खेलमा जाउलाखेल बिरुद्ध हाबी भएको सर्लाहीले मध्यान्तर पछिको ५ औं मिनेटमा भने गोल खान पुग्यो । जाउलाखेलको तर्फबाट जर्सी नं. १४ का ओलुसोलो कादिरी इब्राईमले फ्रीकिक्मा गोल गर्दै खेललाई  बराबरीमा पुर्याउन सफल भए । 

निर्धारित ७० मिनेट खेलाइएको खेल  १–१ को बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा गएको थियो। जस्मा सर्लाहीका जर्सी नं. ९ का सनी चौधरीको प्रहार जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले बचाउ गरेपछि सर्लाही ट्राईबेकरमा ५–४ गोल अन्तरले हार ब्यहोर्न बाध्य भएको थियो।

तीन जना अफ्रिकन खेलाडी समेत उतारेको ए डिभिजन क्लब जावलाखेललाई सर्लाहीका खेलाडीले खेल अबधिभर कडा टक्कर दिँदा खेल निकै रोमाञ्चक बनेको थियो ।

खेलको म्यान अफद म्याच जाउलाखेलका ओलुसोलोलाइ अखिल नेपाल फुटबल संघ,सर्लाहीका अध्यक्ष ठाकुर बहादुर सुश्लिङले नगद रु.५००० प्रदान गरेका थिए ।

यसअघि प्रतियोगिताको प्रमुख अतिथी रहेका अखिल नेपाल फूटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले  आफू अध्यक्ष भएपछि  फुटबलको दिगो विकासको लागि काम गरिरहेको बताउदै भर्खरै प्रदेश नम्बर २ को रौतहटमा महिला फुटबल  एकेडेमी संचालनको लागि बजेट छुट्ट्याइसकिएको पनि बताए ।

एन्फाले आगामी दिनमा ग्रास रुट अर्थात जिल्लास्तरीय फुटबल प्रतियोगिताहरु गर्नका लागि प्राथमिकता दिने शेर्पाले बताए । त्यस्तै लालबन्दी गोल्डकप प्रतियोगितालाई आगामी वर्ष एन्फाको क्यालेण्डरमा पार्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । 

यस्तै समारोहमा लालबन्दी नगरपालिकाका मेयर मान बहादुर खड्का र उप–मेयर शान्ती लामाले पनि प्रतियोगिता भब्य र सभ्य रुपमा सफल हुन सकोस् भनी शुभकामना दिदै यस्का लागि खेलाडी,दर्शक र आयोजकको अहंम भूमिका रहने बताए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार युनाइटेड सिक्किम भारत र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुने आयोजक समितिका महासचिव उज्ज्वल कार्कीले जानकारी दिए ।



Views: 0