21st October | 2018 | Sunday | 7:26:27 AM

लालबन्दी गोल्डकप : झापा–११ लाई पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश

दुर्गाप्रसाद चौंलागाई   POSTED ON : Wednesday, 13 June, 2018 (9:51:49 PM)

लालबन्दी गोल्डकप : झापा–११ लाई पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश

हिमालय टाइम्स । सर्लाही । लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा विभागिय टिम नेपाल पुलिस क्लब विजयी भएको छ । 

उसले मोफसलको चर्चित क्लब रमपम झापा–११ लाई १–० गोल अन्तरले पराजित गर्दै  फाइनलमा स्थान बनाउन सफल भएको छ ।

राधाकृष्ण स्थित खेल मैदानमा भएको पहिलो हाफ अगाडिको खेलमा दुबै टिमले गोल गर्ने केही राम्रा अवसर गुमाएपनि पहिलो हाफको अन्त्यतिर पुलिसका रबि पासवानले ३९ मिनेटमा डि बक्स  भित्र प्राप्त गरेको बललाई झापाका किपर मनोज प्रधानलाई बीट गर्दै पहिलो गोल गरेका थिए ।

लगत्तै झापा–११का तर्फबाट पुष्प मदेनले प्रहार गरेको बललाई पुलिसका गोलकिपर रोशन खड्काले मुस्किलले जोगाएका थिए । यसैले पहिलो हाफ अगाडी थप अन्य गोल हुन सकेन ।

दोश्रो हाफपछिको १० मिनेटमा झापाका तर्फबाट देबेन्द्र तामाङले डि बक्स बाहिरबाट कडा प्रहार गरेको बललाई पुलिसका गोलकिपरले मुस्किलले जोगाउँदै गोल हुन दिएनन् भने त्यस लगत्तै पुष्प मदेनको प्रहार पनि गोलमा परिणत हुन नसक्दा झापाले पुलिससंग बराबरी गोल गर्ने अवसर गुमाएको थियो।

यस्तै हाफ पछिको २२ मिनेटमा पुलिसका रबि पासवानले कर्नरबाट क्रस गरेको बललाई  गोलपोस्ट छेउमा रहेका राम वझिले भेट्टाउन नसक्दा गोल अन्तर दोब्बर पार्ने मौका खेर फालेका थिए ।

थप गरिएको अतिरित्त समय भित्र दुबै तर्फले पाएको केही राम्रा अवसरलाई गोलमा परिणत गर्न सकेनन् । खेलका निर्धारित समयभित्र थप अन्य गोल हुन नसकेपछी नेपाल पुलिस क्लबले खेल १–० ले आफ्नो पक्षमा पार्न सफल भएको हो।

यो जितसंगै नेपाल पुलिस क्लब २ नम्बर प्रदेशकै सर्बाधिक पुरस्कार राशी रहेको अन्तर्रा्ष्ट्रिय लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

आजको खेलको म्यान अफद म्याच पुलिस क्लबका जर्सी नम्बर १२ का रबि पासवान भएका छन् उनलाई आयोजकका जिवनबाबु कार्कीले नगद पाँचहजार प्रदान गरेका थिए।

प्रतियोगिता अन्तर्गत बिहीवार ए डिभिजन क्लब रुस्लान  थ्रीस्टार र विभागिय टिम एपीएफबीच अन्तिम सेमिफाइनल खेल हुने आयोजकका दिपेन्द्र अधिकारीले जानकारी दिए ।


Views: 8