21st November | 2018 | Wednesday | 1:13:36 AM

विश्वकपकै ठूलो भिडन्त, कसको पल्ला भारी ?

एजेन्सीं   POSTED ON : Tuesday, 10 July, 2018 (3:07:08 PM)

विश्वकपकै ठूलो भिडन्त, कसको पल्ला भारी ?

मस्को । विश्वकपको पहिलो सेमिफाइनल भिडन्तमा आज राति पौने १२ बजे फ्रान्स र बेल्जियम आमनेसामने हुँदैछन् । दुवै उपाधि दाबेदार टोलीबीच हुन लागेको यस खेललाई विश्वकै ठूलो भिडन्तका रूपमा हेरिएको छ । तीन दशकपछि पहिलोपटक सेमिफाइनल खेल्न आएको बेल्जियम र १९९८ को विजेता फ्रान्सबीच कडा प्रतिस्पर्धा हुने पक्का छ ।

फ्रान्स र बेल्जियम चीरपरिचित प्रतिद्वन्द्वीसमेत हुन् । यी राष्ट्र यसअघि ७३ पटक आमनेसामने भएका छन् । जसमा बेल्जियमले ३० खेल जितेको छ भने २४ खेलमा फ्रान्सले बाजी मारेको छ । १९ खेल भने बराबरीमा रोकिएका छन् । दुवैबीच जित हात पार्ने टोली स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोली कास्यका लागि भिड्ने छ । अन्तिम–१६ मा फ्रान्सले अर्जेन्टिनाविरुद्ध र बेल्जियमले जापानविरुद्ध पुनरागमन जित पार्दै उपाधिको प्रबल दाबेदार रहेको प्रस्तुत गरिसकेका छन् । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई र बेल्जियमले ब्राजिललाई पन्छाएको हो । फ्रान्सले अर्जेन्टिनाविरुद्ध आक्रामक खेल प्रस्तुत गर्दै सबैको मन जितेको थियो भने उरुग्वेविरुद्ध एकताबद्ध भएर खेलेको थियो । अब भने उनीहरूले प्रतियोगिताकै बलियो टिमसँग प्रतिस्पर्धा गर्दैछन् ।

बेल्जियमको यस पुस्तालाई स्वर्णिम पुस्ता भनिन्छ । उनीहरूसँग विश्वकप जित्ने यो अन्तिम मौका पनि हो । रामेलु लुकाकुले ४ गोल गरिसकेका छन् भने यस विश्वकपमा बेल्जियमले अन्य टोलीको भन्दा सर्वाधिक १४ गोलसमेत गरिसकेको छ ।ब्राजिललाई पराजित गरेपछि भने बेल्जियमको उत्साह निकै माथि छ तर अन्तिमपटक उनीहरू सन् १९८६ मा सेमिफाइनल खेलेका थिए । त्यसयता भने उनीहरूले विश्वकपमा प्रभावशाली प्रदर्शन छाड्न सकेका छैनन् । फ्रान्सका फरवार्ड केलियन एम्बाप्पे, बेन्जामिन पाभार्ड र लुका हेर्नान्डेज राम्रो लयमा देखिन्छन् । आफूहरू बेल्जियमविरुद्ध राम्रो प्रदर्शन गर्नेमा प्रशिक्षक डिडार डिस्च्याम्पस विश्वस्त छन् । उनी भन्छन्, ‘हामीलाई कुनै किसिमको डर छैन । हामीले प्रतियोगितामा जुन किसिमको सुरुवात गरेका थियौँ त्यसले आत्मविश्वास बलियो छ । प्रशिक्षकले पनि हामीलाई ढुक्क भएर खेल्न भनेका छन् । बेल्जियमसँग केभिन डी ब्राउनी, इडन हाजार्ड तथा रामेलु लुकाकुजस्ता विश्वका स्टार खेलाडी छन् । प्रशिक्षक रोबर्टो मार्टियाज आफ्नो टोली फाइनलमा पुग्नेमा विश्वस्त छन् । उनले आफूहरूले आक्रमक खेल जारी राख्ने जनाएका छन् । ‘हामी इतिहास रच्ने नजिक छौं,’ उनले भने, ‘यसपटक हाम्रो स्वर्णिम पुस्ताले यो मौका खेर फाल्ने छैन ।’

तथ्यहरू

१) फ्रान्सले विश्वकपका आफ्ना पछिल्ला चारमध्ये तीन खेलमा कुनै गोल खाएको छ । यसक्रममा अर्जेन्टिनाले मात्रै उनीहरूविरुद्ध १ गोल गरेको थियो ।

२) फ्रान्स विश्वकपमा बलिया मानिने तीन दक्षिण अमेरिकी राष्ट्रलाई पराजित गर्ने दोस्रो टोली हो । उसले यस विश्वकपमा पेरु, अर्जेन्टिना र उरुग्वेलाई पाखा लगाएको छ ।

३) फ्रान्सका एन्टिनियो ग्रिजम्यानले विश्वकप र युरोकपजस्ता ठूला प्रतियोगितामा आफ्ना पछिल्ला ६ नकआउट चरणका खेलमा ६ गोल गरेका छन् ।

४) बेल्जियम आफ्ना पछिल्ला २४ खेलमा अपराजित छ । विश्वकपका अहिलेसम्मका पाँचवटै खेलमा उसले जित हात पारेको छ ।

५) २०१८ को विश्वकपमा बेल्जियमका ९ जना खेलाडीले गोल गरिसकेका छन् । यसअघि २००६ मा इटाली र १९८२ मा फ्रान्सका १० जना खेलाडीले एउटै विश्वकपमा गोल गरेका थिए ।

६) ब्राजिलसँगको खेलमा दोहोरो पहेलो कार्ड पाएका बेल्जियमका थोमस म्यानुअरले यो खेल गुमाउँदै छन् ।

प्लेयर्स टू वाच

केलियन एम्बाप्पे (फ्रान्स)

१९ वर्षीय फ्रान्सका फरवार्ड एम्बाप्पे अर्जेन्टिनाविरुद्ध अन्तिम १६ मा दुई गोल गर्दै चम्किएका थिए । त्यसअघि पेरुविरुद्धको समूह चरणको खेलमा पनि उनले एक गोल गरेका थिए । गोलसँगै उनी फ्रान्सको इतिहासमा विश्वकपमा गोल गर्ने युवा खेलाडी बनेका थिए भने अर्जेन्टिनाविरुद्धको खेलमा उनी ‘म्यान अफ द म्याच’ समेत बनेका थिए ।

रामेलु लुकाकु (बेल्जियम)

लुकाकु गोल्डेन बुटका दाबेदार खेलाडी हुन् । बेल्जियमका सुरुवाती दुई खेलमा उनले लगातार २–२ गोल गरेका थिए । उनले पानामा र ट्युनिसियाविरुद्ध २–२ गोल गरेको हुन् । यस्तै, ब्राजिललाई पराजित गर्दा उनले उत्कृष्ट प्रदर्शन गर्दै सहायकको भूमिका निर्वाह गरेका थिए । उनी तीव्र गति, उच्च शैली र गोल स्कोर गर्न र गोलको वातावरण मिलाउने मास्टर खेलाडी मानिन्छन् ।


Views: 12