22nd August | 2018 | Wednesday | 1:33:09 AM

नेपालको दोस्रो एकदिवसीय क्रिकेट आज

हिमालय टाइम्स   POSTED ON : Friday, 03 August, 2018 (3:41:02 PM)

नेपालको दोस्रो एकदिवसीय क्रिकेट आज

काठमाडौं । नेपालले आफ्नो दोस्रो एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) शुक्रबार नेदरल्याण्ड्ससँग खेल्दैछ । भिआरए मैदानमा शुक्रबार पौने तीन बजे उत्रँदा नेपालको लक्ष्य पहिलोे ओडिआईमा बेहोरेको हारको बदला लिने हुनेछ । बुधबार यसै मैदानमा भएको पहिलो ओडिआई नेपाल ५५ रनले पराजित भएको थियो । 

कप्तान पारस खड्काले चार विकेट लिँदै टस हारेर बलिङको गरेको नेपालले नेदरल्याण्ड्सलाई १८९ रनमै समेटेको थियो । तर, सुरुवात राम्रो गरे पनि नेपालले मोमेन्टन कायम राख्न सकेन । 

‘हामीलाई थाहा थियो, हामी खेल जित्न सक्छौं तर खेलमा कतिबेला के हुन्छ भन्न सकिन्न,’ कप्तान पारस खड्काले खेलपछि भने, ‘अर्को खेलमा आशा गरौं हामी राम्रो प्रदर्शन गर्न सक्नेछौं र जित निकाल्नेछौं । १८– १९ ओभरसम्म म र उपकप्तान ज्ञानेन्द्र मल्ल खेल्दासम्म खेलमा राम्रो पकड बनाए थियो तर त्यसपछि एकपछि अर्को गर्दै विकेट गयो र हामीले मुमेन्टम गुमायौं ।’

बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा भने नेपालले परम्परागत रूपमै संघर्ष गर्नुपरेको छ । पहिलो एकदिवसीयमा पनि त्यो अपवाद रहेन । मध्यम लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा सबै विकेट गुमाएर १३४ रनमै सिमित रहेको थियो ।

ज्ञानेन्द्र र अनिल साहको जोडीले ५८ रनको ओपनिङ साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए तर १३औं ओभरमा अनिल (२१) पवेलिएन फर्किएपछि नेपालले एकपछि अर्को गर्दै विकेट गुमाएपछि पहिलो एकदिवसीयमा जित हात पार्ने विश्वकै सातौं देश बन्न नेपाल चुक्यो । 

लगत्तै कप्तान पारस खड्कालाई विपक्षी कप्तान पिटर सिलले १२ रनमै क्याच आउट गरे । अर्को ओभरमा अर्धशतक प्रहार गरेका ज्ञानेन्द्रलाई मिकेल रिप्पोलले एलबिडब्लुको धरापमा पारेपछि नेपाल पछि धकेलियो । ६१ बल खेलेका ज्ञानेन्द्रले ८ चौका प्रहार गर्दै ५१ रन जोडे ।

दीपेन्द्रसिंह ऐरीले मध्यक्रममा समालिएर खेल्ने प्रयास गरेका थिए । १९ औं ओभरमा क्रिजमा आएका उनी ३४ ओभरसम्म टिके तर एज लागेर विकेटकिपरबाट क्याच भएका उनी ३३ रनमा निराश बनेर पवेलिएन फर्किए । मध्यक्रमका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर घाइते हुनु पनि नेपालका लागि दुर्भाग्य भयो । फिल्डिङका क्रममा घाइते भएका शरद दशौं नम्बरका ब्याट्सम्यानका रूपमा क्रिजमा आएका थिए । पिडासँग जुझिरहेका उनी ४ रनमै सीमित भए । 

आरिफ सेख, सोमपाल कामी, वसन्त रेग्मी र करण केसीले खाता नै खोल्न सकेनन् । नेपाली टालीबाट अन्तिम विदेश भ्रमणमा रहेका शक्ति गौचन ९ रनमा नटआउट रहे । नेदरल्याण्ड्सका फ्रेड कालासन, मिकेल रिप्पोन र पिटर सिलरले समान ३–३ विकेट लिँदै नेपाली पारी सस्तैमा समेटेका थिए । यसअघि कप्तान पारस खड्का र सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि नेपालले नेदरल्याण्ड्सलाई रन स्कोरमा खुम्च्याएको थियो । पारसले १० ओभरको स्पेलमा २६ रनमात्रै दिएर ४ विकेट र सोमपालले ८.४ ओभरको स्पेलमा १ ओभर मेडन राख्दै तीन विकेट लिएपछि नेदरल्याण्डस ४७.४ ओभरमै अलआउट भएको थियो ।मध्यक्रमका मिकेल रिप्पेनले ५१ रन रनको पारी खेल्दै बास डि लिडेसँग ६८ रनको साझेदारी गर्नुअघि नेपालले १५ ओभरमा सुरुवाती चार विकेट झारी सकेको थियो । तर, रिप्पेन र लिडेले सम्हालिएर १८ ओभर साझेदारी गर्दा टोलीको स्कोर १४० रनसम्म पूर्याएका थिए । सोमपालले लिडेलाई विकेटकिपर अनिलकुमार साहको हातबाट स्टम्पिङ गराएपछि फेरि नेपाल खेलमा फर्कियो । नेदरल्याण्ड्सले बाँकी पाँच विकेट गुमाउँदा थप ४९ रनमात्रै जोड्न सक्यो ।शरदलाई पहिलो खेलमा चोट लागेका कारण शुक्रबार दोस्रो ओडिआईमा मध्यक्रममा रोहित पौडेलको डेब्यू हुने मौका छ । पारसले ब्याट्सम्यानहरू जिम्मेवारीपूर्वक प्रस्तुत भए खेल जित्न सक्ने आशा व्यक्त गरेका छन् । ‘५५ रनको दूरीले हार्नुभन्दा पनि अझै हामी राम्रो खेल खेल्न सक्थ्यौं,’ पारसले भने, ‘अर्को खेलमा हामी थप मैदानमा रहँदै स्कोर बढी गर्न सक्यौं । हाम्रो जिम्मेवारी पनि रन बनाउनु हो र आशा गरौं अर्को खेलमा हाम्रो ब्याटिङ राम्रो हुनेछ ।’

पहिलो ओडिआईका कीर्तिमान

नेपालले बुधबार नेदरल्यान्ड्ससँग इतिहासकै पहिलो एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मा डेब्यू ग¥यो । पहिलो ओडिआईमा नेपालले विभिन्न कीर्तिमान राखेको छ । यसबीच नेपाल पहिलो ओडिआईमा जित हात पार्ने सातौं राष्ट्र बन्न भने चुकेको थियो ।

उपकप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलमा नेपालका लागि पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाए । मल्लले ६१ बलमा ५१ रन जोडेका थिए । उनले अनिल साहसँग मिलेर पहिलो विकेटका लागि गरेको ५८ रनको साझेदारी डेब्यू एकदिवसीयमा कुनै पनि टोलीले गरेको चौथो ठूलो साझेदारी थियो । 

नेपालका लागि एकदिवसीयमा पहिलो विकेट सोमपाल कामीले लिए पनि पहिलो छक्का प्रहार गर्ने कीर्तिमान भने दीपेन्द्रसिंह ऐरीको नाममा रहृयो । नेपाली इनिङको एउटामा छक्का ऐरीले प्रहार गरेका थिए । कप्तान पारस खड्काले डेब्यू ओडिआईमा चार विकेट लिएका थिए । एकदिवसीय खेलको डेब्यू खेलमा ४ विकेट लिने कीर्तिमान पारस सहित ३७ खेलाडीले राखेका छन् ।