22nd August | 2018 | Wednesday | 1:33:44 AM

विश्व वरियतामा नेपालका चार क्रिकेटर

हिमालय टाइम्स   POSTED ON : Wednesday, 08 August, 2018 (4:32:11 PM)

विश्व वरियतामा नेपालका चार क्रिकेटर

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित चार नेपाली खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को टी–ट्वान्टी वरियतामा समावेश भएका छन् । विश्व वरियतामा स्थान पाउने नेपाली खेलाडीमा कप्तान खड्कासहित शरद भेषवाकर, वसन्त रेग्नी र सोमपाल कामी छन् । खड्का र भेषवाकर ब्याटिङतर्फ वरियतामा परेका हुन् भने रेग्मी र कामी बलिङतर्फ शीर्ष सयको सूचीमा परेका छन् ।

ब्याटिङतर्फ खड्का ९०औं स्थानमा परेका छन् भने भेषावकर ९८औं स्थानमा छन् । ब्याटिङ वरियतामा कप्तान खड्काले वेष्ट इन्डिजका चर्चित ब्याट्सम्यान केरन पोलार्ड, अष्ट्रेलियाका पूर्वकप्तान जर्ज बेली र वेष्ट इन्डिजका पूर्वकप्तान डारेन सामीजस्ता हस्तीलाई पछाडि पारेका छन् । 

त्यस्तै वरियतामा भेषवाकरपछि वेष्टइन्डिजका सामी र जिम्बावेका सिकन्दर राजा छन् । खड्काको २६५ तथा भेषवाकरको २३८ रेटिङ अंक छ । यस्तै बलिङतर्फ स्पिनर बसन्त रेग्मी ७१ औं तथा फास्ट बलर सोमपाल कामी ९२औं वरीयतामा छन् । रेग्मीको ३९७ तथा कामीको ३३८ रेटिङ छ ।

टी–ट्वान्टीको ब्याटिङतर्फ अष्ट्रेलियाका आरोन फिन्च तथा बलिङतर्फ अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन् । अलराउन्डतर्फ भने नेपाली टोलीका कप्तान खड्का ३७औं स्थानमा छन् । यो विधामा सोमपाल कामी ५७औं स्थानमा छन् । अलराउन्डतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो स्थानमा छन् ।