19th November | 2018 | Monday | 2:11:04 AM

एएफसी यू १९ च्याम्पियनसिप : पाकिस्तानमाथि नेपालको सानदार जित

हिमालय टाइम्स   POSTED ON : Monday, 29 October, 2018 (2:09:57 PM)

एएफसी यू १९ च्याम्पियनसिप : पाकिस्तानमाथि नेपालको सानदार जित

काठमाडौं । थाइल्याण्डमा जारी एएफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोटअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानमाथि ९–० को सानदार जित हात पारेको छ । चोनबुरी रंगशालामा आइतबार भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै नेपालले दोस्रो चरणको सम्भावना बलियो बनाएको छ । 

अब समूहको अर्को खेलमा थाइल्याण्डले भारतलाई पराजित गरेमा नेपाल समूहको दोस्रो स्थानमा रही अन्तिम चरणमा छनोट हुनेछ । नेपालको जितमा निशा थोकरले हृयाट्रिक गरेकी थिइन् । पहिलो हाफमा तीन गोल गरेको नेपालले दोस्रो हाफमा ६ गोल थप्यो । नेपालले खेलको दोस्रो मिनेटमा नै मन्जली कुमारीको गोलबाट अग्रता लिएको थियो ।  ३२ औं मिनेटमा सम्झना लावती र ३७ औं मिनेटमा अलिशा जिम्बाले गोल गरेपछि नेपालले पहिलो हाफमा तीन गोलको अग्रता लिएको थियो । दोस्रो हाफको ४८औं मिनेटमा सम्झना लावतीको क्रसमा पूजा रानाले हेडरमार्फत् गोल गरिन् । लगत्तै पूजाले अर्को गोल थपिन् । यस्तै, ५७, ७४ र ८५औं मिनेटमा निशा थोकरले गोल गर्दै हृयाट्रिक पूरा गरिन् । कप्तान सरु लिम्बूले ८९औं मिनेटमा गोल गर्दै नेपाललाई ९–० को जित दिलाएकी हुन् । 

जितपछि प्रतिक्रिया दिँदै नेपाली प्रशिक्षक हरिओम श्रेष्ठले आफूहरुले सोचेअनुसार खेलाडीले प्रदर्शन नगरेपछि जितले खुशी तुल्याएको बताए । ‘हाम्रो मुख्य खेलाडी रेखा पौडेल (दोहोरो पहेलो कार्ड) खेलमा थिइनन् । खेलाडी पनि गोलका लागि मात्रै हानाथाप गरे । आफ्नो नेचुरल गेम खेलेनन्, उनले भने, जे भएपनि यस नतिजाले हामीलाई दोस्रो राउण्डमा पु¥याउन मद्दत गर्नेछ । आगामी दिनमा अझै बलिया टोली छन् र हामीले राम्रो फुटबल खेल्नुपर्छ ।’ यसअघि समूहको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–०ले पराजित भएको थियो भने भारतविरुद्ध २–० ले विजयी भएको थियो । च्याम्पियनसिप छनोटमा ६ समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई राष्ट्रले दोस्रो चरण खेल्न पाउनेछन् । दोस्रो चरणको छनोट खेल आगामी अप्रिलमा थाइल्याडमै हुनेछ ।


Views: 51