19th November | 2018 | Monday | 2:51:52 AM

सन्दीपको टिम विराटनगरको कठिन यात्रा

हिमालय टाइम्स   POSTED ON : Monday, 29 October, 2018 (2:12:16 PM)

सन्दीपको टिम विराटनगरको कठिन यात्रा

पोखरा । लगातार दोस्रो खेलमा हार बेहोरेसँगै पोखरा प्रिमियर लिग(पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सको यात्रा कठिन बनेको छ । विराटनगर आइतबार आफ्नो दोस्रो खेलमा एक्स्पर्ट धनगढी ब्लुज्सँग ७५ रनको फराकिलो अन्तरले पराजित भयो । यसपछि पहिलो खेलमा विराटनगर पोखरासँग पराजित भएको थियो ।

विराटनगरका कप्तान सन्दीप लामिछाने पनि अबको यात्रा कठिन भएको स्वीकार्छन् । ‘अब हाम्रा लागि प्रतियोगिता कठिन छ । प्रतियोगितामा रहन अब हामीले बाँकी तीन खेल जित्नैपर्छ । खेलमा हामीले योजना बनाएअनुसारको अपेक्षा भएन् । बीस÷तीस रन बढी दियौं । हामीले आफैपनि राम्रो बलिङ गर्न नसकेर ब्याटिङमा दबाब परेको हुनसक्छ ।’ बिहानको समय टस जितेर बलिङ रोजे पनि विराटनगरले त्यसको फाइदा उठाउन सकेन । ओसिलो मैदानका बाबजुद धनगढीले ९ विकेट गुमाएर एक सय ८२ रन जोड्यो । विदेशी (इंग्ल्याण्ड) खेलाडी पिटर ट्रिगोलले संहालियर अर्धशतक प्रहार गर्दा पुछारका सौरभ खनालले विष्फोटक ब्याटिङ गर्दै धनगढीलाई पहिलो जित दिलाएका थिए । यसअघि पहिलो खेलमा बुटबल ब्लास्टर्ससँग पराजित भएको धनगढीलाई पनि आजको खेलमा जित हात पार्न नसके अघिल्लो चरणको यात्रा कठिन हुने थियो । त्यो बुझेका अनुभवी खेलाडी पिटरले ३८ बलमा ५३ रनको इनिङ्स खेल्दै धनगढीलाई अघि बढाएका थिए । जितेन्द्र मुखियाको अठारौं ओभरको पहिलो बलमा सन्दीप लामिछानेको हातबाट क्याच हुनुअघि उनले चार छक्का र दुई चौका प्रहार गरेका थिए । उनले चौथो विकेटका लागि धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीसँग ६० रनको साझेदारी गरेका थिए । जुन पारी अघि बढाउने मुख्य कसी बन्यो । दीपेन्द्रले २९ रन जोडे । १९ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । 

यस्तै, सौरभ खनालले अन्त्यतिर १३ बलमा ४१ रनको आक्रामक इनिङस खेले । सो क्रममा उनले ५ छक्का र २ चौका प्रहार गर्दै आफूले पाएको जिम्मेवारी पूरा गरेका थिए । आफूले योजनाअनुसार नै खेलेकाले जित सम्भव भएको धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीले बताए । ‘सुरुमा ओसिलो विकेट थियो । विकेट बचाएर खेल्ने योजनाअनुसार नै पिटरले विस्तारै खेले,’ दीपेन्द्रले भने, ‘अन्तिममा सौरभ खनालले कम बलमा रन बटुल्दा विपक्षी टिममाथि दबाब थपिएको थियो । त्यसको फाइदा हामीले उठायौं ।’ धनगढीले दिएको दबाबसहित ब्याटिङमा उत्रेको विराटनगरका ब्याट्सम्यान धेरैबेर क्रिजमा चल्न सकेनन् । विराटनगर १६.४ ओभरमा एक सय चार रनमै समेटियो । उसका सुनिल धमलाले बनाएको २१ रन नै सर्वाधिक स्कोर रहृयो । यस्तै विदेशी खेलाडी मोहम्मुद जियाद आलामले बनाएको १९ रन र आन्द्रु सुबिक्सनले १८ रन जोडे ।धनगढीका विलियम लोरेन्सले तीन विकेट लिए । ४ ओभरमा उनले १७ रनमात्रै खर्चे । यस्तै, दीपेन्द्रसिंह ऐरीले २ तथा रोविन क्षेत्री, कमलसिंह ऐरी र पिटरले एक एक विकेट लिए । म्यान अफ द म्याच पिटरले दश हजार नगद पाए । 

पोखराको लगातार दोस्रो जित

पोखरा । बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । बुटवलले आइतबार दिउँसो भएको खेलमा घरेलु टोली पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको हो । यसअघि बुटवलले पहिलो खेलमा चितवन राइनोज्लाई पराजित गरेको थियो । चार अंक जोडेको पोखरा लिगको शीर्षमा छ । 

बुटवलले दिएको १५० रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११७ रनमै समेटियो । पोखराका आसिफ शेखले २० तथा कप्तान शरद भेषावकरले १९ बाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् । बुटवलका सोमपाल कामी, विपिन खत्री, ललितसिंह भण्डारी र रोहन मुस्तफाले समान २–२ विकेट लिए । यस्तै, सागर पुनले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको बुटवलले भीम सार्कीको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रन जोडेको थियो । भीमले ४६ बलमा ५४ रन जोडे । उनले तीन छक्का र दुई चौका प्रहार गरे । 

यस्तै, बुटवलका लागि विदेशी खेलाडी युएईका कप्तान रोहन मुस्तफाले ४५ रन जोडे । ३५ बल खेलेका रोहनले ३ चौका र २ छक्का प्रहार गरेका थिए । कप्तान सोमपाल कामीले २२ तथा सिद्धान्त लोहनीले १३ रन बनाएका थिए ।

पोखराका मोहम्मद नाविदले तीन विकेट लिए । चार ओभरमा उनले २० रन खर्चे । यस्तै, मेहबुब आलाम, ललितनारायण राजवंशी र शरद भेषावकरले एक÷एक विकेट लिए । पिपिएलको विजेताले २७ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले १० लाख पाउने आयोजक क्विन्स इभेन्ट्स प्रालिले जनाएको छ । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई भिजी अटोमोबाइल्स्को तर्फबाट सुजुकी जिक्सर १५५ सिसी मोटरसाइकल पुरस्कार दिइनेछ ।


Views: 39