19th December | 2018 | Wednesday | 1:42:47 AM

थ्री स्टारलाई पराजित गर्दै मनाङ शीर्षमा

हिमालय टाइम्स   POSTED ON : Friday, 23 November, 2018 (2:07:14 PM)

थ्री स्टारलाई पराजित गर्दै मनाङ शीर्षमा

काठमाडौं । चिरप्रतिद्वन्द्वी थ्री स्टार क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्षमा उक्लिएको छ । लिगअन्तर्गत बिहीबार दिउँसो एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङल रुस्लान थ्री स्टार क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । 

जितसँगै मनाङ ३ खेलमा ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । लिगमा पहिलो खेलमा हार ब्यहोरेको थ्री स्टार भने दोस्रो स्थानमा झरेको छ । उसको तीन खेलबाट ६ अंक छ । मनाङका लागि अन्जन विष्ट र विजय धिमालले गोल गरेका थिए भने थ्रीस्टारका पेनाल्टीमा रञ्जित धिमालले एक गोल फर्काएका थिए ।

खेलको ११औं मिनेटमा हेमन गुरुङको पासमा अन्जन विष्टले मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । १८औं मिनेटमा एलन न्यौपानेले क्लियर गरेको बल विजय धिमाललाई लाग्दै गोलमा परिणत भएपछि मनाङको अग्रता दोब्बर बनेको थियो । त्योसँगै पहिलो हाफमा २–० को अग्रता बनाएको मनाङले सोही स्कोरमा सम्हालिँदै खेलेर तीन अंक जोडेको हो ।

थ्री स्टारले खेलको ८५औं मिनेटमा सन्त्वाना एक गोल फर्काएको थियो । पेनाल्टी क्षेत्रभित्र मोहमद आसिफले अजायी मार्टिन्सलाई लडाएपछि पाएको पेनाल्टीमा रञ्जित धिमालले कुनै गल्ती गरेका थिएनन् ।

च्यासलको पहिलो जित

यस्तै बिहान भएको खेलमा बिमल घर्तीमगरले दोहोरोको मदतमा न्यूरोड टिम (एनआरटी) लाई पराजित गर्दै च्यासल युथ क्लबले पहिलो जित हात पारेको छ । च्यासलले एनआरटीलाई ५–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । 

यसअघि खेलको दुई खेलमा एक खेलमा हार तथा एक खेलमा बराबरी खेलेको थियो । च्यासलले पहिलो खेलमा मछिन्द्र क्लबलाई गोलरहित बराबरीमा रोकेको थियो भने आर्मीसँग १–० गोलअन्तरले पराजित भएको थियो । 

च्यासलको जितमा विमलसँगै अमिर श्रेष्ठले दुई÷दुई गोल गरे भने सन्तोष साउखलले एक गोल थपेका थिए । अमिरले खेलको पहिलो हाफको १४औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । विमल घर्ती मगरको पासमा सन्जोग राईले बायाँ विङबाट दिएको क्रसमा उनले प्रहार गरेको भली गोलमा परिणत भएको थियो ।

त्यस्तै उनले खेलको पहिलो हाफको २९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै च्यासलको अग्रता दोब्बर बनाए । त्योसँगै पहिलो हाफमा खेलको पहिलो हाफसम्म २–० ले अगाडि रहेको च्यासलले दोस्रो हाफमा तीन गोल थप्यो । खेलको ५६औं मिनेटमा विमलले गोल गर्दै च्यासलको अग्रता तेब्बर बनाए भने अर्का खेलाडी सन्तोषले खेलको ६३औं मिनेटमा एक गोल थपे । त्यसैगरी विमलले खेलको ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

यता एनआरटीका लागि विदेशी खेलाडी मोसुद अग्बोलाले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एक सान्त्वना गोल फर्काएका थिए । च्यासलका विमलको यो खेल नै लिगको अन्तिम खेल हो । विमल ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका हुन् । 

क्लबले बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको छ । यस जितसँगै च्यासलले अंक तालिकामा चार अंक जोडेको छ भने एनआरटीको एक अंक छ । असोज १३ गतेबाट सुरु भएको लिगमा विभिन्न १४ टोली सहभागी छन् । राउण्ड रोविन लिगको आधारमा हुने उक्त प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख तथा उपविजेताले ३५ लाख रुपैयाँ पाउनेछन् । 

तेस्रो हुन टोलीले २५ लाख, चौथो टोलीले १५ लाख, पाँचौं टोलीले सात लाख र छैटौंले पाँच लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले एक लाख रुपैयाँ पाउने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ द म्याच घोषित खेलाडीलाई १० हजार पुरस्कार दिँदै आएको छ । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । 


Views: 49