19th December | 2018 | Wednesday | 1:31:42 AM

चौथो चरणका खेलहरू आजबाट

हिमालय टाइम्स   POSTED ON : Monday, 26 November, 2018 (2:56:02 PM)

चौथो चरणका खेलहरू आजबाट

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आजबाट चौथो चरणका खेल सुरु हुनेछन् । चौथो चरणअन्तर्गत सोमबार तीनवटा खेलहरू हुँदैछन् । एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बिहान ११ बजे त्रिभुवन आर्मी र संकटा क्लब आमने सामने हुँदैछन् । जारी प्रतियोगितामा अपराजित रहेको संकटा तीन खेलमा ९ अंक जोड्दै दोस्रो स्थानमा छ । यता आर्मी भने दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक जोडेर चौथो स्थानमा छ । 

यस्तै लिगमा सोमबारनै हुने अर्को खेलमा दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्समा नै न्यूरोड टिम एनआरटीले थ्रिस्टार क्लबको सामना गर्नेछ । दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको थ्रीस्टार लिगको पाँचांै स्थानमा छ भने एनआरटीले भने हालसम्म जित हात पार्न सकेको छैन् । एनआरटी दुई खेलमा पराजित भएको छ भने एक खेलमा बराबरीको नतिजा निकाल्दै बाह्रांै स्थानमा छ ।

यता, हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लब आमने सामने हुनेछन् । प्रतियोगिताका तीन खेलमा एक जित, एक बराबरी र एक हार ब्यहोरेको च्यासलको चार अंक छ । पुलिसको पनि च्यासलको जस्तै नतिजा निकालेको छ । च्यासल लिगमो छैटौं र पुलिस सातौं स्थानमा छ ।

लिगमा १४ ‘ए’ डिभिजन क्लबहरू थ्रीस्टार, मनाङमस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । 

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् । लिगको चौथो टोलीले १५ लाख, पाँचौं टोलीले सात लाख र छैटौंले पाँच लाख पाउनेछन् । ‘फेयरप्ले’ टिमले एक लाख पाउनेछन् । प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई ५० हजार तथा ‘म्यान अफ दि म्याच’ खेलाडीलाई १० हजार दिनेछन् । 

यस्तै लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन लागेको हो । पछिल्लो पटक विसं २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो ।


Views: 47