22nd January | 2019 | Tuesday | 10:01:01 AM

लिगको शीर्ष पाँचमा एपिएफ

हिमालय टाइम्स   POSTED ON : Tuesday, 08 January, 2019 (2:22:06 PM)

लिगको शीर्ष पाँचमा एपिएफ

काठमाडौं । शशस्त्र प्रहरी बलको एपिएफ क्लबले शीर्ष पाँचमा रहँदै शहीद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ । आइतबार लिगको अन्तिम खेलमा उपविजेता टोली संकटा क्लबलाई २–१ गोलअन्तरले स्तब्ध पार्दै एपिएफ लिगको पाँचौ स्थानमा रहन सफल रहृयो । 

एपिएफले जितसँगै १३ खेलबाट २३ अंक जोडेको छ । लिगमा उसले ७ खेलमा जित, ४ खेलमा पराजय र २ खेलमा बराबरीको नतिजा निकाल्यो । लिगमा यसअघि नै मनाङमस्र्याङ्दी क्लब, संकटा क्लब, थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब क्रमशः पहिलोदेखि चौथो स्थानमा रहन सफल भइसकेका छन् । 

अन्तिम खेलमा एपिएफलाई जित दिलाउन युवराज खड्का र राजन गुरुङले गोल गरेका थिए । खेलको इञ्जुरी समयमा लक्ष्मण रुचालले संकटाका लागि एक गोल फर्काए पनि त्यसले जित दिलाउन सकेन् । एफिएफले दुवै हाफमा एक÷एक गोल गरेको थियो । 

खेलको २३औं मिनेटमा आशिष लामाको पासमा युवराज खड्काको गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाएका थिए । युवराजले मैदानको मध्यभागबाट एक्लै बलअघि बढाउँदै गरेको प्रहारमा विपक्षी गोल रक्षकको केही चलेन । उनको गोलसँगै पहिलो हाफमा एपिएफले १–० को अग्रता लियो । 

यस्तै, खेलको ७१औं मिनेटमा राजन गुरुङले एपिएफको अग्रता दोब्बर पारेका थिए । सुदीप शिख्राकारको फ्रिकिकमा राजन गुरुङले हेडर गोल गर्दै संकटाको अग्रता दोब्बर पारेका हुन् । निर्धारित समयमा एपिएफ २–० ले अघि रहेपनि थपिएको समयमा लक्ष्मण रुचालले फ्री किकमार्फत् संकटाका लागि एक गोल फर्काएपछि खेल २–१ को अवस्थामा टुंग्गिएको थियो । 

खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका गुमाएका थिए । खेलको सातौं मिनेटमा एपिएफका प्रदीप लामाको बक्सबाहिरको प्रहारमा संकटामा गोलरक्षक राजाबाबु थापाले उत्कृष्ट बचाउ गरेका थिए । यस्तै नवौं मिनेटमा संकटाका एलोन म्याक्सवेलको प्रहार गोलरक्षक एपिएफका राजु योगीले बचाएपछि संकटा सुरुवाती अग्रता लिन चुकेको थियो ।

यस्तै १७ औं मिनेटमा म्याक्सवेलको सुन्दर पास सेड्रिक अबाले पाएपनि उनको प्रहारलाई पुनः एपिएफका किपरले बचाए । २५औं मिनेटमा एपिएफका युवराज खड्काको प्रहार क्रसबारमा ठोक्किदै आकाशिएको थियो । ५८औं मिनेटमा रोमन लिम्बूको क्रसमा सेडरिक अबाको सिक्स यार्ड बक्सभित्रको प्रहार आकासिएको थियो । 

६०औं मिनेटमा आशिष लामाको प्रहार गोलरक्षक राजुले बचाए । ६८औं मिनेटमा एलोन म्याक्सवेलको प्रहारले पोष्टको दिशा लिन नसक्दा संकटा खेलमा फर्कन सकेन । ८४औं मिनेटमा अबाको प्रहारलाई सुदीप शिख्राकारले गोललाइनबाट बचाए । लगत्तै सौजन राईको प्रहार विश्वास उदासले गोल लाइनबाटै हेड गर्दै बचाएपछि खेलमा थप गोल हुन सकेन् ।

लिगमा सोमबार यस सिजनका अन्तिम खेलहरूमा न्युरोड टिम एनआरटी र ब्रिगेड ब्वाइज् क्लब तथा मनाङमस्र्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन् ।


Views: 38