27th March | 2019 | Wednesday | 6:25:54 AM

च्यासलको फराकिलो जित

हिमालय टाइम्स   POSTED ON : पुष २७, २०७५ (७:१३ AM)

च्यासलको फराकिलो जित

काठमाडौं । भ्याली च्यासल युवा क्लबले तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपअन्तर्गत बिहीबार भएको खेलमा दिल्ली फुटबल क्लबमाथि ६–० को फराकिलो जित हात पारेको छ । धनगढी रंगशालामा जारी प्रतियोगितामा डेब्यु गरेका विदेशी खेलाडी अर्माण्ड मोएनले हृयाट्रिक गरेसँगै च्यासलले सहज जित हात पार्दै अन्तिम आठमा स्थान बनाएको हो ।

च्यासलको जितमा माएनले हृयाट्रिक गर्नुका साथै हेमन्त थापामगर, सन्जोग राई र सन्तबहादुर गुरुङले गोल गरे । खेलको १४औं मिनेटमा विदेशी खेलाडी एल्भिसको पासमा सन्जोग राईले सहजै गोल गर्दै च्यासललाई सुरुवाति अग्रता दिलाएका थिए । ३१औं मिनेटमा हेमन्तथापामगरले झण्डै २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको भित्रीभागमा लाग्दै गोलमा परिणत भएसँगै च्यासलले अग्रता दोब्बर पारेको छ । यस्तै ४०औं मिनेटमा सन्जोग राईको लामो पासलाई नियन्त्रणमा लिँदै अर्माण्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई विपक्षी गोलरक्षकले बचाउन नसकेपछि पहिलो हाफमा च्यासल ३–० ले अघि रहृयो ।

दोस्रो हाफमा पनि च्यासलले सुरुवातदेखि दबाब बनायो । ६१औं मिनेटमा अर्माण्ड मोएनले योगेश गुरुङको पासलाई सदुपयोग गर्दै च्यासललाई ४–० ले अगाडि बढाए । ७३औं मिनेटमा अर्माण्डले प्रहार गरेको फितलो प्रहार गोलरक्षकले रोक्न नसक्दा च्यासल ५–० ले अगाडि बढ्यो । इन्ज्युरी समयको पहिलो मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई ६–० को जित दिलाए । खेलको आरके कन्स्ट्रक्सन ‘म्यानअफ द म्याच’ बनेका अर्माण्डले १० हजार रुपैयाँप्राप्त गरे ।

यस जितसँगै च्यासलले प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । च्यासलले अब क्वार्टरफाइनलमा रुस्लान थ्रीस्टारको सामना गर्नेछ । विजयी टोली च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले नयाँ मैदान भए पनि डेब्यु गरेका फरवार्डले उत्कृष्ट प्रदर्शन गरेपछि जित सम्भव भएको बताए । पराजित टोलीका प्रशिक्षक बिएस मेहेराले पहिलो रोजाइका ६ खेलाडी भारतमा व्यस्त भएको हुँदा सोचेअनुरूप खेल्न नसकेको बताए ।

शुक्रबार हुने खेलमा रूपन्देहीको गोर्खा ब्वाइजले काठमाडौंको सिएमजी क्लब संकटाको सामना गर्ने आयोजकले जनाएको छ । कुल १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सिसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५÷१५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यानअफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।


Views: 81