24th July | 2019 | Wednesday | 8:21:36 AM

इक्वेडरमाथि उरुग्वेको सहज जित

एजेन्सी   POSTED ON : असार ३, २०७६ (७:३९ AM)

इक्वेडरमाथि उरुग्वेको सहज जित

रियो । कोपा अमेरिकाअन्तर्गत सोमबार बिहान भएको समूह सिको खेलमा फरवार्डद्वय लुइस सुआरेज र एडिन्सन काभानीले गोल गरेपछि उरुग्वेले इक्वेडरलाई ४–० गोलअन्तरले पराजित गरेको छ ।

सुआरेज र काभानीबाहेक निकोलस लोडिरोले एक गोल थपे । त्यसबाहेक एक गोल भने उरुग्वेले आत्मघाती उपहार पाएको थियो । खेलको छैटौं मिनेटमा नै निकोलोसको गोलबाट उरुग्वेले सुरुवाती अग्रता लियो । २४औं मिनेटमा जोसे क्विन्टेरोस सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि इक्वेडर १० खेलाडीमा सीमित भयो ।

त्यसपछि इक्वेडरमाथि पूर्ण हावी भएको उरुग्वेका लागि ३३ औं मिनेटमा डिएगो गोडीनको पासमा एडिन्सन काभानीले गोल गरे । पहिलो हाफको एक मिनेट बाँकी रहँदा सुआरेजले मार्टिन कासेरेसको पासमा गोल गर्दै उरुग्वेलाई ३–० को अग्रता दिलाए ।

दोस्रो हाफमा भने इक्वेडरले रक्षात्मक खेल खेल्यो । अर्टुरो मिनाको आत्मघाती गोलमा उरुग्वेले ७८औं मिनेटमा ४–० को जित हात पा¥यो । क्लियर गर्न खोज्दा बल मिनालाई लागेर पोस्टमा छिरेको थियो । जितसँगै उरुग्वेले समूह ‘सी’ मा ३ अंक जोडेको छ ।

त्यस्तै, सोमबार बिहान नै भएको अर्को खेलमा पाराग्वे र कतारले २–२ को बराबरी खेलेका छन् । एक समय २–० ले पछि परेको अवस्थामा कतारले उत्कृष्ट पुनरागमन खेल बराबरीमा टुंग्याएको हो । अतिथि राष्ट्रका रूपमा सहभागिता जनाएको कतारविरुद्ध चौथो मिनेटमा ओस्कार कार्डोजोले पेनाल्टीमार्फत गोल गरेका थिए ।

डेरिस गोन्जालेजले ५६औं मिनेटमा दोस्रो गोल गर्दै पराग्वेको अग्रता दोब्बर पारे । तर, खेलको ६८औं मिनेटमा अल्मोएज अलीले गोल गर्दै कतारलाई खेलमा फर्काए । त्यस्तै, अन्त्यतिर जोयन रोड्रिगोको आत्मघाती गोलमा कतारले गोल बराबरीमा टुंगायो ।

समूह ‘बी’ मा कोलोम्बियाले ३ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । कतार र पाराग्वे समान १–१ अंकसहित संयुक्त दोस्रो स्थानमा रहँदा अंकविहीन अर्जेन्टिना पुछारमा छ । कतारले अब कोलम्बियासँग तथा पाराग्वेले अर्जेन्टिनासँग खेल्नेछ ।


Views: 122