7th December | 2019 | Saturday | 12:19:35 PM

टी–२० विश्वकप छनोट – कतारसँग नेपाल चार विकेटले पराजित

  POSTED ON : श्रावण ७, २०७६ (११:३८ AM)

टी–२० विश्वकप छनोट – कतारसँग नेपाल चार विकेटले पराजित

काठमाडौं । सिंगापुरमा आयोजना भइरहेको टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल अप्रत्याशित पराजित भएको छ । 

मंगलबार बिहान सिंगापुरमा भएको खेलमा नेपाललाई कतारले चार विकेटले पराजित गरेको हो ।

१२३ रनको लक्ष्य कतारले चार बल बाँकी रहँदै पूरा गर्यो । उसका लागि इनाम–उल–हले ३२ बलमा ४१, कामरन खानले १५ बलमा २२, नूमन सर्वारले १५ बलमा १५ तथा जाहीर इब्राहिमले ९ बलमा १२ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले सबै विकेट गुमाएर १२२ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३५ बलमा ३४ रन बनाए । यस्तै कप्तान पारस खड्काले १७ बलमा २८, उपकप्तान ज्ञानेन्द्र मल्लले २४ बलमा २३ तथा सोमपाल कामीले १२ बलमा ११ रन बनाए ।

नेपालका कप्तान खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । त्यसपछिका ऐरी बाहेकका अन्य खेलाडी धेरैबेर क्रिजमा टिक्न सकेनन् । कतारका इक्बाल हुसनले तीन तथा तमूर साजद र नूमन सर्वारले दुई–दुई विकेट लिए ।

पाँच देशको सहभागिता रहेको छनौट प्रतिस्पर्धा सोमबारदेखि सिंगापुरमा सुरु भएको हो । आयोजक सिंगापुरले सोमबार भएको खेलमा कतारलाई पराजित गरेर राम्रो सुरुवात गरेको छ ।


Views: 161

सम्बन्धित सामग्री: