25th August | 2019 | Sunday | 5:24:22 PM

दुवै खेल कुवेतमा खेल्न नमिल्ने

हिमालय टाइम्स   POSTED ON : श्रावण २३, २०७६ (८:३० AM)

दुवै खेल कुवेतमा खेल्न नमिल्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोटअन्तर्गतको एसिया छनौट दोस्रो चरणमा कुवेतसँग हुने होम एण्ड अवेको दुबै खेल कुवेतमा खेल्ने प्रस्ताव गरेपनि विश्व फुटबलको सर्वोच्चो निकाय फिफाले अस्वीकार गरेको छ । 

दशरथ रंगशालाको पुनर्निर्माण नसकिएको भन्दै एन्फाले भदौ १९ गतेका लागि तय भएको कुवेतविरुद्धको होम खेल पनि कुवेतमै खेल्ने फिफालाई प्रस्ताव पठाएको थियो । तर, फिफाले होम एण्ड अवे खेल एउटै देशमा खेल्न नमिल्ने जनाएपछि नेपालले तटस्थ भूमिमा होम खेल खेल्ने भएको छ ।

एन्फा प्रवक्ता किरण राईले फिफाले नेपालको दुवै खेल कुवेतमा नगर्न आग्रह गर्दै पत्र पठाएको बताए । ‘फिफाले नेपालको दुवै खेल कुवेतमा नराख्न अनुरोध गरेको छ । सोहीअनुसार हामी ‘न्युट्रल भेन्यु’ को खोजीमा छौ र त्यो चाँडै टुंग्गो लाग्नेछ,’ प्रवक्ता राईले भने ।

दशरथ रंगशालाको पुनर्निर्माण कामअन्तर्गत भिआईपी प्याराफिटमा छानो हाल्ने, कुर्सीहरू राख्ने, घाँस काट्ने तथा फिनिसिङको काम अझै बाँकी छ । उक्त काम कात्तिक १५ भित्र सकिने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटअन्तर्गत एसियाली छनौटको दोस्रो चरणमा नेपाल समूह‘बी’ मा छ । समूहमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन् । कुवेतपछि नेपालले भदौ २४ गते चाइनिज ताइपेसँग खेल्नेछ । 

एसियाली छनौटको दोस्रो चरणमा ४० टोलीको सहभागिता छ । ती टोलीहरूलाई ८ समूहमा बाडिएको छ । समूहका शीर्ष ८ टोली र उत्कृष्ट उपविजेता ४ टोली गरी १२ टोली एसिया छनौटको अन्तिम चरणमा प्रवेश गर्नेछन् । 

नेपालले गत असार दोस्रो सातादेखि नै विश्वकप छनौटको तयारी सुरु गरिसकेको छ । मुख्य प्रशिक्षक योहान कालिनको नेतृत्वमा ३१ सदस्यीय नेपाली टोली हाल एन्फा कम्प्लेक्स सातदोबाटोमा तयारीमा व्यस्त छ ।


Views: 77