6th December | 2019 | Friday | 7:16:01 AM

राष्ट्रिय भलिबल टोलीको घोषणा

हिमालय टाइम्स   POSTED ON : श्रावण २७, २०७६ (१०:५६ AM)

राष्ट्रिय भलिबल टोलीको घोषणा

काठमाडौं । घरेलु कोर्टमा आगामी महिना हुने एभिसी एसियन सिनियर पुरुषसेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाली पुरुष भलिबल टोलीको घोषणा गरिएको छ । नेपाल भलिबल संघले आइतबार इम रानाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

एशियन भलिबल कन्फेरेडेशनको संयोजन तथा नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक नेपालमा आगामी साउन ३२ गतेदेखि भदौ ८ गतेसम्म सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा एशियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदैछ । 

नेपाली भलिबलको इतिहासमा देशमा आयोजना भइरहेको यो सबैभन्दा ठूलो प्रतियोगिता हो । प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, उज्वेकिस्तान र तुर्किमिनिस्तानको राष्ट्रिय भलिबल टिमहरूले सहभागिता जनाउँने छन् ।

तीनअघि माल्दिभ्समा भएको यही प्रतियोगितामा तेस्रो बन्दै नेपाली भलिबलले इतिहासमै हालसम्मकै उच्च सफलता हात पारेको थियो । त्यसबेला नेपाली टोलीको कप्तानी पनि इम रानाले नै गरेका थिए । नेपालले यसै प्रतियोगिताका लागि दुई हप्ताअघि डच प्रशिक्षक हान एबिङलाई विशेष प्रशिक्षणका लागि बोलाएका थिए । एबिङले तीन दिनअघि नै संघलाई अन्तिम नामावली बुझाएका थिए ।

संघले आइतबार प्रेश विज्ञप्ति जारी गर्दै घोषित गरेको टोलीमा त्रिभुवन आर्मी क्लबका राजेन्द्र विष्ट र दुर्गा खड्का तथा एपीएफका टेकराज अवस्थीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । यस्तै दोस्रो चरणसम्म रहेका १८ जनामा पुलिसका राजु शेरचन र द्वारिका थापा तथा आर्मीका दुर्गा महतो र सरन सामरीले आइतबार घोषित टोलीमा स्थान बनाउन सकेनन् ।

घोषित नेपाली टोलीमा इमबहादुर राना, हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापामगर छन् । असार पहिलो साताबाट प्रशिक्षणमा रहेको नेपाली टोलीले यसै च्याम्पियनसिपको लागि अफगानिस्तानसँग यही बुधबार र बिहीबार दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।


Views: 131