25th August | 2019 | Sunday | 5:16:31 PM

सोमपालको टोली च्याम्पियन

हिमालय टाइम्स   POSTED ON : श्रावण २८, २०७६ (१२:२५ PM)

सोमपालको टोली च्याम्पियन

काठमाडौं । नेपाली अलराउण्डर सोमपाल कामीको टोली वेनिपेग हक्सले ग्लोबल टी–२० क्रिकेट लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा पराजित गर्दै हक्स च्याम्पियन बन्यो । सोमपाल बेञ्चमै रहे पनि उनी विदेशी फ्रेन्चाइजी लिग जित्ने पहिलो खेलाडी बने ।

हक्सले यस सिजनमा सोमपाललाई ३ हजार अमेरिकी डलरमा अनुबन्ध गर्दै सन्दीप लामिछानेपछि विदेशी लिग खेल्ने दोस्रो खेलाडी बनाएको थियो । गत सिजनमा अष्ट्रेलियाको विग बास लिगको फाइनलमा पुगे पनि सन्दीपको टोली मेलबर्न स्टार्स उपाधि जित्न चुकेको थियो । सन्दीपले धेरै विदेशी लिग खेले पनि उनको टोलीले कुनै उपाधि जित्न सकेको छैन् ।

सुपर ओभरमा १० रनको लक्ष्य पाएको हक्सले ४ बलमा उक्त लक्ष्य पूरा गरेको थियो । क्रिस लिनले आन्द्रे रसेललाई तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै जित पक्का गरेका थिए ।

निर्धारित २० ओभरमा भने दुवै टोलीले १ सय ९२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । हक्स बनाएको १ सय ९२ रन पछ्याएको नाइट्सले पनि निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९२ रन नै जोडेको थियो । अन्तिम ओभरमा जितका लागि १७ रन आवश्यक भएका बेला आन्द्रे रसेलले २ छक्कासहित १६ रनमात्रै जोड्न सके । 

नाइट्सका लागि सोएब मलिकले ६४ रन जोडे । ३६ बलमा उनले ६ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै आन्द्रे रसेल २० बलमा ५ छक्का र ३ चौकासहित ४६ रन अविजित रहे । हक्सका लागि रायद इम्रिट र पल भान मेर्करेनले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको हक्सले शैमन अनवारको ९० रनको पारीमा १ सय ९२ रन जोडेको थियो । ४५ बलमा शैमनले ८ चौका र ७ छक्का प्रहार गरे । यस्तै क्रिस लिन २१ बलमा ४ चौका र ३ छक्कासहित ३७ तथा जेपी ड्युमिनी ३३ रन जोडे । आन्द्रे रसेलले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए ।


Views: 96