19th October | 2019 | Saturday | 8:23:50 PM

साफ यु–१९ को उपाधि भारतलाई

हिमालय टाइम्स   POSTED ON : आश्विन १३, २०७६ (९:५१ AM)

साफ यु–१९ को उपाधि भारतलाई

काठमाडौं । बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै भारतले शनिबार सम्पन्न साफ यु–१९ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । भारतका रविबहादुर रानाले इञ्ज्युरी समयमा निर्णायक गोल गर्दै भारतलाई पहिलो पटक प्रतियोगिताको उपाधि दिलाएका हुन् । यसअघिका दुई संस्करणको उपाधि नेपालले जितेको थियो । यस संस्करणमा नेपाल भने समूहचरणबाटै बाहिरिएको थियो । आइतबार सशस्त्र प्रहरी बलको एपीएफ रंगशालामा भएको फाइनलको दोस्रो मिनेटमै भारतले अग्रता बनाएको थियो । विक्रम सिंहले वन भर्सेस वनमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । खेलको २३औं मिनेटमा दुवै टोलीका खेलाडीले रातो कार्ड पाए ।

भारतका गोलकर्ता विक्रमलाई मैदानको मध्यभागमा फल गरेपछि दुवै टोलीका खेलाडी एकआपसमा भनाभनमा उत्रिए । त्यसक्रममा एक अर्कामाथि जाई लाग्न गर्न खोजेका भारतका गुर्किरत सिंह र बंगलादेशका मोहमद रिदोयलाई रेफ्रीले रातो कार्ड दिएका थिए । बंगलादेशले खेलको ४०औं मिनेटमा बराबरी गोल फर्कायो । उसका कप्तान यासिन अराफातले गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । गोलको खुशियाली मनाउने क्रममा जर्सी टाउकोभन्दा माथि उठाएपछि रेफ्री उनले पनि दोहोरो पहेलो कार्ड पाए । त्यसपछि दोस्रो हाफमा बंगलादेश ९ खेलाडीमा सीमित भएको थियो । दोस्रो हाफमा रक्षात्मक देखिएको बंगलादेशविरुद्ध अन्तिम मिनेटमा रविले लामो दुरीबाट गरेको प्रहार गोलमा परिणत भएपछि भारत च्याम्पियन बनेको हो । बंगलादेश यसअघिको संस्करणको उपविजेता टोलीसमेत हो । 


Views: 78