19th October | 2019 | Saturday | 9:39:12 PM

जिम्बावेसँग बदला लिने मौका

हिमालय टाइम्स   POSTED ON : आश्विन १४, २०७६ (९:५९ AM)

जिम्बावेसँग बदला लिने मौका

काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले मंगलबार जिम्बावेसँग दोस्रो खेल खेल्ने भएको छ । अघिल्लो खेलमा ५ विकेटले पराजित नेपालका लागि यस खेलमा जिम्बावेविरुद्ध बदला लिने मौका हुनेछ । 

सिंगापुरस्थित इण्डियन एसोसिएसनको मैदानमा हुने उक्त खेलमा नेपालले जितको अपेक्षासहित टेष्ट राष्ट्र जिम्बावेविरुद्व खेल्नेछ । खेल नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ । उक्त सिरिजअन्तर्गत यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा जिम्बाबेसँग ५ विकेटले पराजित भए पनि दोस्रो खेलमा सिंगापुरमाथि ९ विकेटको शानदार जितसँगै नेपालको मनोबल उच्च छ ।

नेपाल २ अंकसहित शीर्ष स्थानमा छ । जिम्बावेलाई पराजित गरे नेपाललाई उपाधि जित्ने अवसर पनि छ । सिंगापुरसँग आइतबार भएको खेलमा पराजित भए पनि रनरेटका आधारमा जिम्बावे दोस्रो स्थानमा छ भने सिंंगापुर पुछारमा छ । जिम्बावेविरुद्धको पहिलो खेलमा नेपालको ब्याटिङ चलेको थिएन् । यसै शृंखलामा उपकप्तानीको जिम्मेवारी पाएका दीपेन्द्रले ४० रनको बाहेक अन्यले सम्झन लायक प्रदर्शन गर्न सकेका थिएनन् । तर त्यसपछि घरेलु टोलीविरुद्ध भएको खेलमा भने नेपालको ब्याटिङ निकै चल्यो । कप्तान पारस खड्काले शतक प्रहार गरेको खेल नेपालले २४ बल बाँकी छँदै ९ विकेटले जितेको थियो ।

कप्तान पारस खड्का यसै खेलमा टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बनेका थिए । उनलाई आरिफ सेखले ३९ रन बनाई साथ दिएका थिए । बलिङमा सन्दीप लामिछाने राम्रो लयमा छन् । क्यारेबियन प्रिमियर लिग छाडेर राष्ट्रिय टोलीबाट खेल्न फर्किएका सन्दीपले जिम्बावेविरुद्धको अघिल्लो खेलमा ४ ओभरमा १५ रनमात्रै दिएर ३ विकेट लिएका थिए । यस्तै सिंगापुरविरुद्ध विकेट नपाए पनि उनले कसिलो बलिङ गरे । ४ ओभरमा १८ रनमात्रै खर्चिएका थिए ।

टेष्ट राष्ट्र जिम्बावे भने सिंगापुरविरुद्धको हारपछि पुनरागन गर्ने सोचका साथ नेपालविरुद्ध खेल्नेछ । अघिल्लो खेलमा नेपालमाथि हावी भएको उसले यस खेलमा पनि त्यही प्रभाव निरन्तरता दिने ठानेको छ । नेपाल र जिम्बावे दुवै आइसिसीबाट निलम्बित छन् । सिंगापुरले आइसिसी टी–२० विश्वकपअन्तर्गत विश्व छनोटको तयारीका लागि यो शृंखला आयोजना गरेको हो । नेपालले जिम्बावे विरुद्धको खेललगत्तै बुधबार सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । तीनवटै टोलीको समान २–२ अंक भएकाले सबैको उपाधि उचाल्ने सम्भावना कायम छ । 

नेपालले दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि प्रतियोगिता खेलेको हो । टोलीमा पहिलोपल्ट कुशल मल्ल र इसान पाण्डेले अवसर पाउनुका साथै डेब्युसमेत गरिसकेका छन् । यस्तै आरिफ शेख र सुशान भारीले पुनगरामन गरेका छन् । यसलगत्तै नेपाल सिरिजसँग ५ राष्ट्र सम्मिलित टी–ट्वान्टी शृंखला खेल्न नेपाल ओमान प्रस्थान गर्नेछ । नेपाल, नेदरल्यान्ड, ओमान, आयरल्याण्ड र हङकङबीच हुने शृंखला अक्टोबर ५ देखि १० सम्म हुनेछ । दक्षिण एसियाली खेलकुद (साग) का लागि तीन हप्ते तयारीपश्चात् नेपाली टोलीको घोषणा गरिएको हो ।

नेपाली टोलीमा पारस खड्का, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सन्दीप लामिछाने, अविनाश बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशान भारी र इसान पाण्डे छन् ।

अब क्रिकेटले फड्को मार्छ : चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले आइसिसीले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा गर्ने विश्वास दिलाएका छन् । आइसिसीकै सल्लाह र निर्देशनअनुसार काम भइरहेकाले उनले आइसिसीले नै अब बस्ने बैठकबाट क्यानमाथिको प्रतिबन्ध हटाउने उनको दाबी छ । 

उनले भने, ‘मलाई लाग्दैन् कि उसले अब पनि प्रतिबन्ध जारी राख्छ, नेपाल ठूलो सम्भावना भएको देश हो, यो कुरा आइसिसीलाई राम्रोसँग थाहा छ । आइसिसीले पनि नेपाललाई बचाउन खोजेको छ । नेपालको पक्षमा निर्णय गर्छ ।’ 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष चन्दले क्रिकेट विकासका लागि गृहकार्य थालिएको सुनाए । उनले भने, ‘निलम्बन फुकुवाका लागि हामीले पत्राचार गरिरहनु पर्दैन्, नेपाली क्रिकेटको निकासलाई आइसिसीले दिएको रोडम्याप अनुसारै हामीले काम पूरा गरेका छौं । आइसिसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ ।’

उनले सरकारी हस्तक्षेप भएको, र स्वतन्त्र र निश्पक्ष चुनाव नभएकाले आइसिसीले क्यानमाथि प्रतिबन्ध लगाएको भन्दै अहिले आइसिसीकै निर्देशनअनुसार आफूहरूले स्वतन्त्र र निश्पक्ष ढंगले सहमतिमै निर्वाचन सम्पन्न गरेकाले अब चाँडै निलम्बन फुकुवा हुने स्पष्ट पारे । उनले भने, ‘अन्य कुराहरू सुशासनलगायत काम गर भनेपछि हामी गर्छौं, निलम्बन फुकुवाका लागि क्यानले प्रपोजल हाल्नुपर्ने कुरा छैन् । हामीले त आइसिसीले जे भन्यो त्यही त्यही खुरुखुरु गरेका हौं ।’

अध्यक्ष चन्दले नेपाली क्रिकेटले अब फड्को मार्ने विश्वास दिलाए । ‘हामी यो क्षेत्रको विकास र विस्तारका लागि योजनाबद्ध तवरले अघि बढिरहेका छौं ।’ उनले थपे, ‘चन्दले खेलाडी छनोटको आधारतय गर्ने बताउँदै भने, ‘विगत लामो समयदेखि क्यान निलम्बनमा रहँदा खेलाडी छनोटको कुनै आधार थिएन, मनोमानि ढंगले खेलाडी छनोट गरिएको छ । अब व्यवस्थित ढंगले खेलाडी छनोट गछौं ।’ 

पछिल्लो समय खेलमैदान पनि निर्माण भैरहेको सुनाउँदै अब क्रिकेटले गति लिने बताए । उनले भने, ‘म यही मञ्चबाट चाँडोभन्दा चाँडो खेल मैदानहरू निर्माण गर्न सरकार, राखेप, प्रदेश सरकार र स्थानीय सरकारसँग अनुरोध गर्दछु । प्रत्येक गाउँपालिका र नगरपालिकामा करोडौंको खेलमैदान बनेका छन् । दुर्गम क्षेत्रमा पनि खेलमैदानका लागि त्यत्रो लगानी गरेको छ । यसमा एउटा क्रेज छ । त्यसलाई व्यवस्थित् र स्तरीय बनाउनको लागि सबैको साथ र भूमिका अपरिहार्य छ ।’

अध्यक्ष चन्दले राम्रो खेल मैदान भएपछि राम्रो क्रिकेट प्रतियोगिता हुने र राम्रो प्रतियोगिता भएपछि खेलाडीले पनि राम्रो र उत्कृष्ट प्रदर्शन गर्न पाउने सुनाए । सरकारसँग खेलमैदानका लागि सहकार्य गरेर अघि बढ्ने उनले सुनाए । काठमाडौं मूलपानी क्रिकेट रंगशालाको सवालमा पनि राखेपले गरेको काममा सहकार्य गर्ने उनको विश्वास छ । उनले भने,‘विगत तीन वर्षदेखि कर्मचारीलाई तलब दिन सकेका छैनौं । हामी सही ट्रयाकमा ल्याउन संघर्षरत छौं । हामी स्टडी गर्छौं । हामी आफ्नो तवरबाट सक्दो प्रयास गर्छौं । राखेपले गरेको काममा सघाउँछौं ।’

खेलाडीसँग सहकार्य गर्ने सुनाउँदै खेलाडी पनि अनुशासित हुनुपर्ने बताए । ‘३६ देखि चालीसजनालाई नेश्नल सेन्ट्रल कन्ट्याक्टमा ल्याउँछौं’, उनले भने, ‘दुईवटा टिम अट्नेगरी हामी होमवर्क गरिरहेका छौं । प्यारालल दुई वटा टिम बनाउने लक्ष्य छ । एउटा सिनियर टिम हुन्छ । अर्को चाहीँ यु–२३ बारे कुरा चलिरहेको छ ।’

निर्वाचनमा पराजित भएका साथीसँग सल्लाह गरी नै अगाडि बढ्ने उनको भनाइ छ । निर्वाचनमा हार जित एक प्रक्रिया भए पनि क्रिकेटमा लामो समय बिताएका साथीको सल्लाहनुसार क्यानलाई अगाडि बढाउने उनको भनाइ छ । 

उनले विगतमा क्रिकेटका लागि दिएको अनुदान सही सदुपयोग हुन नसकेको आइसिसीको आशंका रहेको सुनाए । उनले भने, ‘हामीले कुनै खालको गैरपारदर्शी र विवाद हुने काम गर्दैनौं । व्यक्ति गौण हो, संस्था मुख्य कुरा हो । आइसिसीलगायत सरकारले व्यक्तिलाई हेर्दैन ।’ उनले क्यानको सिइओ पनि प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने स्पष्ट पारे । उनले भने, ‘आइसिसीले हामीसँग आर्थिक पारदर्शिताका चुस्त प्रशासन सञ्चालनमा सिइओ राख्नुपर्ने शर्त राखेको छ । हामी आइसिसीको शर्तमा रहेर काम गर्छौं ।’ त्यस्तै, उनले प्रादेशिक क्रिकेटलाई सशक्त बनाउने आफ्नो योजना रहेको सुनाए । 

अहिले निजीस्तरबाट भइरहेका विभिन्न लिगलाई पनि कानुनबमोजिम बनाउने उनको भनाइ छ । अध्यक्ष चन्दले यही वर्ष आफूहरूले देशकै ठूलो नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने पनि बताए । उनले भने, ‘अब नेपालको आधिकारिक र सबैभन्दा ठूलो लिग एनपिएल हुन्छ, यो लिगबाट नेपाली खेलाडी र नेपाली क्रिकेटले ठूलो प्रगति र फड्को मार्छ ।’


Views: 111