13th December | 2019 | Friday | 3:50:44 PM

आज सागको भव्य उद्घाटन

हिमालय टाइम्स   POSTED ON : मंसिर १५, २०७६ (४:०५ PM)

आज सागको भव्य उद्घाटन

काठमाडौं । २० वर्षपछि नेपालमा फर्किएको दक्षिण एसियाली खेलकुद (साग)को १३औं संस्करणको आइतबार काठमाडौंको दशरथ रंगशालामा भव्य उद्घाटन हुँदैछ । दिउँसो ३ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२को भूकम्पपछि पहिलोपटक सञ्चालनमा आउन लागेको दशरथ रंगशालामा सागको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

समारोह समितिका निर्देशक कुलबहादुर थापाका अनुसार उद्घाटन समारोह ३ घण्टा लामो तय भएको छ । तर, झण्डै १५ हजारको सहभागिता हुने उद्घाटन समारोह १५–२० मिनेट समारोह लम्बनसक्ने उनले बताए ।

‘उद्घाटन समारोह नै प्रतियोगिता र आयोजक देशको पहिचान देखाउने अनुहार हो,’ समारोह निर्देशक थापाले भने, ‘हामीले नेपालको कला, संस्कृतिको अनुहार उद्घाटनमा देखाउने गरी भव्य तयारी गरेका छौं ।’ उद्घाटन समारोहको पहिलो घण्टा अन्तर्राष्ट्रिय परम्पराअनुसार देशभर घुमाएर ल्याइएको ओलम्पिक टर्चबाट दीप प्रज्वलन गर्ने, झण्डोत्तोलन गर्ने, शपथ ग्रहण गर्ने, स्वागत मन्तव्य राख्ने तथा राष्ट्रपतिद्वारा उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

दीप प्रज्वलन सागमा लगातार चारपटक स्वर्ण जितेका कीर्तिमानी खेलाडी दीपक विष्टले गर्नेछन । यस्तै दीपककी धर्मपत्नीसमेत रहेकी सागकी अर्की स्वर्णधारी आयशा शाक्यले खेलाडीका तर्फबाट सपथ लिने कार्यक्रम तय भएको थापाले बताए । त्यस्तै ब्याडमिन्टनका अम्पायर दीपक थापाले निर्णायकका तर्फबाट सपथ लिने भएका छन् ।

त्यसपछिको बाँकी समयमा मार्चपास तथा कलासंस्कृतिको प्रदर्शनी हुने कार्यक्रम छ । मार्चपासमा खेलाडी, अफिसियल, पदाधिकारी, प्रतिनिधिहरू सहभागी हुनेछन् । मार्चपासमा नेपालको झण्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले नेपाल ओलम्पिक कमिटिले शनिबारै टुंग्ग्गाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका गरी झण्डै १५ हजार जनाको उद्घाटन र समापन समारोहमा प्रस्तुति रहने थापाले बताए । त्यसबाहेक उद्घाटन कार्यक्रममा लेजर बिम, लाइटिङ तथा ड्रोनबाटसमेत विशेष प्रस्तुतीको तयारी भएको थापाले बताए । त्यसबाहेक ५ सय जनाले नेपाली मौलिक बाजा घन्काउनेछन् । अन्तिममा आतिसबाजीसहित उद्घाटन समारोहको समापन हुनेछ ।

 

नेपालको लक्ष्य ५० स्वर्ण

काठमाडौ, पोखरा र जनकपुरमा गरी विभिन्न २६ खेल हुने १३औं सागमा ३ सय १७ स्वर्ण, त्यति नै रजत र ४ सय ८१ कास्य पदकका लागि स्पर्धा हुँदैछ । आयोजकका हैसियतले नेपालले यसपटक कीर्तिमानी कम्तीमा ५० स्वर्ण जित्ने लक्ष्य राखेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बताए ।

‘यसअघि १९९९ मा भएको आठौं सागमा नेपालले ३१ पदक हात पारेको थियो । उक्त कीर्तिमानलाई तोड्दै नेपालले यसपटक १३औं सस्करणमा नेपालले कम्तीमा ५० वटा स्वर्ण पदक ल्याउने लक्ष्यसहित पदक तालिकामा दोस्रो बन्ने लक्ष्य छ,’ सिलवालले भने ।

कुन खेलमा कति स्वर्ण ?

सागमा स्विमिङमा सर्वाधिक ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसैगरी एथ्लेटिक्समा ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । तेक्वान्दोमा २९, भारतोलन, कुस्ती र सुटिङमा २०–२० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । करातेमा १९ तथा बक्सिङमा १६ स्वर्ण पदकका लागि भिडन्त हुनेछ । 

यसैगरी जुडोमा १५ ,फेन्सिङमा १२ र आर्चरीमा १० स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै साइक्लिङमा ८, ब्याडमिन्टन, टेवल टेनिस र टेनिसमा ७–७, ट्रायथलनमा ५ वटा स्वर्ण, स्क्वास र गल्फमा ४, बास्केटबल, थ्री बाई थ्री बास्केटबल, क्रिकेट, फुटबल, हृयाण्डबल, कबड्डी, खो खो, भलिबल र बीच भलिबलमा २–२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।


कुन देशबाट कति?

राखेपका अनुसार खेल अवधिभर सात देशका २ हजार ९ सय १० खेलाडी र ७ सय ६९ अफिसियल सहाभागी हुनेछन् । सागमा नेपालबाट सर्वाधिक ५ सय ९४ खेलाडीले सहभागिता जनाउँदै छन् । त्यस्तै व्यवस्थापक तथा प्रशिक्षक गरी एक सय ८६ले पनि सहभागिता जनाउनेछन् । भारतबाट ५ सय ३५ खेलाडी र १ सय ६७ अफिसयलले सहभागिता जनाउँदै छन् ।

बंलादेशबाट ४ सय ७८ खेलाडी र १ सय ४७ अफिसियल, पाकिस्तानबाट ३ सय ७८ खेलाडी र १ सय ५ अफिसियल, श्रीलंकाबाट ५ सय ५६ खेलाडी र १ सय ८३ अफिसियल, मालदिभ्सबाट २ सय ५२ खेलाडी र ६८ अफिसियल गरी जम्मा ३७ सय ९ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकले सहभागिता जनाउँदैछन् ।

उद्घाटन दिन चार खेल

सागको उद्घाटन दिन विभिन्न पाँच खेल हुँदैछन् । उद्घाटन अघि नै सुरु भएको पुरुष भलिबलका सेमिफाइनलमा खेलहरू उद्घाटन हुँदैछन् । यस्तै अर्को आयोजना स्थल पोखरामा उद्घाटन निदमा ब्याटमिन्टन सुरु हुनेछ । यस्तै सातदोबाटोमा कराते तथा कीर्तिपुरमा कबड्डी खेल सुरु हुनेछ । यसअघि उद्घाटनकै दिन फुटबल हुने तालिका रहे पनि अन्तिममा भारतले सहभागिता नजनाउने भएपछि उद्घाटनको दोस्रो दिन सोमबारबाटमात्रै दशरथ रंगशालामा पुरुष फुटबल सुरु हुनेछ ।

 

कसरी सुरु भयो साग ?

औपचारिक रूपमा पहिलोपल्ट दक्षिण एसियाली देशबीच क्षेत्रीय खेलकुद हुनुपर्छ भन्ने कुरो सन् १९८१ मा जर्मनीमा भएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको कंग्रेसका दौरान यस क्षेत्रका देशहरूका ओलम्पिक पदाधिकारीहरूबीच भएको थियो । त्यसबेला नेपालसँगै श्रीलंका, भारत र पाकिस्तानले प्रारम्भिक छलफल गरेका थिए । 

त्यस सोचलाई अघि बढाउँदै तत्कालीन राखेप सदस्यसचिव शरदचन्द्र शाहको पहलमा पहिलोपटक १९७८मै वर्णानुक्रमअनुसार बंगलादेशले पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गर्ने जिम्मा पायो । तर बंगलादेशले आयोजना गर्न नसकेपछि सन् १९८२मा भारतको नयाँदिल्लीमा भएको नवौं एसियाली खेलकुदमा भने यस क्षेत्रमा साग गर्ने विषयमा गम्भीर छलफल भएपछि भयो । सोही बेला पुनः १९८३ मा बंगलादेशमा साग आयोजना गर्ने भनियो । तर, पुनः बंगलादेशले नसकेपछि नेपालले आयोजनाको जिम्मा मात्रै लिएन १९८४ मा पहिलोपटक काठमाडौंमा पहिलो दक्षिण एसियाली खेलकुदको आयोजना भयो । त्यसपछि १९९९ मा आठौं साग आयोजना गरेको नेपालले त्यसको २० वर्षपछि अहिले १३औं सागको आयोजना गर्न लागेको हो । 



Views: 30