13th December | 2019 | Friday | 3:34:30 PM

फुटबल खेल तालिकाको आलोचना

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७६ (११:२५ AM)

फुटबल खेल तालिकाको आलोचना

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गतको फुटबल खेल तालिकाको सहभागी देशका प्रशिक्षकहरूले नै आलोचना गरेका छन् । आइतबार साग उद्घाटन अघि भएको पूर्व–पत्रकार सम्मेलनमा अधिकांश टोलीका प्रशिक्षकहरूले आलोचना गरेका छन् ।

मालदिभ्सका प्रशिक्षक पिटर सेर्गेट ले लगातार खेल्नुपरेको भन्दै खेल तालिकालाई लिएर आपत्ति जनाए । नेपालले आफूले खेल जित्नका लागि खेलतालिका परिवर्तन गरेको उनको आरोप थियो । भारत नआउने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले राउण्ड रोबिनमा ५ टोलीलाई खेलाउने गरी खेल तालिका सार्वजनिक गरेको थियो । त्यसअनुसार सुरुवाती दुई खेल माल्दिभ्सले लगातार २ दिनमा खेल्नुपर्ने भएको छ । सोमबार श्रीलंकासँग खेल्ने माल्दिभ्सले लगत्तै अर्काे दिन भुटानसँग खेल्ने तालिका छ । फिफा नियमअनुसार एक खेलमा पछि ४८ घण्टाको ग्याप हुनुपर्ने भए पनि त्यस्तो नभएकाले माल्दिभ्सका प्रशिक्षकले आलोचना गरेका हुन् ।

यद्यपि, उनले प्रतियोगिता खेल्ने नखेल्नेबारे कुनै निर्णय भने सुनाएनन् । ‘यो तालिका फुटबलको भावनाविपरीत छ,’ उनले भने, ‘यो तालिका सच्याउन हामीले अनुरोध गरेका छौं । खेल्ने नखेल्ने आज साँझ खेलाडी, संघ तथा पदाधिकारीहरूसँगको सल्लाहपछि निर्णय गर्नेछौं ।’

श्रीलंकाली प्रशिक्षक एमएन पाकिर अलिले पनि भने खेलतालिकाप्रति असन्तुष्टि जनाएका छन् । त्यसका वावजुद आफू प्रतियोगिताका लागि राम्रो तयारी भएको बताएका छन् । विश्व कप छनोटमा राष्ट्रिय टोलीले राम्रो प्रदर्शन गरेकोले त्यसमा रहेका खेलाडी सम्मिलित यू २३ टोलीले राम्रो प्रदर्शन गर्ने आशा उनले व्यक्त गरे ।

 बंगलादेशी प्रशिक्षक जमिन डेलेले आफूले हालसम्म यस्तो फुटबल तालिका कही नदेखेको प्रतिक्रिया दिए । त्यही पनि आफूहरू प्रतियोगितामा सहभागिता जनाउने उनले बताए । ‘हामीहरू तीन दिनदेखि नेपालमा छौँ । तयारी राम्रो भएको छ,’ उनले भने, ‘यस प्रतियोगितामा राम्रो गर्दै पदक जित्ने हाम्रो लक्ष्य हुनेछ । यस्तै, आफूहरूको टिममा अन्तर्राष्ट्रिय खेलाडीहरू पनि भएकाले भोलि हुने भुटानविरुद्धको पहिलो खेलमा जित हासिल गर्नेमा उनी विश्वस्त देखिए ।’

 यस्तै, बंगलादेशी कप्तान जमाल भुयानले आफूहरू स्वर्ण पदकका लागि आएको र त्यो स्वर्ण जित्न सके त्यो बंगलादेशी फुटबलको लागि पनि राम्रो हुने बताए । उनले ३ दिन अघि नै नेपाल आएकाले यहाँको वातावरणसँग घुलमिल भइसकेको प्रतिक्रिया दिए । भुटानका प्रशिक्षक पेमा दोजीले पनि खेल तालिकाको आलोचना गरे पनि आफूहरू खेल्नका लागि तयार रहेको बताए । नेपाली टोलीका प्रशिक्षक र कप्तान भने पत्रकार सम्मेलनमा उपस्थिति भएनन् ।


Views: 38