27th January | 2020 | Monday | 5:24:52 AM

एनआरटीसँग पुलिस पराजित

हिमालय टाइम्स   POSTED ON : पुष २९, २०७६ (१०:४५ AM)

एनआरटीसँग पुलिस पराजित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटीले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो । एनआरटीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा दर्शनले निर्णायक गोल गरे । डिबक्स भित्रबाट उनको कडा प्रहार सिधै गोल भएको थियो । जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । लिगमा एनआरटीको यो तेस्रो जित हो । एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ । पुलिसको यो दोस्रो हार हो । पुलिस ६ खेलमा ८ अंकसहित सातौं स्थानमा झरेको छ ।

खेलपछि पुलिसका प्रशिक्षक अनन्त थापाले खेलाडीले सोचेको जस्तो खेल्न नसकेको बताए । ‘हामी ३ अंकको लागि आएका थियौँ । सोचेजस्तो खेल भएन । खेलाडीले सोचेजस्तो खेलेनन् । मुख्य खेलाडीले सोचेजस्तो राम्रो नखेल्दा गाह्रो भयो,’ उनले भने, ‘एनआरटी राम्रो टिम हैन । एनआरटीले राम्रो गरेर जितेको हैन । हामीले नराम्रो खेलेर हारेको हौँ ।’

जितपछि एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले पुलिसको खेल पहिलेको जस्तो उत्कृष्ट नहुँदा टिमलाई फाइदा पुगेको बताए । ‘मुख्य कुरा तीन अंक आयो । पुलिसले नराम्रो खेल्दा सहज भयो,’ श्रेष्ठले भने, ‘पुलिसको खेल पहिलेजस्तो नहुँदा फाइदा भयो । तर, हामीले ट्रेनिङअनुसार खेल्न सकेनौँ । अर्को खेलमा राम्रो खेल्नेछौँ ।’

एपीएफ र च्यासलको बराबरी

यस्तै सोमबार नै भएको अर्को खेलमा च्यासल युथ क्लबले विभागीय टिम एपीएफ क्लबसँग गोलरहित बराबरी खेलेको छ । एपीएफसँगको बराबरीसँगै च्यासलले अंक तालिका सुधारको अवसर गुमाएको छ । ६ खेलमा ६ अंक जोडेको च्यासल लिगको दशौँ स्थानमा रहेको छ । यस्तै एपीएफ ६ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

एपीएफसँग बराबरीमा रोकिएपछि च्यासलका प्रशिक्षक बाल गोपाल शाहुखलले पाएको मौकामा चुक्दा बराबरीमा रोकिएको बताए । एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ बराबरीमा खुसी देखिए ।

लिगमा ए डिभिजनका १४ क्लबको सहभागिता रहको छ । गत वर्ष रेलिगेसन सिष्टम नराखेपनि यसवर्ष भने पुछारको एक टोलीको बी डिभिजनमा घटुवा हुनेछ । लिग सञ्चालनको लागि कुल ६ करोड ३० लाख खर्च लाग्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । सहभागी सबै क्लबलाई एन्फाले तयारीको लागि २०–२० लाख प्रदान गरिएको छ ।

लिगको विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचाँैले ७ लाख र छैटौँ स्थानमा रहने टोलीले ५ लाख नगद प्राप्त गर्नेछन् । म्याच मनिका रूपमा हरेक खेलका विजेता टोलीले ५० हजार प्राप्त गर्नेछन् । खेल बराबरीमा रोकिएमा १५–१५ हजार प्रदान गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकीपर र प्रशिक्षकले १ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले १ लाख पाउनेछ ।


Views: 106