7th August | 2020 | Friday | 9:36:47 PM

सागको तयारी अन्तिम चरणमा

रासस   POSTED ON : मंसिर १३, २०७६ (१०:५८ AM)

सागको तयारी अन्तिम चरणमा

काठमाडौं (रासस) । सरकारले १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिता (साग)को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार(विश्वकर्मा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले बिहीबार छुट्टाछुट्टै कार्यक्रमकाबीच सागको तयारी पूरा अन्तिम चरणमा रहेको जनाएका हुन् ।

काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रंगशालामा एक विशेष समारोहबीच उद्घाटन गर्नेछिन् ।

नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरवमाथि उठाउने हिसाबले प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य तुल्याउन कुनै कसर बाँकी नराख्ने युवा तथा खेलकुदमन्त्री विश्वकर्माले बताए ।

रिपोर्टस क्लबमा बिहीबार आयोजित साक्षात्कारमा उनले करिब सवा तीन घण्टाको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने जानकारी दिए । उद्घाटन समारोहमा १५ हजारभन्दा बढी दर्शकको सहभागिता रहने उनको भनाइ थियो ।

प्रतियोगितामा भाग लिन भारत, बंगलादेश, पाकिस्तान, माल्द्भ्सि, भुटान, श्रीलंकाका करिब पाँच हजार संख्यामा खेलाडी, प्रशिक्षक र अफिसियल कर्मचारी आउने क्रम सुरु भइसकेको राखेपले जनाएको छ । उनीहरूको बसोवासका लागि राजधानीमा मात्रै सयको संख्यामा होटल बुकिङ भइसकेको तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले जानकारी दिए । 

सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी खट्ने सुरक्षा समितिका संयोजक प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनाए । यस्तै, ५ सय स्वयंसेवकलाई प्रशिक्षण दिइसकेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३औं शृंखलासम्म आइपुग्दा नेपालले यसअघि दुईवटा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । 

मन्त्री विश्वकर्माले भने, ‘साग खेलकुद प्रतियोगिता हाम्रा लागि आफैँमा महŒवपूर्ण उत्साहको पर्व हो, प्रतियोगितालाई भव्यरूपमा सफल तुल्याउन सबैको साथ सहयोगका लागि अपिल गर्दछांै ।’

प्रतियोगिता भव्यरूपमा आयोजना गर्न दशरथ रंगशलाको पुनः निर्माण काम पूरा भएको छ । बिहीबार रातिसम्म दशरथ रंगशालाको सम्पूर्ण काम सकिने र फिनिसिङ तथा सरसरफाइको काममात्रै बाँकी रहने सदस्यसचिव सिलवालले बताए ।

पोखराको रंगशालाको काम पनि अन्तिमरूपमा पुगेको छ । प्रतियोगितामा समावेश २६ खेलमध्ये महिला फुटबल, ब्याडिमण्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पोखरामा हुनेछ । ऐतिहासिक नगरी जनकपुरमा भने कुस्ती हुने छ । नेपालले प्रतियोगितामा भाग लिने १९ विधाका खेलाडीलाई विदेशमा प्रशिक्षणमा पठाएको थियो भने सात खेल विधाका प्रशिक्षकलाई नेपालमा बोलाएर खेलाडीलाई प्रशिक्षित तुल्याइएको परिषद्का सदस्य सचिव रमेश सिलवालले बताए ।

देशभर सागसम्बन्धी प्रतियोगिताको प्रचारप्रसार र खेलकुदको माहोल बनाउने क्रममा मुलुकका सातै प्रदेशमा यसअघि नै १३आँै सागको ओलम्पिक टर्च पु¥याइसकिएको छ । कीर्तिमानी खेलाडी बैकुण्ठ मानन्धर, दीपक विष्ट, राजेन्द्र भण्डारी, सीता राई, संगीना वैद्य, नयना शाक्य, जीतबहादुर केसी, सविता राजभण्डारी, विधान लामालगायतका खेलाडीहरूले ओलम्पिक मार्चलाई देश भ्रमणमा लगेका छन् ।

सागका भलिबल खेलहरू बुधबारबाट सुरुवात भइसकेको छ । यस प्रतियोगितामा सातै देशका खेलाडीले भाग लिएको एउटै विधा भनेको ब्याड्मिण्टन हो । सरकारले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई प्रदान गर्दै आएको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गर्ने यसअघि नै घोषणा गरिसकेको छ । १३आँै सागका लागि ३१७ स्वर्ण पदक, सोही संख्यामा रजत र ४८१ वटा कांस्यपदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताअन्तर्गत सबैभन्दा बढी प्रतिस्पर्धा पौडी विधामा ३८ वटा स्वर्ण पदक प्रदान गरिने छ । 

प्रतियोगितामा ५९४ खेलाडीसहित ७८० जनाको नेपाली टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुनेछ । दक्षिण एसियाली मुलुकसहित विश्वका १५ भन्दाबढी मुलुकबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ । 


Views: 115

सम्बन्धित सामग्री: