30th September | 2020 | Wednesday | 3:39:00 AM

मछिन्द्रको जित, मनाङको बराबरी

हिमालय टाइम्स   POSTED ON : पुष १५, २०७६ (११:०२ AM)

मछिन्द्रको जित, मनाङको बराबरी

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेलमैदानमा सोमबार भएको खेलमा मच्छिन्द्र एनआरटीलाई १–० गोल अन्तरले पराजित गरेको हो । मच्छिन्द्रको जीतमा विदेशी खेलाडी एडिलाजा सोमिडेले निर्णायक गोल गरे ।

उनले खेलको ९०औँ मिनेटमा विजय धिमालको पासमा हेड गोल गरेका थिए । मच्छिन्द्रले चार खेलमा ९ अंक जोडेको छ । ४ खेलमा ४ अंक जोडेको एनआरटी लिगको छैटौं स्थानमा रहेको छ । लिगमा एनआरटीको यो दोस्रो हार हो ।

खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको क्रस गोल हुने अवस्थामा पुगेको थियो । तर, एनआरटीका गोलकिपर अजित प्रजापतिले डाइभ हान्दै गोल हुनबाट जोगाए । ३५ औं मिनेटमा मछिन्द्र अग्रता लिन चुक्यो । डिबक्सको ठिक बाहिरबाट देवेन्द्र तामाङको फ्रिकिक क्रसबारमा लाग्दै फर्किएको थियो ।

दोस्रो हाफ सुरुवातमै रञ्जित धिमालको क्रसमा अनमार्क रहेका अभिषेक रिजाल गोल गर्न चुके । डिबक्स भित्रबाट उनले पोष्टबाहिर प्रहार गरे । खेलको ५२ औं मिनेटमा एडिलाजाको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले ३ अंक पाउँदा खुसी लागेको बताए । ‘पक्कै पनि ३ अंक पाउँदा खुसी छु । हामीले अवसर पाएर पनि गोल गर्न सकेनौ । अन्तिममा गोल हुँदा सहज भयो,’ प्रवेशले भने । एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले जित्ने लक्ष्य भए पनि खेल्न नसकेको बताए । ‘खेल राम्रो भयो । जित्ने लक्ष्य थियो । खेल्न सकेनौं सकेनौं,’ उनले भने ।

यस्तै सोमबार नै भएको अर्को खेलमा साबिक विजेता मनाङ मस्र्याङ्दी क्लब फ्रेण्ड्स क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङले अंक बाडेको हो ।

खेलको ११ औं मिनेटमा रञ्जन विष्टले हेड गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । उनले जगजित श्रेष्ठको कर्नरमा गोल गरेका थिए । तर, दोस्रो हाफमा फ्रेण्ड्स खेलमा फर्कियो । भारतीय खेलाडी उत्तम राईले ६३ औं मिनेटमा गोल गर्दै फ्रेण्ड्सलाई हारबाट जोगाए । फ्रेण्ड्सबाट पहिलो खेल खेलिरहेका उनले रमेश बर्तौलाको क्रसमा हेड गोल गरेका थिए ।

फ्रेण्ड्ससँग बराबरीमा रोकिएपनि मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्र क्लबलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको मनाङले ४ खेलमा १० अंक जोडेको छ । मछिन्द्रको ९ अंक रहेको छ ।

अघिल्ला तीन खेलमा लगातार जित निकालेको मनाङले फ्रेण्ड्ससँग भने अंक बाड्न बाध्य भयो । गत सिजन पनि मनाङ फ्रेण्ड्ससँग १–० ले पराजित भएको थियो । फ्रेण्ड्सले भने पहिलो अंक जोडेको छ । अघिल्ला तीन खेलमा हार व्यहोरेको फ्रेण्ड्सले ४ खेलमा १ अंक जोडेको छ । फ्रेण्ड्स लिगको १३ औं स्थानमा रहेको छ ।

लिगमा ए डिभिजनका १४ क्लबको सहभागिता रहको छ । गतवर्ष रेलिगेसन सिष्टम नराखेपनि यसवर्ष भने पुछारको एक टोलीको बी डिभिजनमा घटुवा हुनेछ । लिग सञ्चालनको लागि कुल ६ करोड ३० लाख खर्च लाग्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । सहभागी सबै क्लबलाई एन्फाले तयारीको लागि २०–२० लाख प्रदान गरिएको छ ।

लिगका विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौं स्थानमा रहने टोलीले ५ लाख प्राप्त नगद प्राप्त गर्ने छन् । म्याच मनिका रूपमा हरेक खेलको विजेता टोलीले ५० हजार प्राप्त छ । खेल बराबरीमा रोकिएमा १५–१५ हजार प्रदान गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकिपर र प्रशिक्षकले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले १ लाख पाउने छ ।


Views: 244