10th August | 2020 | Monday | 5:32:22 PM

७०० गोलको कोशेढुंगा

एजेन्सी   POSTED ON : असार १८, २०७७ (९:३५ AM)

७०० गोलको कोशेढुंगा

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो फुटबल करिअरको ७०० औंं गोल पूरा गर्नुभएको छ ।

स्पेनिस ला लिगा फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा एट्लेटिको मड्रिडविरुद्ध पेनाल्टी गोल गर्दै मेस्सीले सात सय गोलको कोशेढुंगा पार गर्नुभयो । 

ला लिगाको इतिहासकै सर्वाधिक गोलकर्ता मेस्सीले पोस्टको दायाँतर्फको तल्लो भागमा पेनाल्टी प्रहार गर्दै सात सय गोल पूरा गर्नुभयो । मेस्सीको गोलसँगै बार्सिलोनाले २–१ को अग्रता लिएको थियो तर पछि एट्लेटिकोले गोल थप्दै खेल २–२ को बराबरीमा टुंग्यायो । यो बराबरीसँगै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा यथावत छ । शीर्ष स्थानको रियल मड्रिड ऊभन्दा एक अंक अघि छ भने एक खेल कम खेलेको छ ।

बार्सिलोनाका लागि मात्रै मेस्सीले ७२४ खेल खेल्दै ६३० गोल गर्नुभएको छ । ६०० गोल पूरा गरेको १४ महिनापछि मेस्सीले थप सय गोल गर्नुभएको हो । २०१९ को मेमा लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको सेमिफाइनलमा फ्री–किक गोल गर्दै मेस्सीले ६०० गोल पूरा गर्नुभएको थियो ।

६ चोटीका बालोन डी ओर विजेता मेसीले ६३० गोल बार्सिलोनाका लागि र ७० गोल अर्जेन्टिनाका लागि गरिसक्नुभएको छ । बार्सिलोनाका प्रशिक्षक क्युके सेटिन्सले आफ्ना कप्तान मेस्सीको प्रशंसा गर्नुभयो ।

‘मलाई लाग्छ मेस्सीले अर्को सात सय गोल त गर्न सक्दैनन् होला तर उनले निरन्तर गोल भने गर्दै जानेछन्,’ सेटिन्सले भन्नुभयो, ‘उनीजस्ता खेलाडीहरूको कुनै सीमा हुँदैन । उनी जति गोल पनि गर्न सक्छन् ।’

योसँगै विश्वमा ७ सय गोल गर्ने खेलाडीहरूको सूचीमा मेस्सी सातौं स्थानमा पग्नुभएको छ । चेक अष्ट्रियाका जोसे बिकनले करिअरमा सबैभन्दा बढी ८०५ गोल गर्नुभएको छ । उहाँलाई ब्राजिलका लिजेन्ड रोमारियोले ७७२ गोलसहित पछ्याउनुभएको छ । तेस्रोमा ब्राजिलकै पेले हुनुहुन्छ । पेलेले करिअरमा ७६७ गोल गर्नुभएको छ ।

यस्तै, हंगेरिका फेरिन्स पुस्कासले ७४६, जर्मनीका ग्रिड मुलरले ७३५ गोल गर्नुभएको छ । वर्तमान फुटबलमा मेस्सीका सबैभन्दा ठूला प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो यो सूचीको छैटौं नम्बरमा हुनुहुन्छ । रोनाल्डोले ७२६ गोल गर्नुभएको छ । उहाँले २०२० को युरो क्वालिफायरमा आफ्नो ७ सय गोल पूरा गर्नुभएको थियो ।

सात सयको यात्रा

मेस्सीले पछिल्ला ११ वर्षमा आफ्नो देश र क्लबका लागि मिलाएर न्यूनतम ४० गोलको आकँडा पूरा गर्नुभएको छ । पछिल्ला १० मध्ये ९ वर्ष त उनले हरेक वर्ष ५० भन्दा बढी गोल गर्नुभएको छ । २०२० मा तीन महिना कोरोना भाइरसको महामारीका कारण फुटबल नहुन सके पनि मेस्सीले ११ गोल गरिसक्नु भएको छ ।

सन् २००५ मा बार्सिलोनाबाट डेब्यु गर्नुभएका मेस्सीले सो वर्ष जम्मा ३ गोल गर्नुभएको थियो । त्यसपछि उहाँको ग्राफ उकालो लाग्दै गयो । अर्को वर्ष १२ गोल गर्नुभएको मेस्सीले २००७ मा ३१ गोल गर्नुभयो । २०११ मा मेस्सीले करिअरकै सबैभन्दा बढी ९१ गोल गर्नुभएको थियोे । त्यसअघि २०१० मा ५९ र २००९ मा उहाँले ६० गोल गर्नुभयो ।

२०१४ पछिका ६ वर्ष पनि मेस्सीले ५० भन्दा माथि गोल गर्नुभयो । २०१४ मा ५८ गोल गर्नुभएको मेस्सीले २०१९ मा ५० गोल गर्नुभएको थियो । 

अधिकांश गोल बायाँ खुट्टाबाट

मेस्सीले आफ्ना अधिकांश गोल बायाँ खुट्टाले गर्नुभएको छ । ७ सय गोलमा ५८२ गोल उहाँले बायाँ खुट्टाले गर्नुभएको छ भने ९२ गोल दायाँ खुट्टाले गर्नुभएको छ । उहाँले ७ सयमध्ये २४ गोल मात्र हेडमार्फत गर्नुभएको छ ।

मेस्सीले ५२ गोल सिधै फ्री–किकमार्फत गर्नुभएको छ भने ९० गोल पेनाल्टीमार्फत गर्नुभएको छ । ७ सय गोलमा ५८० गोल उहाँले डी–बक्स भित्रबाट र १२० गोल डी–बक्स बाहिरबाट गर्नुभएको छ ।

७ सय बढी गोल गर्ने खेलाडीहरू

चेक अष्ट्रियाका जोसे बिकन – ८०५ गोल

ब्राजिलका रोमारियो – ७७२ गोल

ब्राजिलका पेले – ७६७ गोल

हंगेरिका फेरिन्स पुस्कास – ७४६

जर्मनीका ग्रिड मुलर – ७३५ गोल

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो – ७२६ गोल

अर्जेन्टिनाका लियोनल मेस्सी – ७०० गोल


Views: 136

सम्बन्धित सामग्री: