10th August | 2020 | Monday | 5:16:07 PM

४३औं प्रयासमा सफल

एजेन्सी   POSTED ON : असार २२, २०७७ (१२:४२ PM)

४३औं प्रयासमा सफल

टुरिन । युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो ४३औं प्रयासमा फ्री–किकमार्फत गोल गर्न सफल हुनुभएको छ । शनिबार राति भएको खेलमा टोरिनोलाई पराजित गर्दा झण्डै युभेन्ट्समा दुई सिजनपछि फ्री–किकमार्फत गोल गर्नुभएको हो । रोनाल्डोको फ्री–किकसँगै युभेन्ट्सले टोरिनोलाई ४–१ अन्तरले पराजित गरेको छ ।

क्लब लेभलमा रोनाल्डोको यो ४६औं फ्री–किक गोल हो । उहाँले रियल मड्रिडमा ३२ तथा म्यानचेस्टर युनाइटेडमा १३ फ्री–किक गोल गर्नुभएको छ । तर गत सिजनदेखि यूभेन्ट्ससँग आबद्ध भए पनि उहाँले ४२ फ्री–किक प्रहार गरिसक्दा गोल गर्नसक्नु भएको थिएन ।

सफल फ्रिकिकसँगै रोनाल्डो १९६१ पछि इटालियन सिरि एको एउटै सिजनमा २५ गोल गर्ने पहिलो खेलाडीसमेत बन्नुभयो । त्यसबेला ओमर सिभारीले एकै सिजनमा २५ गोल गर्नुभएको थियो । खेलपछि रोनाल्डोले धेरैपछि यस गोलले राहत दिएको बताउनुभएको छ ।

‘आफ्नो आत्मविश्वास फर्काउन पनि मैले फ्री–किक गोल गर्नुपर्ने थियो,’ उहाँले भन्नुभयो, ‘लामो प्रतीक्षापछि सफलता पाउनुमा खुशी नै लाग्छ । तर, मेरा लागि कसले गोल ग¥योभन्दा पनि टिमले जित्यो भन्ने कुराले ठूलो अर्थ राख्छ । यो गाह्रो गेम रहेको कुरा हामीलाई थाहा थियो । तर, हामीले कडा मिहिनेत गरौं र जित्यौं । हाम्रो जितसँगै दोस्रो स्थानको लाजियोमाथि दबाब बढेको छ ।’

उहाँले सबै खेलाडीहरू राम्रो लयमा रहेको र आगामी मिलानविरुद्धको खेलमा पनि यही प्रदर्शनलाई निरन्तरता दिने बताउनुभयो । उक्त खेल पनि आफूहरूका लागि प्रतिस्पर्धा हुने उहाँको भनाइ थियो ।

प्रशिक्षक माउरिजियो सर्रीले पनि रोनाल्डोले लामो समयपछि फ्री–किकमार्फत गोल गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘इमानदारीसाथ भन्नुपर्दा फ्री–किकमा लामो समय गोल नभएपनि त्यसले रोनाल्डोलाई खासै असर त पुर्याएको थिएन तर उनको आत्मविश्वास फर्किएको छ । उनी म कहाँ आए र अन्त्यमा सफल भए भने । उनी स्टार खेलाडी हुन मिहिनेत गर्न कहिलै छाड्दैनन ।’

यो खेल गोलरक्षक गियानलुंगी बुफोनका लागि पनि कीर्तिमानी रह्यो । सिरि एमा उहाँ सबैभन्दा बढी खेल (६४८) खेल्ने खेलाडी बन्नुभयो । उहाँले यसअघि सिरिएमा सबैभन्दा बढी खेल खेल्ने पाउलो माल्दानीको नाममा रहेको कीर्तिमान भंग गर्नुभएको हो ।

कहिलेकाहीँ मात्रै मौका पाउने ४२ वर्षीय बुफोनले गत डिसेम्बर देखि यो कीर्तिमान तोड्ने मौका पर्खिरहनु भएको थियो । युरोपका शीर्ष ५ लिगमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि बुफोन हुनुहुन्छ । उहाँपछि हाल वेष्टब्रमबाट खेलिरहेका गेरार्थ बेरीले ६५३ खेल खेल्नुभएको छ ।

युभेन्टसको जितमा रोनाल्डोसँगै पाउलो डिबाला, जुआन क्वाडराडोले १–१ गोल गर्नुभएको थियो । खेलको दोस्रो मिनेटमा युभेन्ट्लाई अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले अग्रता दिलाउनुभयो । जुआन क्वाडराडोको पासलाई पेनाल्टी क्षेत्रमा बल नियन्त्रणमा लिएर डिबालाले गरेको प्रहार गोलमा परिणत भएको थियो । उहाँको यो पछिल्लो ५ खेलमा पाँचौँ गोल हो ।

१२औं मिनेटमा रोनाल्डोको प्रहारलाई मिलारेम जानिकले ब्लक गरिदिएका थिए । यस्तै, १८ औं मिनेटमा पुनः रोनाल्डोको प्रहारलाई टोरिनोका गोलरक्षक साल्भाटोरे सिरिगुले उत्कृष्ट बचाउ गरे । उक्त रिबाउण्डमै रोनाल्डो दिएको पासमा बर्नार्डेस्कीको बाइसाइकल किकको प्रहार पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।

२९ औं मिनेटमा जोन क्वाडराडोले युभेन्टसको अग्रता दोब्बर पारे । रोनाल्डोले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई क्वाडराडोले सदुपयोग गरेका हुन् । लगत्तै टोरिनोका सिमानो भर्डिले गरेको प्रहारलाई बुफोनले जोगाउनुभयो ।

पहिलो हाफको इन्ज्युरी समयमा म्याथिस डी लिग्टले पेनाल्टी क्षेत्रभित्र हृयान्डबल गरेपछि टोरिनोले पेनाल्टी पायो । उक्त पेनाल्टीलाई परिणत गर्दै टोरिनोका कप्तान आन्द्रिए बेलोट्टीले पहिलो हाफमा खेललाई २–१ को स्थितिमा ल्याउनुभयो ।

दोस्रो हाफको ६१ औं मिनेटमा अन्ततः रोनाल्डोको लामो पखाई अन्त्य भएको थियो । रोनाल्डोले फ्री–किकमा सिधै गोल गर्दै युभेन्टसलाई पुनः २ गोलको अग्रता दिलाउनु भएको थियो । ड्यानिलोको पेनाल्टी क्षेत्रबाहिरको प्रहार ओला ऐनाको हातमा लागेपछि रेफ्रीले फ्री–किक दिनुभएको थियो । झन्डै २५ यार्ड टाढाबाट रोनाल्डोले फ्रिकिकलाई पोस्टको माथिल्लो भागबाट रोनाल्डोले गोलमा परिणत गर्नुभएको थियो ।

८७ औं मिनेटमा डग्लस कोस्टाको क्रसमा कोफी जिजीले आत्मघाती गोल गरे । कोस्टाले दिएको लो क्रसलाई क्लियर गर्ने जिजिको प्रयास गोलमा परिणत भएको थियो ।

यस जितसँगै युभेन्टसले अंक तालिकाको शीर्षस्थानमा ७ अंकको अग्रता लिएको छ । युभेन्टसको ३० खेलमा ७५ अंक जोडेको छ । दोस्रो स्थानको लाजियोले २९ खेलमा ६८ अंक बनाएको छ ।


Views: 104

सम्बन्धित सामग्री: