15th August | 2020 | Saturday | 7:48:42 AM

सन्दीपको कोरोना परीक्षण

हिमालय टाइम्स   POSTED ON : श्रावण १४, २०७७ (१२:३८ AM)

सन्दीपको कोरोना परीक्षण

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने तयारीमा रहनुभएका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले कोरोना भाइरसको परीक्षण गराउनुभएको छ । सन्दीपले मंगलबार ललितपुर सानेपाको स्टार हस्पिटलमा परीक्षणका लागि स्वाब दिएको उहाँका व्यवस्थापक रमन शिवाकोटीले बताउनुभयो । उहाँको रिपोर्ट बुधबारसम्म आउने जनाइएको छ ।

अगष्ट १९ देखि वेष्टइण्डिजको ट्रिनिडाड एण्ड टोबागोमा हुने सिपिएल २०२० मा सन्दीपले जमाइका तल्लावाहजबाट खेल्दै हुनुहुन्छ । तर, नेपालमा हवाई उडान नखुलेका कारण सन्दीप जान पाउने अनिश्चित थियो । यहीबीच उहाँले विभिन्न निकायसँग जाने व्यवस्थापन मिलाइदिन आग्रह गर्नुभएको थियो । तर, कोरोना परीक्षण गराएपछि सन्दीप खेल्न जाने निश्चित जस्तै भएको छ । मंगलबार बेलुकासम्म फ्लाइटबारे निर्णय हुने सन्दीपका व्यवस्थापक शिवाकोटीले बताउनुभयो ।

सन्दीप यस यामको सिपिएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसक्नुभएको छ । उहाँलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (रु एक करोड ५६ लाख) मा अनुबन्ध गरेको हो । उहाँ उक्त टिमको मार्की खेलाडी हुनुहुन्छ । दुई वर्ष अघिदेखि विदेशी फ्रेन्चाइजी क्रिकेट खेल्दै आउनुभएका सन्दीपले यसपटक पाउने पारिश्रमिक एक प्रतियोगिता खेलेबापत पाउने आजसम्मकै उच्च हो ।

सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्नेछ । सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सिपिएलमा कुल ३३ खेल हुने छन् । कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइनेछन् ।

सन्दीप तेस्रो पटक सिपिएल खेल्ने तयारीमा हुनुहुन्छ । उहाँले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खल्नुभएको थियो । त्यसका लागि उहाँलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । उहाँले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिनुभएको थियो । यस्तै, दोस्रो पटक सिपिएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्नुभएको थियो । उहाँले ६ खेलमा आठ विकेट लिनुभएको थियो । सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गर्नुभएको थियो । 


Views: 180