26th September | 2020 | Saturday | 8:42:50 PM

अन्तर्राष्ट्रिय गोलमा रोनाल्डोको शतक

एजेन्सी   POSTED ON : भदौ २५, २०७७ (१२:४१ AM)

अन्तर्राष्ट्रिय गोलमा रोनाल्डोको शतक

लिस्वेन । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सय अन्तर्राष्ट्रिय गोल पूरा गर्ने पहिलो युरोपियन खेलाडी बन्नुभएको छ । नेसन्स लिगअन्तर्गत सोमबार राति भएको खेलमा स्वीडेनविरुद्ध दुई गोल गर्दै उहाँले उक्त कीर्तिमान रच्नुभएको हो ।

रोनाल्डोको दोहोरो गोल मद्दतमा पोर्चुगलले स्विडेनलाई २–० ले पराजित गरेको थियो । ४५औं मिनेटमा २५ यार्ड टाढाबाट प्रहार गरेको फ्री किकमार्फत गोल गर्दै उहाँले आफ्नो सय गोल पूरा गर्नुभएको हो ।

यस्तै, ७२ औं मिनेटमा दोस्रो गोल थप्दै रोनाल्डोले आफ्नो गोल संख्या १०१ पु¥याउनुभयो । युरोपियन फुटबलमा सय अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो खेलाडी बनेपछि विश्व फुटबलमा भने इरानका अली दाई सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुनुहुन्छ ।

अलीले १९९३ देखि २००६ सम्म इरानको जर्सीमा खेल्दै १०९ गोल गर्नुभएको छ । यस्तै, तेस्रो सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीमा भारतका सुनिल क्षेत्री हुनुहुन्छ । उहाँले ७२ गोल गर्नुभएको छ भने तेस्रो सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता अर्जेन्टिनाका लियोनल मेस्सीले ७० गोल गर्नुभएको छ ।

स्विडेनसँगको जितसँगै साबिक विजेता पोर्चुगलले नेसन्स कपमा लगातार दुई जित हात पारेको छ । ४४औं मिनेटमा स्विडेनका गुस्ताभ सेभिन्सले दोहोरो पहेलो कार्ड पाउँदै मैदान छाडेपछि पोर्चुगललाई अझै सहज बनेको थियो ।

खेलमा ब्रुनो फर्नान्डेजले सुन्दर मौका पाए पनि उहाँको प्रहार पोस्टमा लाग्दै फर्किएको थियो । यस्तै, पोर्चुगलका लागि १६५औं खेल खेल्नुभएका रोनाल्डोको प्रहारलाई पनि स्विडेनका गोलरक्षकले बचाउनुभएको थियो ।

३५ वर्षे रोनाल्डोले आफ्ना १०१ गोलमध्ये ४९ गोल पछिल्लो पाँच वर्षमा पूरा गर्नुभएको हो । यस अवधिमा उहाँले ४७ खेलमा करिअरका आधा गोल गर्नुभएको हो ।

सन् २००४ को युरो कपमा ग्रिसविरुद्ध ९३औं मिनेटमा रोनाल्डोले करिअरको पहिलो गोल गर्नुभएको थियो । त्यसबेला उहाँ १९ वर्षको मात्रै हुनुहुन्थ्यो । त्यसको १६ वर्षपछि उहाँ सय गोल पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बन्नुभएको हो । फिफा विश्वकप २०२२ को छनोट तथा विश्वकपका खेलहरू आउन लागेकाले उहाँसँग अलीको कीर्तिमान भंग गर्ने अवसर पनि छ ।

पोर्चुगलका मेरुदण्ड

रोनाल्डोले आफ्नो करिअरमा पोर्चुगललाई युरो कप र युएफ्ए नेसन्स लिगको उपाधि दिलाइसक्नु भएको छ । २०१६ र युरो कप र अघिल्लो वर्ष नेसन्स लिग पोर्चुगलले रोनाल्डोको कप्तानीमा नै जितेको थियो ।

पोर्चुगलले हालसम्म सातपल्ट फुटबल विश्वकपमा सहभागिता जनाएको छ । जसमध्ये रोनाल्डोको युगमा मात्रै चारचोटि विश्वकप खेलेको छ । २००६ जर्मनी विश्वकपमा पोर्चुगल चौथो बनेको थियो । २०१० र २०१८ को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको पोर्चुगल २०१० मा समूह चरणबाटै बाहिरिएको थियो । चारवटै विश्वकपमा गोल गर्ने उहाँ एक्लो पोर्चुगिज खेलाडी हुनुहुन्छ । उहाँ पाँच पटक फिफा वर्ष खेलाडीसमेत घोषित भइसक्नुभएको छ ।

सय गोलको चिरफार

१. रोनाल्डोले घरेलु मैदानमा ४७, अवे मैदानमा ३९, तटस्थ मैदानमा १५ गोल गर्नुभएको छ ।

२. १६५ खेलमध्ये ६६ खेलमा रोनाल्डोले गोल गर्दा पोर्चुगलले ५५ खेल जितेको छ । ६ खेल हारेको छ भने पाँच खेलमा बराबरीको नतिजा आएको छ ।

३. रोनाल्डोले नौ हृयाट्रिक गर्नुभएको छ । दुई पटक चार÷चार गोल, १५ पटक दोहोरो गोल र ४२ पटक एक÷एक गोल गर्नुभएको छ ।

४. लिथुयानिया र स्विडेनविरुद्ध उहाँले सबैभन्दा बढी नौ÷नौ गोल गर्नुभएको छ ।

५. उहाँले पहिलो हाफमा ४१ र दोस्रो हाफमा ६० गोल गर्नुभएको छ ।

६. रोनाल्डोले दायाँ खुट्टाले ५५, बायाँ खुट्टाले २२ र हेडमार्फत २४ गोल गर्नुभएको हो ।

७. उहाँ युरोपियन च्याम्पियनसिप (४०), फिफा विश्वकप छनोट (३०) को पनि सर्वाधिक गोलकर्ता हुनुहुन्छ ।

युरोपका १० सर्वाधिक गोल स्कोरर

खेलाडी, गोल, खेल

क्रिस्टियानो रोनाल्डो १०१ १६५

फेरिन्च पुस्कास ८४ ८९ 

सान्दोर कोक्सिस ७५ ६८

मिरोस्लाभ क्लोसी ७१ १३७

गिर्ड मुलर ६८ ६२

रोब्बी केनाी ६८ १४६

जाल्टन इब्राहिमोभिच ६२ ११६

रोबर्ट लेवान्डोस्की ६१ ११२

इमरी स्कोलेसन ५९ ६८

डेभिड भिल्ला ५९ ९८ 


Views: 54