26th September | 2020 | Saturday | 9:46:51 PM

कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका फुटबलर

  POSTED ON : भदौ २९, २०७७ (९:०२ AM)

कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका फुटबलर

काठमाडौं । कोरोना भाइरसको महामारी सुरु हुनुभन्दा अघि मैदानमा व्यस्त रहनुहुने नेपाली २३ वर्ष मुनिका फुटबलर विवेक बस्नेतको दैनिकी आजभोलि भने फेरिएको छ । त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्नुहुने उहाँ आजभोलि कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिनुहुन्छ ।

देशभर कोरोना संक्रमितको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएपछि त्यसै कार्यका लागि विवेक पनि खटिनुभएको हो । उहाँले वीर अस्पतालमा एक महिनाको कोरोना शव व्यवस्थापनको तालिम लिएसँगै अचेल शव व्यवस्थापन कार्यमा तल्लिन हुनुहुन्छ ।

अन्तिम पटक उहाँले आर्मीको टोलीबाट इलाममा भएको माईभ्याली गोल्डकप खेल्नुभएको थियो । त्यसपछि कोरोना महामारी सुरु भएपछि उहाँ शव व्यवस्थापनको कार्यमा व्यस्त हुनुहुन्छ । उहाँ वीर अस्पतालमा अघिल्लो साता संक्रमणबाट ज्यान गुमाउनुभएका पर्साका एक वृद्धको शव व्यवस्थापनमा खटिनुभएको थियो ।

उहाँले अहिलेसम्म कोरोनाबाट मृत्यु भएका सात जनाको शवलाई व्यवस्थापन गरिसक्नुभएको छ । पिपिई लगाएर प्लास्टिकमा बेरिएको शवलाई विद्युतीय शव गृहसम्म पु¥याउने काम गर्दा कुनै डर नलाग्ने उहाँको अनुभव छ ।

‘हामीलाई एक महिनासम्म यसैसम्बन्धी तालिम दिइएको थियो । साथमा सुरक्षाका सामग्री भएकाले पनि खासै डर लागेन,’ उहाँ भन्नुहुन्छ, ‘खेलाडी भएर पनि अप्ठेरो बेला देश, सामाजका लागि काम गर्ने अवसर पाएकोमा गर्व लागेको थियो ।’

संक्रमितहरूको शव व्यवस्थापनमा खटिनुभएकोमा उहाँको क्लब त्रिभुवन आर्मी क्लबले पनि उहाँको प्रशंसा गरेको छ । आर्मीले सामाजिक सञ्जालमार्फत विवेकको काम अतुलनीय रहेको र फुटबल बाहेकको ड्युटी गम्भीरतापूर्वक निभाएको भन्दै सरहाना गरेको छ ।

विवेकले सन् २०१९ मा युएईको दुबईमा भएको २३ वर्ष मुनिको एशियन च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । उक्त प्रतियोगितामा भएका तीन खेलमध्ये विवेकले बहराइनविरुद्धको खेल खेल्नुभएको थियो । यस्तै, उहाँ विगत ६ वर्षदेखि निरन्तर आर्मी क्लबबाट घरेलु फुटबल खेल्दै आउनुभएको छ ।

एन्फा एकाडेमीबाट फुटबल खेल्न सुरु गर्नुभएका उहाँ २०७१ सालमा आर्मीमा भर्ना हुनुभएको थियो । सुरुमा गणभित्रै हुने फुटबल खेलमा रमाउँदै आउनुभएका उहाँ अर्को वर्षदेखि आर्मीको टोलीबाट खेल्दै आउनुभएको हो । शव व्यवस्थानमा खटिएकाले उहाँ छुट्टै आर्मीको क्वारेन्टिनमा बसिरहनुभएको छ । त्यसैले परिवारबाट पनि टाढा हुनुहुन्छ । आफू सुरक्षित भएर उक्त काममा खटिने भएकाले चिन्तित नहुन भनी घरमा सम्झाएको उहाँ बताउनुहुन्छ ।


Views: 47