22nd January | 2021 | Friday | 1:14:47 PM

सन्दीपको लगातार विकेट

  POSTED ON : पुष २५, २०७७ (८:३३ AM)

सन्दीपको लगातार विकेट

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा लगातार विकेट हात पार्नुभएको छ । तीनवटा खेल खेल्नु भएका सन्दीपले तीनवटै खेलमा विकेट हात पार्नुभएको हो ।

होबार्ट हुरिकेन्सबाट लिग खेलिरहनुभएको उहाँले बिहीबार एक विकेट हात पार्नुभयो । योसँगै उहाँले तीन खेलमा चार विकेट लिइसक्नु भएको छ । उहाँले पहिलो खेलमा दुई तथा दोस्रो खेलमा एक विकेट लिनुभएको थियो । सन्दीपले विकेट लिनुभएपछि उहाँको टोली होबार्ट भने सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको थियो । व्याट्सम्यानहरू नचल्दा होबार्टले हार व्यहोरेको हो । पर्थमा टस हारेर व्याटिङ गरेको सिड्नीले २० ओभरमा पाँच विकेट गुमाउँदै १६७ रन बनायो । १६८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा आठ विकेट गुमाउँदै १२८ रनमात्र बनाउनसक्यो ।

होबार्टका लागि कप्तान पिटर ह्यान्डस्कोम्बले ३०, बेन म्याकडरमोटले २२, डार्सी सर्टले १९, डेविड मलानले २० तथा कोलिन इनग्रामले १२ रन बनाउनुभयो । बलिङतर्फ सिड्नी थन्डरका तनवीर, क्रिस ग्रीन र नाथन म्याकएन्ड्र्युले दुई÷दुई विकेट लिनुभयो । यसअघि सिड्नीका लागि व्याटिङ गर्ने क्रममा उस्मान ख्वाजाले ४९, एलेक्स रसले ४४, बेन कटिङले ३१, एलेक्स हेल्सले २१ तथा अर्जुन नायरले १५ रनको योगदान दिनुभयो । बलिङतर्फ होबार्टका लागि डार्सी सर्टले तीन तथा सन्दीप लामिछानेले एक विकेट लिनुभयो ।

लामिछाने खेलको छैटौं ओभरमा बलिङ गर्न आउनुभएको थियो । उहाँले आफ्नो पहिलो ओभरमा ६ रन खर्चिनुभयो । लामिछानेले आफ्नो दोस्रो ओभरमा सिड्नीका कप्तान कलुम फर्गुसनको विकेट लिनुभयो । सो ओभरमा उहाँले चार रनमात्र दिनुभयो ।

लामिछानेले आफ्नो तेस्रो ओभरमा ६ तथा चौथो ओभरमा सात रन खर्चिनुभयो । लामिछाने आबद्ध होबार्ट हालसम्म नौ खेलमध्ये पाँचमा जित तथा चारमा हारका साथ १९ अंक जोड्दै आठ टोली सम्मिलित लिगको तेस्रो स्थानमा छ । 


Views: 108