15th June | 2021 | Tuesday | 9:12:05 AM

एफसी चितवन एनएसएलबाट बाहिरियो

  POSTED ON : बैशाख २५, २०७८ (९:१७ AM)

एफसी चितवन एनएसएलबाट बाहिरियो

काठमाडौं । आइएमई ग्रुपको स्वामित्वमा रहेको एफसी चितवन पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिने पहिलो टोली बनेको छ । शुक्रबार भएको खेलमा पोखरा थण्डर्ससँग दुई–एक गोल अन्तरले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठ र राफायल रिमगागोले एक–एक गोल गर्नुभयो । चितवनका शिशिर लेखीले एक गोल फर्काउनुभयो पनि त्यो जितका लागि पर्याप्त भएन । दुवै टोलीका लागि प्रतियोगितामा रहिरहन जितको आवश्यकता थियो ।
निर्धारित समयको खेल एक–एकको बराबरीमा सकिएपछि दुवै टोली एक–एक अंक बाँड्दै प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेका थिए । तर, इन्जुरी समयमा पोखराका विदेशी खेलाडी रिमगागोले गोल गर्दै टोलीको उद्धार गर्नुभयो । जितसँगै पोखरा तेस्रो स्थानमा उक्लिँदै प्लेअफको सम्भावना कायमै राखेको छ । यद्यपि उसले अरू टोलीको नतिजामा भर पर्नुपर्नेछ ।
जितपछि पोखरा ६ खेलबाट आठ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित चितवनले पाँच खेलबाट दुई अंक जोड्यो । लिगको अन्तिम खेलमा जित हात पारे पनि चितवनलाई शीर्ष चारमा पुग्न पर्याप्त हुनेछैन ।
पहिलो हाफमा खेल बराबरी भए पनि ७२औं मिनेटमा शिशिर लेखीले दर्शनीय गोल गर्दै चितवनलाई अग्रता दिलाउनुभएको थियो । त्यसको चार मिनेटपछि चितवनका विशाल सुनार सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिनुभयो ।
त्यसपछि दश खेलाडीमा सीमित चितवनमाथि पोखरा हावी देखियो । त्यसबेला प्राप्त फ्रिकिकमा ८६औं मिनेटमा नवयुग श्रेष्ठले सिधै गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याउनुभयो । इन्जुरी समयको थप गरिएको पाँचांै मिनेटमा राफयल रिमगागोले गोल गर्दै पोखरालाई दुई–एकको रोमाञ्चक जित दिलाउनुभएको हो ।
खेलपछि पोखराका कप्तान नवयुग श्रेष्ठले आफूहरुले उत्कृष्ट पुनरागमन गरेको बताउनुभयो । ‘दुवै टोलीका लागि जित्नैपर्ने अवस्था थियो । हामीले कमब्याक राम्रो ग¥यौं । फ्रिकिक किपर भएको बारमा हान्दै गोल भयो । टर्निग प्वाइन्ट त्यही भयो । किपरले रेड कार्ड पाएपछि सजिलो भयो । दुवै टोलीले चान्स पाए । ‘सुरुमा गोल खाँदा दबाब बढ्यो तर हामीले राम्रो कम ब्याक ग¥यौं,’ उहाँले भन्नुभयो ।
खेलको म्यान अफ द म्याच पोखराका रवि पासवान चुनिनुभयो । उहाँले २५ हजार नगद हात पार्नुभयो । चितवनका शिशिर लेखीले उदीयमान खेलाडीको अवार्ड पाउनुभयो । उहाँले १० हजार नगद हात पार्नुभयो ।
नेपाल स्पोटर््स म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगितामा सात शहरका सात टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही एक लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि एक लाख रुपैयाँ हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउनेछन् ।


Views: 87