21st June | 2021 | Monday | 1:16:57 PM

खेल क्षेत्रलाई खोप उपलब्ध गराउन माग

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७८ (७:३५ AM)

खेल क्षेत्रलाई खोप उपलब्ध गराउन माग

नेपाल खेलकुद महासंघले खेल क्षेत्रका लागि कोभिड–१९ को खोप उपलब्ध गराउन माग गरेको छ । महासंघले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई एक पत्र लेख्दै खोप उपलब्ध गराउन माग गरेको हो ।

आजीवन राष्ट्रिय झण्डालाई प्राथमिकतामा राखेर हिड्ने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीहरूको जीवन रक्षाका लागि खोप उपलब्ध गराउन महासंघले माग गरेको हो । महासंघले काठमाडौं उपत्यकामा पाँच हजार तथा प्रदेश र जिल्लामा समेत आवश्यकताअनुसार खोप उपलब्ध गराउन आग्रह गरेको छ ।

‘आजीवन राष्ट्रिय झण्डालाई पहिलो प्राथमिकतामा राखेर हिँड्ने खेलाडी, खेल प्राविधिक तथा समग्र खेलकर्मीहरूको जीवन रक्षाका खातिर यस महासंघले समन्वय तथा सहजीकरण गर्नेगरी परिचयपत्रको आधारमा काठमाडौं उपत्यकामा पाँच हजार तथा प्रदेश र जिल्लामा समेत आवश्यकता अनुसार कोरोनाविरुद्ध दिइने भ्याक्सिन उपलब्ध गराईदिनुहुन विनम्रतापूर्वक आग्रह गर्दछौं,’ संघका अध्यक्ष रमेश पौडेलले पठाएको पत्रमा लेखिएको छ ।

महासंघले खोप अभियानमा सघाउन जिल्ला, स्थानीयपालिका तथा वडातहसम्म केन्द्रित गर्दै प्रत्येक खोप केन्द्रमा दश–दशजना स्वयंसेवक परिचालनको तयारीसमेत जनाएको छ । महासंघले आगामी दुई महिनाभित्र प्रत्येक नागरीकले खोप लगाउन सक्नेगरी व्यवस्था गर्न, खेलाडी, खेल प्राविधिकतथा सम्पूर्ण खेलकर्मीलाई परिचयपत्रको आधारमा प्राथमिकता दिन, खेलक्षेत्रलाई प्राथमिकता दिई राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा तत्काल एउटा खोप केन्द्र स्थापना गर्न माग गरेको छ ।

त्यसबाहेक महासंघले नयाँ अस्पताल सञ्चालनको अनुमति दिंदा अनिवार्य अक्सिजन प्लान्ट राख्नुपर्ने बाध्यकारी व्यवस्था गर्न, सम्पूर्ण सरकारी अस्पताललाई पूर्ण क्षमताअनुसार सञ्चालनमा ल्याउन, लकडाउन खुकुलो पार्दै जाने सन्दर्भमा पिसिआर परीक्षणलाई सहज र फराकिलो बनाउन, सार्वजनिक तथा भिडभाड हुने स्थानमा अनिवार्य माक्स लगाउन बाध्यात्मक व्यवस्था गर्नसमेत माग राखेको छ ।


Views: 65