क्रोएसियाविरुद्ध इंग्ल्याण्डको बदला

एजेन्सी   POSTED ON : असार १, २०७८ (८:०८ AM)

क्रोएसियाविरुद्ध इंग्ल्याण्डको बदला

विश्वकप २०१८ को सेमिफाइनलमा व्यहोरेको हारको बदला लिँदै इंग्ल्याण्डले युरो कपअन्तर्गत आइतबार राति भएको खेलमा क्रोएसियालाई पराजित गरेको छ । युरोकपमा विजयी सुरुवात गर्ने क्रममा इंग्ल्याण्डले क्रोएसियालाई १-० गोलअन्तरले पराजित गरेको हो ।

उपाधिको बलियो दावेदार मानिएको इंग्ल्याण्डका लागि घरेलु मैदान वेम्वली स्टेडियममा रहिम स्ट्रर्लिङले एकमात्रै निर्णायक गोल गर्नुभएको थियो । दोस्रो हाफको ५७औं मिनेटमा रहिमले गोल गर्नुएको थियो । काल्भिन फिलिप्सले दुई खेलाडीलाई बिट गर्दै दिएको पासमा रहिम स्टर्लिङले गोल गर्नुभएको थियो । योसँगै स्टर्लिङको पछिल्लो १७ खेलमा १३औं गोल गर्नुभएको छ । उहाँको नाममा ६१ खेलमा १५ अन्तर्राष्ट्रिय गोल छ ।

त्यसबाहेक दुवै टोलीका पटकपटकका प्रयास सफल भएनन् । जितपछि समूह ‘डी’ मा रहेको इंग्ल्याण्डले तीन अंक जोडेको छ । पराजित क्रोएसिया पुछारमा छ । खेलमा इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिंग्हमले युरोपेली च्याम्पियनसिपमा सबैभन्दा कम उमेरको खेलाडी बन्ने कीर्तिमान राख्नुभएको छ । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएका उहाँले १७ वर्ष ३४९ दिनको उमेरमा खेल्दै कीर्तिमान कायम गर्नुभएको हो । उहाँअघि सन् २०१२ मा नेदरल्याण्डका जेट्रो विलेम्सले १८ वर्ष ७१ दिनको उमेरमा खेल्दै कीर्तिमान बनाउनुभएको थियो ।

बेलिंग्हमसँग अब युरोमा सर्वाधिक कान्छा गोलकर्ता बन्ने अवसर पनि हुनेछ । उक्त कीर्तिमान स्विट्जरल्याण्डका योहान भन्लान्थेनको नाममा छ । उहाँले युरो २००४ मा फ्रान्सविरुद्ध १८ वर्ष १४१ दिनको उमेरमा गोल गर्नुभएको थियो । यस्तै अर्को खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ गोलअन्तरले पराजित गरेको छ । खेलको १८औं मिनेटमा स्टेफान लाइनरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाउनुभएको थियो । त्यसको १० मिनेटपछि नै म्यासेडोनियाले बराबरी गोल फर्काउनुभयो । दोस्रो हाफमा माइकल ग्रेगोरीच र मारको अर्नाउटोभिचले गोल गरेपछि अष्ट्रियाले ३–१ को जित हात पा¥यो ।

अष्ट्रियाले युरोपेली च्याम्पियनसिपको इतिहासमा पहिलो जित दर्ता गर्न सफल रह्यो । तेस्रो पटक युरो खेलिरहेको अष्ट्रियाले डेब्यु गरिरहेको म्यासेडोनियालाई हराउनुअघि दुई जित र चार हारको नतिजा व्यहोरेको थियो । यस जितसँगै अष्ट्रियाले समूह ‘सी’ मा तीन अंक जोडेको छ । यस्तै अर्को खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३-२ गोलअन्तरले पराजित गरेको छ । खेलको ५२औं मिनेटमा कप्तान वाइनाल्डमले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाउनुभएको थियो । त्यसको सात मिनेटपछि वोट वेघष्र्टले नेदरल्याण्ड्सको अग्रता दोब्बर पार्नुभयो ।

७५औं मिनेटमा युक्रेनका लागि रोमन यारेम्चुकले एक गोल फर्काउनुभयो । लगत्तै यारेम्चुकले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याउनुभयो । खेल सकिन पाँच मिनेट बाँकी रहँदा नेदरल्याण्ड्सका लागि डेन्जेल डमफ्रिजले हेडरमार्फत निर्णायक गोल गर्नुभयो । यस जितसँगै नेदरल्याण्ड्सले समूह ‘सी’ मा तनि अंक जोडेको छ । अंक तालिकामा भने टोली अष्ट्रियाभन्दा पछि छ ।


Views: 272

Top