ईपीएलको अन्तर्राष्ट्रिय प्रसारणको अधिकार मारोनलाई

हिमालय टाइम्स   POSTED ON : श्रावण ७, २०७८ (८:४४ AM)

ईपीएलको अन्तर्राष्ट्रिय प्रसारणको अधिकार मारोनलाई

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तर्राष्ट्रिय सेल्स एजेन्टका रूपमा अष्ट्रेलियाको मारोन मिडियासँग सम्झौता भएको छ । सम्झौतासँगै चौथो संस्करणको उक्त प्रतियोगिताको विदेशी देशमा बिक्री गर्ने अधिकारको जिम्मा मारोनले पाएको ईपीएलद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

ईपीएल खेल मारोनले अन्तर्राष्ट्रियस्तरमा प्रत्यक्ष प्रसारण गर्नेछ । मारोनका सह-संस्थापक लारा रिचर्ड्सले एभरेष्ट प्रिमियर लिगसँग सम्झौता गर्न पाउँदा खुसी लागेको बताउनुभयो । त्यस्तै ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले यस किसिमको सम्झौता गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो । चौथो संस्करणको ईपीएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय भएको छ ।

प्रतियोगितामा विभिन्न ६ सहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन् । जसमा साबिक विजेता ललितपुर प्याट्रियट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।

यहीबीच राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामीले प्रतियोगितामा चितवन टाइगर्सको कप्तानी गर्ने हुनुभएको छ । चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै सोमपालले टिमको कप्तानी गर्ने जनाएको हो । अघिल्लो संस्करण सोमपालले काठमाडौं किंग्स इलेभेनबाट खेल्नुभएको थियो ।


Views: 63

Top