यस्तो छ ओलम्पिकमा नेपाली खेलाडीको प्रतिस्पर्धा

हिमालय टाइम्स   POSTED ON : श्रावण ७, २०७८ (८:४८ AM)

यस्तो छ ओलम्पिकमा नेपाली खेलाडीको प्रतिस्पर्धा

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक खेलकुद शुक्रबारदेखि जापानमा आयोजना हुँदैछ । टोकियो ओलम्पिकका लागि नेपालसहित विश्वभरका खेलाडी तथा अफिसियलहरू जापानमा भेला भइरहेका छन् ।

जुलाई २१ देखि नै खेलहरू सुरु हुने भए पनि २३ जुलाईमा मात्रै उद्घाटन समारोह हुनेछ । ८ अगस्टसम्म चल्ने ओलम्पिकका लागि नेपालबाट चार खेलमा पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यसपल्ट पनि कुनै पनि खेलाडीले आफ्नै बलबुतामा छनोट हुन नसकेपछि ओलम्पिक आयोजकले दिने युनिभर्सियालिटी प्लेस र वाइल्ड कार्डमार्फत् सबै खेलाडीले ओलम्पिक खेल्न लागेका हुन् ।

ओलम्पिकले कुनै पनि देश नछुटुन् भनेर यो व्यवस्था गरेको हो । नेपालबाट युनिभस्र्यालिटी प्लेस कोटाअन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यस्तै वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट ओलम्पिकमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । पौडी, सुटिङ र जुडोका खेलाडीहरू जापान पुगिसक्नुभएको छ । एथलेटिक्स टोली २४ जुलाईमा जापान प्रस्थान गर्ने तालिका तय भएको छ ।

टोकियो ओलम्पिक २०२० को उद्घाटन भएको अर्को दिनदेखि नै नेपालका खेलाडीको प्रतिस्पर्धा रहेको छ । उद्घाटनको दोस्रो दिन जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नुहुनेछ । सोनियाले महिला ४८ केजीमुनि प्रतिस्पर्धा गर्नुहुनेछ । उक्त खेल शनिबार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।

यस्तै सुटिङकी कल्पनाले सोही दिन महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नुहुनेछ । उहाँको खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । छनोट चरण पार गरेदेखि अन्तिम चरण साँझ नै हुनेछ ।

२७ जुलाईमा नेपाली पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नुहुनेछ । यो इभेन्ट रातको १०ः१५ बजेपछि सुरु हुनेछ । हिट चरण पार गर्न सकेमा २८ जुलाईमा अर्काे खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरणमा २९ जुनमा प्रतिस्पर्धा गर्ने तालिका रहनेछ ।

२८ जुलाईमा जलपरी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्ने खेलतालिका रहेको छ । उहाँको हिट चरण रातको १०ः१५ बजेपछि सुरु हुनेछ । हिट चरणपछि २९ र ३० जुलाईमा यस इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । यस इभेन्ट्समा गौरिकाको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ ।

३० जुलाईमा एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने खेलतालिका तय भएको छ । खेल दिनको ३ बजेपछि सुरु हुनेछ । यो टोकियो ओलम्पिकमा नेपालका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ । हिट चरण पार गरे जुलाई ३१ मा यस इभेन्ट्सको सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुनेछ ।

गौरिका सिंह दोस्रोपटक तथा एलेक्स, सरस्वती, कल्पना र सोनियाले पहिलोपटक ओलम्पिक खेल्न लाग्नुभएको हो । गौरिकाले यसअघि रियो ओलम्पिक २०१६ मा समेत सहभागिता जनाउनुभएको थियो । त्यसबेला उहाँ ओलम्पिककी सबैभन्दा कान्छी खेलाडीका रूपमा चर्चित बन्नुभएको थियो । यसपटक नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २४ जनाको टोली जापान पुग्दै हुनुहुन्छ ।

ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंहले बोक्नुहुने भएको छ । नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक प्राप्त गर्नुभएको थियो ।

 संक्रमणको चिन्ता

ओलम्पिक आइपुग्दा कोरोना संक्रमणको चिन्ताले पनि सताउन थालेको छ । बुधबारमात्रै ओलम्पिकमा एक खेलाडीसहित थप आठजनालाई एकै दिन कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै ओलम्पिक भिलेजमा रहेका ६ खेलाडीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ओलम्पिकमा सुरक्षाको ध्यान राख्दै कोरोनासम्बन्धी जापानले कडा निर्देशिका जारी गरेको छ ।

 यसैबीच टोकियो ओलम्पिकमा पदक विजेता खेलाडीले आफैंले पदक लगाउनुपर्ने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थोमस बाकले कोरोना महामारीका कारण पदक विजेता खेलाडी स्वयंले मेडल लगाउनुपर्ने बताउनुभएको हो ।

 सञ्चारमाध्यमसँग कुरा गर्दै अध्यक्ष बाकले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न खेलाडी आफैंले पदक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । खेलाडीलाई पदक ट्रेमा दिइनेछ र खेलाडी स्वयंले लगाउनुपर्ने उहाँले बताउनुभयो ।


Views: 62

Top