म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी   POSTED ON : श्रावण ११, २०७८ (६:३१ AM)

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

लण्डन । म्यानचेस्टर युनाइटेडले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा च्याम्पियनसिप क्लब क्वीन्स पार्क रेन्जर्स (क्युपिआर) सँग ४-२ को लज्जास्पद हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा युनाइटेडलाई स्तब्ध पार्न लेण्डन डेकेसले दुई तथा चार्ली अस्टिन र मोसेस ओडुवाजोले समान एक गोल गर्नुभएको थियो । युनाइटेडका जेसे लिंगार्ड र एन्थोनी एलांगाले गोल फर्काउनुभयो ।

तेस्रो मिनेटमै जेसे लिंगार्डको गोलबाट युनाइटेडले अग्रता लिएको थियो । तर सातौं मिनेटमा चार्ली अष्टिनले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । दोस्रो हाफमा आठ मिनेटको अन्तरमा तीन गोल गरेपछि क्युपिआरले खेलमा ४-१को अग्रता लिएको थियो । ५२औं मिनेटमा लेण्डन डेकेस, ५८औं मिनेटमा मोसेस मोसेस ओडुवाजा र ६०औं मिनेटमा लेण्डन डेकेसले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्नुभएको थियो । ७३औं मिनेटमा एन्थोनी एलांगाले गोल फर्काउनुभए पनि त्यसले युनाइटेडलाई जोगाउन सकेन ।

बार्सिलोनाको जित

प्रि-सिजनअन्तर्गत शनिबार राति भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले जिरोनाविरुद्ध ३-१ को जित हात पारेको छ । स्टेडियो योहान क्रुएफ सान्ट जोन डेस्पीमा शनिबार राति भएको खेलमा बार्सिलोनाको जितमा जेरार्ड पिके, रे मानाज र डिपाएले गोल गर्दा जिरोनाका सामु सेइजले एक गोल फर्काउनुभयो ।

खेलको २१औं मिनेटमा जेरार्ड पिकेको गोलमा बार्सिलोनाले अग्रता बनायो । २४औं मिनेटमा रे मानाजले बार्सिलोनाको अग्रता दोब्बर पार्नुभयो । ४२औं मिनेटमा सामु सेइजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-१ को अवस्थमा ल्याउनुभयो । ८५औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई ३-१को सहज जित दिलाउनुभयो ।

म्युनिख र आयाक्सको बराबरी

प्रि-सिजनअन्तर्गतको मैत्रीपूर्ण खेलमा जर्मन क्लब बायर्न म्युनिखले डच क्लब आयाक्ससँग शनिबार राति भएको खेलमा बायर्नले आयाक्ससँग २-२ गोलको बराबरी खेलेको छ । खेलको दशौं मिनेटमा जाकारिया लाब्याडले गोल गर्दै आयाक्सलाई अग्रता दिलाउनुभयो । ४०औं मिनेटमा एरिक म्याक्सिमको गोलबाट म्युनिखले बराबरी गर्‍यो । खेलको ४८औं मिनेटमा तान्गुए नियान्जोले गोल गर्दै बायर्नलाई २-१को अग्रता दिलाउँदा ५०औं मिनेटमा भिक्टर जेन्सेनले बराबरी गोल फर्काउनुभएको थियो ।


Top