टी-२० मा नेपालको वरीयता सुधार

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७८ (६:३९ AM)

टी-२० मा नेपालको वरीयता सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ टी-२० वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको हो ।

नेपालको १९ खेलमा तीन हजार ५५६ प्वाइन्ट र १८७ रेटिङ अंक छ । यसअघि नेपाल रहेको १३ औं स्थानमा आयरल्याण्ड झरेको छ । १३ औं स्थानमा रहेको आयरल्याण्डको २१ खेलमा १७८ रेटिङ अंक छ ।

नेपाल एसोसियटतर्फबाट टि–२० वरीयतामा अग्रस्थानमा छ । नेपालभन्दा अघि ११ औं स्थानमा जिम्बावे र १० औं स्थानमा बंगलादेश छन् । इंग्ल्याण्ड शीर्ष, भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो र पाकिस्तान चौथो स्थानमा छ । अष्ट्रेलिया पाँचौं, दक्षिण अफ्रिका छैटौं, अफगानिस्तान सातौं, वेष्टइण्डिज आठौं र श्रीलंका नवौं स्थानमा छन् । टी-२० आई वरीयतामा नेपालभन्दापछि स्कटल्याण्ड १४ औं, युएई १५ औं, पपुवान्युगिनी १६ र नेदरल्याण्ड १७ औं स्थानमा छ । सर्बिया ८२ औं स्थानमा रहँदै पुछारमा छ ।

नेपाल ओडिआईमा भने १६ औं स्थानमा यथावत छ । नेपालले पछिल्लो पटक गत वैशाखमा घरेलु मैदानमा नेदरल्याण्ड र मलेसियासँग त्रिकोणात्मक सिरिज खेल्दै उपाधि जितेको थियो । पछिल्लो चार महिना कुनै टी-२० आई खेल नखेले पनि नेपाल आयरल्याण्डको हारको कारण सुधार गरेको हो । नेपालको टी–२० आईमा उत्कृष्ट वरीयता ११ औं स्थान छ । नेपाल २०१९ मा केही समय टी–२० आई वरीयतामा ११ औं स्थानमा रहेको थियो ।


Top