नेपाली जितमा कुशल र रोहित नायक

हिमालय टाइम्स   POSTED ON : भदौ ३०, २०७८ (७:४१ AM)

नेपाली जितमा कुशल र रोहित नायक

काठमाडौं । कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतकीय पारी खेलेपछि नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृंखलाअन्तर्गतको पहिलो खेलमा अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो ।

अमेरिकाले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर २३० रनको योगफल तयार गरेको थियो । २३१ रनको विजयी लक्ष्य नेपालले ४९ ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि प्लेयर अफ दी म्याच हुनुभएका कुशल भुर्तेलले ८४ रनको योगदान दिनुभयो । उहाँले ९३ बलको सामना गर्दै तीन छक्का र तीन चौकासमेत प्रहार गर्नुभयो ।

एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा यो कुशलको करियरको पहिलो अर्धशतकसमेत हो । अघिल्लो साता पपुवा न्युगिनी एकदिवसीय क्रिकेटमा डेब्यु गरेका भुर्तेलले तेस्रो खेलमा नै अर्धशतक प्रहार गर्नुभएको हो । पहिलो विकेटका लागि कुशलले आरिफसँग ६६ रनको साझेदारी गर्नुभएको हो । जुन ओडीआई खेलमा पहिलो विकेटका ओपनरले गरेको यो अहिलेसम्मकै उच्च साझेदारी हो ।

 यसअघि नेपालबाट ओडीआईमा पहिलो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी ६१ रन थियो । जुन साझेदारी २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले यूएईविरुद्ध गर्नुभएको थियो । कुशलपछि नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६२ रनको नटआउट इनिङ खेल्नुभयो । उहाँले ८७ बलमा २ चौका र ३ छक्का प्रहार गर्नुभयो । अमेरिकाअघि नेपालले पीएनजीसँग खेलेको दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलका क्रममा समेत रोहितले क्रमशः ४६ र ८६ रनको इनिङ खेल्नुभएको हो ।

 पाँचौं विकेटका लागि रोहित पौडेल र विनोद भण्डारीले ८३ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालको जित निश्चित भएको थियो । ओडीआईमा पाँचांै विकेटका लागि नेपालका तर्फबाट भएको यो अहिलेसम्मकै ठूलो साझेदारी हो । नेपालका लागि विनोद भण्डारीले ३७, आसिफ शेखले २३ र कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाउनुभयो । बलिङतर्फ अमेरिकाका निसर्ग पटेल र नोष्ठुस केन्जिगेले दुई–दुई तथा सौरभ नेत्राभल्करले एक विकेट लिनुभयो ।

यसअघि २३० रन बनाउनेक्रममा अमेरिकाका लागि मोनाङ्क पटेलले शतकीय पारी खेल्नुभएको थियो । उहाँले यसक्रममा ११४ बलको सामना गर्दै १०० रन बनाउनुभयो । यसमा पटेलको एक छक्का र नौ चौका सामेल थियो । यस्तै निसर्ग पटेलले २१, सुशान्त मोदनीले १६, करिमा गोरेले १६, स्टेभन टेलरले १४, नोष्ठुस केन्जिगेले १३, सञ्जय कृष्णमूर्तिले १३, अभिषेक प्रदमकरले अविजित १३ र जसकरन मलहोत्राले ११ रन बनाउनुभएको थियो । बलिङतर्फ नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र सुशन भारीले दुई/दुई तथा कुशल मल्लले एक विकेट लिनुभयो ।

ओमान र अमेरिकासितको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृंखला खेल्न नेपाली टोली ओमान गएको हो । ज्ञानेन्द्र मल्लले कप्तानी गरेको टोलीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोब रहनुभएको छ । टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित रहनुभएको छ ।

 ओमान शृंखला आगामी असोज ४ गतेसम्म सञ्चालन हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले यही भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो ।

 विश्वकप लिग-२ मा नेपाल रहेको समूहमा पपुवा न्युगिनी, ओमान, अमेरिका, स्कटल्यान्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (यूएई) रहेका छन् । लिग-२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग गत वर्षअघि चार खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो । नेपालले दुई खेलमा अमेरिकालाई हराएको थियो भने बाँकी दुई खेलमा ओमानसित पराजित भएको थियो । पाँचौं खेलमा नेपालले अमेरिकालाई हराउँदै छ अंक जोडेको छ । नेपाल आफ्नो समूहको अंकतालिकाको छैटौं स्थानमा छ ।

 यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईमा हार बेहोर्दै १६ अंकसहित शीर्षस्थानमा छ । अमेरिका १३ खेलमा छ खेलमा जित र सातमा हारसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अंक जोड्दै तेस्रो स्थानमा छ । स्कटल्यान्डले खेलेको एउटा खेल वर्षाका कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार बेहोर्दै आठ अंकसहित चौथो स्थानमा छ ।

यसैगरी यूएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अंक जोड्दै पाँचौं स्थानमा छ । यूएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्युगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्युगिनी अंकविहीन बन्दै लिग-२ को पुछारमा छ ।

 लिग-२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिग–२ का शीर्ष तीन टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउनेछन् भने पुछारमा रहने चार टोलीले प्ले अफ खेल्नेछन् ।


Top