चेन्नाई आइपिएलको फाइनलमा

एजेन्सी   POSTED ON : आश्विन २६, २०७८ (७:५६ AM)

चेन्नाई आइपिएलको फाइनलमा

दुबई । चेन्नाई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दुबईमा आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई चार विकेटले पराजित गर्दै चेन्नाई फाइनल पुगेको हो ।

दिल्लीले भने अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ । एलिमिनेटरमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।

दिल्लीले दिएको १७३ रनको लक्ष्य चेन्नाईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो । चेन्नाईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । यस्तै रोबिन उथप्पाले ६३ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

त्यसबाहेक कप्तान महेन्द्रसिंह धोनीले अविजित १८ रन, मोइन अलीले १६ रन जोड्नुभयो । दिल्लीका टम करणले ३ विकेट लिनुभयो भने एन्रिच नोर्किया र अभेस खानले एक/एक विकेट लिनुभयो ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । दिल्लीका ओपनर पृथ्वी शाले ३४ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिनुभयो । कप्तान ऋषभ पन्त ३५ बलमा ३ चौका र २ छक्कासहित ५१ रनमा अविजित रहनुभयो ।

त्यस्तै दिल्लीका अक्षर पटेल ११ बलमा एक चौकासहित १० रनमा क्याच आउट हुनुभयो । पाँचौं विकेटका लागि ऋषभ पन्त र शिम्रन हेटमायरले ८३ रनको साझेदारी गर्दै दिल्लीलाई बलियो अवस्थामा पु¥याउनुभएको थियो । हेटमायरले ३७ रन जोड्नुभयो । हेटमायरले २४ बलमा ३ चौका र एक छक्का प्रहार गर्नुभयो । चेन्नाईका जोश हेजलवुडले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिनुभयो । ड्वेन ब्राभो, रविन्द्र जडेजा र मोइन अलीले १-१ विकेट लिनुभयो ।

चेन्नाईले २०१०, २०११ र २०१८ को आइपिएल जितेको थियो । २००८, २०१२, २०१३, २०१५ र २०१९ मा चेन्नाई उपविजेतामा सीमित भएको थियो । दिल्लीले गत वर्ष पहिलोपटक आइपिएल फाइनलमा खेले पनि मुम्बईसँग पराजित हुन पुगेको थियो ।

Top