19th August | 2018 | Sunday | 9:15:14 PM

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

  POSTED ON : Thursday, 07 December, 2017 (11:24:29 AM)

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

हिमालय टाइम्स

काठमाडौँ । नेपाली सेपाकताक्रो टोली ३२ औं किङ्स कप सेपाकताक्रो विश्व च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्ने भएको छ । डिसेम्बर १७ तारिखसम्म चल्ने प्रतियोगितामा ६ खेलाडीसहित १० सदस्यीय टोली सहभागी हुनेछ ।

टोलीलाई नेपाल सेपाकताक्रो संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्ट, सेपाकताक्रो संघका पूर्व अध्यक्षद्वय दक्षिण एसियाली सेपाकताक्रो महासंघका अध्यक्ष सीताराम मास्के र महासचिव ध्रुवबहादुर गुरुङले बुधबार वसुन्धारास्थित बुल्स इन्डोर स्पोर्ट्स हलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

पुरुष खेलाडीहरूमा रूपेश सुनार, सुजन डंगोल र रोशन तामाङ तथा महिलामा सोममाया थापा मगर, सुमित्रा डंगोल र उषा महर्जन रहेका छन् । पुरुष÷महिला दुवैमा नेपालले रेगु र डबल्स स्पर्धामा भाग लिनेछ ।

नेपालले किङ्स कपमा २८ औं संस्करणदेखि सहभागिता जनाउन थालेको हो । सहभागिता जनाएको सुरुको संस्करणमा नेपाल पदकविहीन रहृयो । २९ र ३१ औं संस्करणमा नेपाली पुरुष टोलीले रेगु र डबल्समा कास्य जितेको थियो । ३१ औं संस्करणमा नेपालले २०७२ को भूकम्पका कारण सहभागिता जनाएन । नेपाली महिला टोली भने किङ्स कपमा पहिलोपटक सहभागी हुँदैछ ।

टिम व्यवस्थापकमा सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ र जितेन्द्र थापा मगर तथा प्रशिक्षकमा नरबहादुर थापा र मेघरमज तोलाङ्गी छन् । किङ्स कपका लागि एक महिनादेखि खेलाडीले प्रशिक्षण गरिरहेको सेपाकताक्रो संघले जनाएको छ ।