16th October | 2018 | Tuesday | 7:35:31 AM

महिला डबल लिग भलिबललाई रेडबुलको साथ

  POSTED ON : Wednesday, 03 January, 2018 (3:48:30 PM)

महिला डबल लिग भलिबललाई रेडबुलको साथ

हिमालय टाइम्स

काठमाडौं । ढोरपाटन महिला डबल लिग भलिबलको १३आंै संस्करणलाई इनर्जी ड्रिंक्स रेडबुलले मुख्य प्रायोजन गरेको छ । नेपालकै प्रतिष्ठत प्रतियोगिताको रूपमा पहिचान बनाउन सफल महिला डबल लिग भलिबल अब ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’को नामबाट सञ्चालन हुनेछ ।

मंगलबार आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनवीर छन्त्याल र मुख्य प्रायोजक गोर्खाबु्रअरीका मार्केटिङ मेनेजर इन्द्र रेग्मीबीच सम्झौतापत्र आदनप्रदान भयो । ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’का लागि मुख्य प्रायोजक रेडबुलले ३ वर्षका लागि प्रायोजन गर्ने सम्झौता गरेको छ । 

प्रत्येक वर्ष ११ लाखका दरले ३ वर्षमा प्रायोजनबापत ३३ लाख उपलब्ध गराउने पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष छन्त्यालले जानकारी गराए ।

प्रतियोगिताले सहप्रायोजकको रूपमा युएम आइएमइ अर्टोमोटिप्स, सामाखुसी बोर्डिङ स्कुल (सेब), बिजी मल र जिमी गु्रप साथी पाएको छ । युएम आइएमइ अर्टोमोटिप्स प्रालिले चार उत्कृष्ट खेलाडी र एक दर्शकका लागि जम्मा ५ स्कुटरको प्रायोजन गर्ने भएको छ । त्यस्तै अर्को सहप्रयोजक सेब स्कुलले नगद २ लाखको प्रायोजन गर्ने भएको आयोजकले जनाए । 

नयाँबसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा माघ ४ देखि १९ सम्म हुने प्रतियोगितामा विभागीय टोली सशत्र प्रहरीको एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यू डायमण्ड एकेडमी, न्यू डायमण्ड स्पोर्ट्स क्लब, पोखराको टप्स हाइस्कुल, पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल, काठमाडौंको पारामाउण्ट हाइस्कुल, भक्तपुरको स्प्रिङडेल इंग्लिस स्कुल, श्री गाउँ स्पोर्ट्स विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्री स्टार एकेडमीको सहभागिता रहेको छ ।

साविक विजेता रिड मोडल कलेजले भने सहभागिता जनाएको छैन । प्रतियोगितामा सहभागी टिमले विदेशी ४ खेलाडी राख्न पाउने प्रावधान छ । तर प्लेइङ सिक्समा भने ३ खेलाडीमात्र कोर्टमा उत्रन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपविजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै चौथौ हुनेलाई ५० हजार, पाँचौंलाई ४० हजार, छैटौंलाई ३० हजार र सातौं हुने टिमलाई २० हजार नगद प्रदान गरिनेछ ।

प्रतियोगिताको अर्को आकर्षकको रूपमा रहेको ५ युएम पावरम्याक्स स्कुटर हो । चार विधामा उत्कुष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन् । वेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडी स्कुटरका हकदार हुनेछन् । प्रतियोगिताका वेष्ट स्पाइकर, डिफेन्स, सेटर, सर्भिर, ब्लकर, उत्कुष्ट क्विकर र उत्कुष्ट कोचलाई जनही ५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको १३औं संस्करणमा एक दर्शकलेसमेत स्कुटर पाउने भएका छन् । प्रतियोगिताको अन्तिम दिन टिकट काटेर खेल हेर्न गएकामध्ये एक दर्शकले लक्की ड्रबाट स्कुटर जित्ने छन् । प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट डाइमण्ड मोवाइल पनि पाउनेछन् ।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेको छ । पत्रकार सम्मेलन तथा साइनिङ सेरोमनिमा नेपाल भलिबल संघ अध्यक्ष मनोरञ्जन रमण शर्माले बल र नेट ढोरपाटन क्लबका अध्यक्ष छन्त्याललाई हस्तान्तरण गरेका थिए । पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका उपाध्यक्ष उपेन्द्र यादव, महासचिव जितेन्द्रबहादुर चन्द, सहप्रायोजक सेब स्कुलका प्रिन्सिपल युवराज थापा, युएम आइएमइ अर्टोमोटिप्सका डिबिजन प्रमुख उज्ज्वल जोसी, आयोजक क्लबका उपाध्यक्ष किरण घायल, महासचिव देविन्द्र घर्तीमगरलगायतको उपस्थिति थियो ।


Views: 41