23rd July | 2018 | Monday | 12:07:26 AM

नेपालको लगातार दोस्रो हार

  POSTED ON : Thursday, 11 January, 2018 (3:48:35 PM)

नेपालको लगातार दोस्रो हार

हिमालय टाइम्स

काठमाडौं । पाँचौं नेत्रहीन एकदिवसीय क्रिकेट विश्वकपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । 

पाकिस्तानको इक्वाल स्टेडियममा बुधबार भएको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो । यसअघि मंगलबार भएको खेलमा नेपाल आयोजक पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।

बंगलादेशविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३४ रन जोडेको थियो । जवाफी ब्याटिङमा बंगलादेशले ३३.३ ओभरमा ६ विकेट गुमाई उक्त लक्ष्य भेटायो ।

बंगलादेशको जितमा मोहम्मुद रसिदले सर्वाधिक ६० रन जोडे । यस्तै, उसका आसिकर रहमानले ४५ तथा मोहम्मद अब्दुल मालिकले ३८ रन बनाए । 

नेपाली बलरहरूको प्रदर्शन सम्झन योग्य रहेन । भरत थापाले २ विकेट लिदा ६.३ ओभरको स्पेलमा ४२ रन खर्चे । यस्तै कृतन श्रेष्ठ दुवाल, खिमानन्द गैरे र दुर्गा पौडेलले नेपालका लागि समान १–१ विकेट हात पारे ।

त्यसअघि नेपालका कप्तान कीर्तन श्रेष्ठ दुवालले अर्धशतकीय पारी खेलेपछि नेपालले २ सय ३४ रन जोडेको थियो । दुवालले नेपालका लागि सर्वाधिक ६६ रनको पारी खेलेका थिए । ७३ बलको सामना गरेका उनले ३ चौका प्रहार गरे । 

यस्तै नेपालका खिमानन्द गैरेले ३४, पदम बडैलाले ३० र बद्री चौलागाईंले १६ रन जोडे । भरत थापा १२ तथा नरेश थारू ४ रनमा नटआउट रहे । 

बलिङतर्फ बंगलादेशका खोर्सिद आलमले ३ तथा आरिफ उल्लाहले २ विकेट लिए । 

खेलको मोस्ट भ्याल्युएवल प्लेयर नेपालका कप्तान कीर्तन श्रेष्ठ दुवाल घोषित भए । नेपालले तेस्रो खेलमा शनिबार श्रीलंकाको सामना गर्नेछ ।