18th October | 2018 | Thursday | 6:59:21 AM

फुटबलको महाकुम्भ इतिहास र उपाधि दाबेदार राष्ट्र

हिमालय टाइम्स   POSTED ON : Thursday, 14 June, 2018 (6:23:32 PM)

फुटबलको महाकुम्भ इतिहास र उपाधि दाबेदार राष्ट्र

काठमाडौं । २१ औं संस्करणको फिफा विश्वकप आजदेखि रसियामा सुरु हुँदैछ । प्रत्येक चार वर्षमा हुने विश्वमा सर्वाधिक रुचाइएको यस प्रतियोगिताको भव्य तयारी सम्पन्न भइसकेको छ । आयोजकबाहेक २ सय १० फिफा सदस्य राष्ट्रले विश्वकप छनोटमा सहभागिता जनाएका थिए । जसबाट छानिएका ३१ टोली र आयोजक १ गरी ३२ टोलीले विश्वकपमा सहभागिता जनाउँदैछन् । प्रतियोगिता आजबाट सुरु भइ जुलाई १५ सम्म चल्नेछ । यस फुटबल महभुकम्भ मेलाका तथ्य यस्ता छनः

इतिहास

सन् १९०० मा ओलम्पिकमा फुटबलले धेरै दर्शक पाएपछि विश्वका फुटबल खेल्ने राष्ट्र अन्तर्राष्ट्रिय फुटबल महासंघको गठनमा लागेका थिए । पहिलोपटक बेलायतले १८६६ मा फुटबल संघ बनाएको थियो । उसँगै युरोपका अन्य देशले पनि फुटबल संघ बनाए र अन्तर्राष्ट्रिय संस्था बनाउनतिर लागे ।

सन् १९०४ मा फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, स्पेन, स्वीडेन र स्विजरल्याण्ड देशका प्रतिनिधिले फ्रान्सको राजधानी पेरिसमा फुटबलको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को औपचारिक गठन गरेका थिए । सन् १९२८ मेमा नेदरल्यण्ड्सको आर्मस्ट्रममा बसेको फिफाको बैठकले सन् १९३० देखि हरेक चार/चार वर्षमा फिफा आयोजना गर्ने घोषणा ग¥यो । त्यस लगतै अर्कोवर्ष बार्सिलोनामा बसेको फिफाको बैठकले ओलम्पिकमा त्यसबेलाको फुटबल महारथी उरुग्वेलाई पहिलो विश्वकप आयोजनाको जिम्मा दियो । 

सन् १९३० जुलाई १३ देखि ३० जुलाईसम्म उरुग्वेले पहिलोपटक विश्वकप आयोजना गरेको थियो । पहिलो विश्वकपमा १३ टिम भाग लिएका थिए । जसमा अर्जेन्टिना, चिली, फ्रान्स, मेक्सिको, युगोस्लाभिया, ब्राजिल, बोलिभिया, आयोजक उरुग्वे, रोमानिया, पेरु, अमेरिका, पाराग्वे, अमेरिका र बेल्जियम टोली विश्वकपको पहिलो संस्करणमा छनोट हुन सफल थिए ।

उनीहरूलाई चार समूहमा विभाजित गरिएको थियो । एउटा समूहमा चार राष्ट्र सहभागी थिए भने अन्य समूहमा ३÷३ राष्ट्र थिए । ९३ हजार मानिसले हेरेको फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो । 

विश्वकप जित्नेहरू

विश्वकप फुटबल २१ औँ संस्करणमा आइपुग्दा केवल ८ देशले मात्र उपाधि जित्न सकेका छन् । जसमा ब्राजिल, जर्मनी, इटाली, अर्जेन्टिना, उरुग्वे, फ्रान्स इङल्याण्ड र स्पेन छन् । ब्राजिलले अहिलेसम्म सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी सबैभन्दा बढी पाँचपटक विश्वकपको उपाधि हात पारेको छ । 

त्यस्तै, जर्मनीले सन् १९५४, १९७४, १९९० र २०१४ गरी ४ पटक विश्वकपको उपाधिमा आफ्नो वर्चश्व कायम राख्न सफल भएको छ । इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ गरी ४ पटक विश्वकपको उपाधि जितेको छ । तर, २१औं विश्वकपमा भने इटालीले विश्वकप छनोट चरण पार गर्न सकेन । यस्तै, अर्जेन्टिना सन् १९७८ र १९८६ मा र उरुग्वेले सन् १९३० र १९५० गरी दुई÷ दुई पटक विश्वकप जितेका छन् । फ्रान्सले सन् १९९८ मा, इङल्याण्डले १९६६ मा । स्पेनले २०१० को विश्वकप उपाधि एक÷एक पटक आफ्नो पोल्टामा पार्न सफल भए । 

उद्घाटन समारोह र खेल

८० हजारभन्दा बढी क्षमता रहेको रूसको मुख्य लुजनिकी स्टेडियममा यस संस्करणको उद्घाटन समारोह हुँदैछ । उद्घाटन समारोहमा तीन अन्तर्राष्ट्रिय सेलीब्रेटीहरूले प्रस्तुति दिने फिफाले यसअघि नै जनाइसकेको छ ।

नेपाली समायानुसार साँझ सवा ८ बजेदेखि सुरु हुने उद्घाटन समारोह ब्रिटेनका गायक रोबी विलियम्सको विशेष प्रस्तुति रहनेछ । उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिनाले साथ दिने भएकी छिन् । यस्तै,फुटबल दर्शकहरूलाई मन्त्रमुग्ध पार्न दुईपटकका विश्वकप विजेता ब्राजिलका रोनाल्डोको पनि विशेष प्रस्तुति हुने फिफाले जनाएको छ । 

आधा घण्टाको उद्घाटन समारोहपछि पौने ९ बजेबाट सुरु हुने रूस र साउदी अरेबियाबीचको पहिलो खेलले विश्वकपको उद्घाटन गर्नेछ । विश्वकपको इतिहासमा उद्घाटन खेलमा आयोजक राष्ट्रले पराजय भोग्नु परेको छैन् । सोही परम्परा कायम राख्न तथा घरेलु दर्शकलाई खुशी दिलाउन पनि रूस उद्घाटन खेलमा जित हात पार्ने योजनामा हुनेछ । 

तर, रूसको पछिल्लो अवस्था भने निकै नाजुक हो । विश्वकप खेल्ने टोलीभन्दा फिफा वरियतामा रूस पुछारमा छ । सन् २००८ यता रूसले कुनै पनि ठूलो प्रतियोगिताको समूह चरण पार गर्न सकेको छैन । रूसका मुख्य खेलाडी स्इगोर इकिनफेभ हुन् । कप्तान तथा गोलरक्षक उनमा सबैको नजर हुनेछ । साउदी अरेबिया वरियतामा रूसभन्दा तीन स्थानमाथि रहेको टोली हो । साउदीका मुख्य खेलाडी हुन्, मोहम्मद अल–सहलवी । यी ३० वर्षीय फरवार्डले विश्वकप छनोटमा मात्रै १६ गोल गरेका थिए । 

वरियतामा को कहाँ ?

फिफाले अघिल्लो साता सार्वजनिक गरेको वरियतामा आयोजक राष्ट्र रूस आगामी विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये सबैभन्दा पुछारमा छ रूस चार स्थान खस्कँदै सबैभन्दा तल ७० औं स्थानमा पुगेको हो । उसको उद्घाटन प्रतिद्वन्द्वी साउदी अरेबिया ६७ औं स्थानमा उक्लेको छ । 

विश्वकपमासहभागीमध्ये फिफा वरीयताको शीर्ष स्थानमा साबिक विजेता जर्मनी यथावत् छ । दोस्रो स्थानमा ब्राजिल, तेस्रोमा बेल्जियम, चौथोमा पोर्चुगल, पाँचौंमा अर्जेन्टिना, छैटौंमा स्विट्जरल्यान्ड र सातौं स्थानमा फ्रान्स यथावत् छन् । दुई स्थान सुधार गरेको पोल्यान्ड आठौं स्थानमा उक्लिएको छ ।


यसैगरी विश्वकपमा बलियो मानिएको स्पेन दुई स्थान खस्कँदै १० औं स्थानमा झरेको छ । चिली नवौं स्थानमा यथावत् छ । विश्वकप छनोट हुन नसकेको नेदरल्यान्ड्स, वेल्स र इटाली पनि वरियताको शीर्ष २० मा अटाएका छन् । विश्वकप टोली मेक्सिको १५औं, अफ्रिकन टोली ट्युनिसिया २१औं र एसियाको बलियो टोली अस्ट्रेलिया ३६ औं स्थानमा छन् । 

उपाधि दाबेदार राष्ट्र

यस विश्वकपको मुख्य उपाधि दाबेदार टोलीमा ब्राजिल, जर्मनी, अर्जेन्टीना, फ्रान्स र स्पेन रहेका छन् । अघिल्लो विश्वकपको आयोजक ब्राजिल सेमिफाइनलबाट बाहिरिएको थियो । नेमार र कप्तान थियगो सिल्भा घाइते भएको खेलमा जर्मनीले ब्राजिललाई ७–१ को नमीठो हार चखाएको थियो । यसपटक कप्तान नेमार र प्रशिक्षक टिटेलाई त्यो नमीठो सम्झना भुलाउने र छैटौंपटक विश्वकप उचाल्ने मौका छ । विश्वकप अघिका क्रोएसिया र अष्ट्रियाविरुद्धको मैत्रीपूर्ण खेलमा पनि नेमारले गोल गर्दै आफ्नो लय देखाइसकेका छन् । 

विश्वकप अघि भएको मैत्रीपूर्ण खेलमा साउदी अरेबियाविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाले पनि राम्रो टिमवर्क भएको टोली जर्मनी हो । जर्मनीले पछिल्ला चार विश्वकपमा हरेकपल्ट कम्तीमा सेमिफाइनल यात्रा तय गरेको छ । २०१० को विजेता स्पेनको प्रदर्शन २०१४ मा भने सम्झनलायक रहेन । यस विश्वकपमा स्पेन अघिल्लो विश्वकपको कमजोर प्रदर्शन भुलाउँदै उपाधि यात्रामा छ । स्पेनले गत शनिबार टयुनिसियालाई १–० ले पराजित गर्दै विश्वकपको तयारी सम्पन्न गरेको थियो । 

फ्रान्सले विश्वकपको तयारीका क्रममा आयरल्याण्ड र इटालीलाई पराजित गरेको थियो भने अमेरिकासँग १–१ को बराबरी खेलेको थियो । उसका किलियन एमबाप्पे र पाउल पोग्बा राम्रो लयमा छन् । यस्तैे, एन्टोइन ग्रिजमन र ओलिभर जिरुडले धेरैको ध्यान खिच्नेछन् । 

अर्जेन्टिना अघिल्लो संस्करणको उपविजेता टोली हो । उसको इजरायलविरुद्धको मैत्रीपूर्ण खेल रद्द भएको थियो । तर, टोलीमा लिओनल मेस्सी, जिओभानी लो सेल्सो, गोन्जालो हिगुइन, सर्जियो अगुइरो, पाउलो डिबाला र एन्जेल डी मारियाजस्ता खेलाडी छन् । उनीहरूको उद्देश्य उपाधि हुनेछ । 

सुपरस्टार खेलाडीहरू 

क्रिस्टियानो रोनाल्डो बालोन डी ओरका विजेता अर्थात् फिफा वर्ष खेलाडीका रूपमा विश्वकपमा सहभागिता जनाउँदै छन् । उनको टोली पोर्चुगल युरोपको च्याम्पियन टोलीका रूपमा विश्वकपका सहभागिता जनाउन लागेको हो । भर्खरैमात्रै रियल मड्रिडलाई च्याम्पियन्स लिगमा लगातार तेस्रोपटक विजेता बनाएका उनको खेल सबैको नजरमा हुनेछ । 

रोनाल्डोसँगै अर्जेन्टिनाका स्टार लिओनल मेस्सी पाँचपटक फिफा विश्व खेलाडी भइसकेका छन् । बार्सिलोनालाई यस वर्षको लालिगाको उपाधि जिताउँदै मेस्सी विश्वकपमा सहभागिता जनाउन लागेका हुन् । क्लब फुटबलमा सबै उपाधि हासिल गरिसके पनि रोनाल्डो झै मेस्सीले विश्वकपको उपाधिको स्वाद भने चाख्न पाएका छन् । 

थोमस मुलरको प्रेरणामा जर्मनीले २०१४ को विश्वकप नै उचालेको थियो । त्यसअघि २०१० को विश्वकपमा जर्मनी तेस्रो बनेपनि गोल्डन बुट उनले जितेका थिए । विश्वकपमा उनले १० गोल गरिसकेका छन् । यसपटक पनि जर्मनीलाई लगातार उपाधि दिलाउने उनको लक्ष्य हुनेछ । विश्वका सबैभन्दा महँगा खेलाडी नेमारले विश्वकप अघिका दुवै खेलमा गोल गरिसकेका छन् । सन् २०१४ मा घरेलु मैदानमा आयोजना भएको विश्वकप जित्ने ब्राजिलको सपना पूरा हुन सकेको थिएन् । कारण, नेमार घाइते हुनु थियो । तर, यसपटक भने उत्कृष्ट खेलाडीको साथ पाएका कप्तान नेमारका अघि उपाधि जित्ने चुनौती छ । 

यस विश्वकपमा अफ्रिका र प्रिमियर लिगका उत्कृष्ट खेलाडीका रूपमा इजिप्टका मोहम्मद सलाहले सहभागिता जनाउँदैछन् । प्रिमियर लिगको पहिलो सिजनमै ३८ खेल खेल्दै ३२ गोल गरेर सलाहले सनसनी मच्चाएका थिए । निर्णायक खेलमा पेनाल्टीमार्फत् गोल गर्दै २८ वर्षपछि सलाहले इजिप्टलाई विश्वकपमा पु¥याएका थिए ।  

रोनाल्डो र मेस्सीलाई अन्तिम मौका

समान ५–५ पटक विश्वका सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका कप्तान मेस्सीलाई आफ्नो करिअरमा विश्वकप उपाधि जित्ने यो अन्तिम मौका हुनेछ । मेस्सीले सार्वजनिक रूपमै अर्जेन्टिनाको प्रदर्शनपछि आफ्नो सन्यासबारे निर्णय लिने बताइसकेका छन् । खेल जीवनको उत्तरार्धमा रहेका ३३ वर्षे रोनाल्डोको अवस्था पनि त्यस्तै छ । 

रोनाल्डो र मेस्सीले क्लब फुटबलमा जित्न बाँकी कुनै पनि प्रतियोगिता छैन । रोनाल्डोले युरोपेली च्याम्पियन्स लिग, इंग्लिस प्रिमियर लिग, स्पेनी ला लिगा, क्लब विश्वकपसहित २७ उपाधि जितेका छन् । मेस्सीले च्याम्पियन्स लिग, ला लिगा, क्लब विश्वकपसहित ३२ उपाधि छन् । देशका लागि भने रोनाल्डोको पोर्चुगललाई २०१६ मा युरोपियन च्याम्पियन बनाएका थिए । यता, मेस्सीको प्रदर्शनमा अर्जेन्टिनाले बेइजिङ ओलम्पिक २००८ मा स्वर्णपदक जितेको थियो । तर, यसपटक भने उनीहरूलाई विश्व फुटबलको सर्वोच्चो उपाधि जित्ने मौका छ । 

नेपाल कहाँ ?

सन् १९८६ मा नेपालले पहिलोपटक विश्वकप छनोटमा सहभागिता गराएको थियो । त्यसयताका तीनदशक देखिमा नेपालले सातपटक विश्वकप छनोटमा सहभागिता जनाएपनि नेपालले पहिलो चरण पनि पार गर्न सकेको छैन् । 

यस विश्वकपका लागि नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो । पहिलो चरणको छनोटमा नेपालले दक्षिण एसियाकै चीरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध प्रतिस्पर्धा गरेको थियो । एएफसीले भारतविरुद्धको खेललाई विश्वकप तथा एसियन छनोटका रूपमा घोषणा गरेको थियो । जित्ने टोली विश्वकप र एसियन कपको अर्को चरणमा छनोट हुने थिए तर नेपालले भारतविरुद्ध इन्दिरा गान्धी रंगशालामा भएको पहिलो लेगमा २–० ले पराजय भयो भने काठमाडौंमा भएको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपछि नेपाल एसियन छनोटको पहिलो चरणबाटै बाहिरिएको थियो ।

ग्रासनोट भन्छ, ब्राजिल जित्छ

खेलकुद र मनोरञ्जनको क्षेत्रमा सक्रिय अमेरिकी संस्था ‘ग्रासनोट’ ले अघिल्लो साता आगामी विश्वकपमा सहभागी टोलीहरूको विभिन्न पक्षको विश्लेषण गर्दै नतिजा सार्वजनिक गरेको थियो । उक्त संस्थाको विश्लेषणले यस विश्वकपको उपाधि ब्राजिलले जित्ने दाबी गरिएको थियो । त्यतिमात्रै हैन, उक्त अध्ययनले यस विश्वकपको फाइनलमा ब्राजिल र स्पेन भिड्ने र ब्राजिलले स्पेनलाई हराउँदै छैटौंपटक उपाधि चुम्ने बताइएको थियो । 

यसअघि ग्रासरुटले सार्वजनिक गरेका विश्वकपलगायतका ठूला प्रतियोगिताका पूर्वानुमानहरू मिलेका थिए । उसले टोली तथा खेलाडीको क्षमता, वरियतालगायतका कुरालाई निर्धारण गर्दै विश्वकपको पूर्वानुमान गरेको दाबी गरेको छ । जसमा ब्राजिलको विश्वकप जित्ने सम्भावना २१ प्रतिशतभन्दा बढी देखिएको छ ।ब्राजिलपछि  स्पेन, जर्मनी र अर्जेन्टिनाको विश्वकप जत्ने सम्भावना रहेको ग्रासनोट उल्लेख गरेको छ । उसको अध्ययनमा स्पेनको सम्भावना १० प्रतिशत, जर्मनी र अर्जेन्टिनाको सम्भावना आठ÷आठ प्रतिशत देखिएको छ । 


Views: 7