17th October | 2018 | Wednesday | 10:02:49 PM

लगातार चौथो जितसँगै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

हिमालय टाइम्स   POSTED ON : Wednesday, 10 October, 2018 (3:33:50 PM)

लगातार चौथो जितसँगै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

काठमाडौं । मलेसियामा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया छनोट समूह बी अन्तर्गतको चौथो खेलमा नेपालले भुटानलाई सोमबार १ एक १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । 

छनोटमा नेपालको यो लगातार चौथो जित हो । यसअघि नेपालले म्यानमार र मलेसियालाई समान आठ– आठ विकेट तथा थाइल्याण्डलाई एक सय ४० रनले पराजित गरेको थियो । जीतसँगै अंकतालिकाको शीर्ष स्थानमा रहेको नेपालले एसिया छनोटको दोस्रो चरणमा प्रवेश पक्का गरेको छ । नेपालले चार खेलबाट आठ अंक जोडेको छ । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटको दोस्रो चरणमा स्थान बनाउनेछन् । त्यस्तै, एसिया छनोटबाट शीर्ष दुई टोलीले सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले भुटानलाई १ सय ५१ रनको लक्ष्य दिएको थियो । जवाफमा भुटान १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३३ रनमा सीमित भयो । भुटानका लागि तेञ्जिङ वाङ्चुक जुनियरले सर्वाधिक ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । त्यस्तै, सञ्जीवन गुरुङले ६ तथा रमेश गुरुङले ४ रन जोडेका थिए । 

नेपालका ललितनारायण राजवंशी र सन्दीप लामिछानेले ३–३ विकेट लिए भने वसन्त रेग्मीले दुई तथा दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले समान १–१ विकेट झारेका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रनको योगफल बनाएको थियो । नेपालका लागि प्रदीप ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । त्यस्तै, अनिलकुमार शाहले २७, दीपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३ तथा करण केसीले ११ रन जोडे । भुटानका जिग्मी सिंगे, सञ्जीवन गुरुङ, थिन्ले र रमेश गुरुङले १–१ विकेट लिए । नेपालले अब बुधबार चीनसँग प्रतिस्पर्धा गर्नेछ । असोज २६ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । राउण्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि छनोट हुनेछन् । जसमा भुटानसँगको जितसँगै नेपालले दोस्रो स्थान पक्का गरेको हो ।

यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । ६ टोलीबीचको प्रतिस्पर्धाबाट दुई शीर्ष टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार शाह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनील धमला, शाहब अलाम, दीपेश श्रेष्ठ र सागर पुन छन् ।


Views: 50