18th February | 2019 | Monday | 5:03:18 PM

क्यानको निलम्बन फुकुवा हुँदैछ, खेलाडीले सबै पारिश्रमिक पाउँछन् : मन्त्री विश्वकर्मा

  POSTED ON : Tuesday, 05 February, 2019 (5:37:44 PM)

क्यानको निलम्बन फुकुवा हुँदैछ, खेलाडीले सबै पारिश्रमिक पाउँछन् : मन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले छिटै नेपाल क्रिकेट परिषद् (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन् । 

मंगलबार राजधाानीमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्रीविश्वकर्माले आइसिसीले दिएको रोडम्याप अनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको दावी गरे । 

साधारण सभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।

आइसिसीले भने अनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै उनले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्धा हालेकाले निलम्बन फुकुवा गर्न  ढिला भएको बताए । सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्धा फिर्ताको निवेदन दिन लगाइ सकिएकाले अब प्रक्रियागत ढंगले क्यान माथिको निलम्बन फुकुवा हुने मन्त्री विश्वकर्माले बताए ।

साक्षात्कारमा मन्त्री विश्वकर्माले आइसिसी मार्फत नेपाली क्रिकेट खेलाडीले पाउने पारिश्रमिक पनि क्यानको निलम्बन फुकवा पछि प्राप्त हुने बताए । 

निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । आइसिसीको निलम्बनमा पर्नु अघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीनश्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलब समेत रोकेको थियो ।


‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५, ‘बी’श्रेणीका खेलाडीले मासिक रु २५ र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाएका छैनन् ।

नेपालमा बन्दै गएको सकारात्मक वातावरणलाई मनन गर्दै निलम्बन फुकुवा गर्न मन्त्री विश्वकर्माले आइसिसीलाई आग्रह पनि गरे ।

हिजो बसेको मन्त्रीपरिषद् बैठकले युएईविरुद्धको टि–२० र एक दिवसीय सिरिज जितेर आएका खेलाडिलाई जनही ५ लाख रुपैयाँदिएर सम्मान गर्ने निर्णय गरेको पनि मन्त्री विश्वकर्माले जानकारी दिए । 

५ लाखको ठाउँमा ५० लाख दिन किन सकिदैन भन्ने एक प्रश्नमा मन्त्री विश्वकर्माले सदासयताको लागि धन्यवाद दिदै अहिलेको अवस्थामा खेलाडिलाई त्यति धेरै रकम दिन नसकिने प्रष्ट पारे ।

खेलाडिलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिवद्ध रहेको भन्दै उनले खेलेर भविष्य सुनिश्चित गर्न सक्ने अवस्थामा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

क्रिकटकै प्रसंगमा मन्त्रीविश्वकर्माले मुलपानी क्रिकेट मैदान साँढे दुई वर्ष भित्र निर्माण सम्पन्न गरिने दावी गरे । आफू मन्त्री हुँनुअघिको सबै समस्या समाधान गरेर निर्माण प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए ।

“जग्गा विवाद समाधानको प्रस्ताव मन्त्रीपरिषदले पास गरेर बजेटका लागि अर्थ मन्त्रालयमा प्रस्ताव लगेको छु । अर्थले प्रस्ताव स्विकार गर्नासाथ टेण्डर आव्हान गर्छौँ ।” विश्वकर्माले भने ।

गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान सरकार आफैले नबनाएर किन अरुलाई जिम्मा दियो भन्ने प्रश्नमा मन्त्रीविश्वकर्माले खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको जवाफ दिए ।


अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सरकार आफैले पनि रंगशाला बनाउने भन्दै उनले भक्तपुरमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए । त्यसैगरी सात वटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने सरकारको लक्ष्यअनुसार काम भइरहेको पनि उनले बताए । 


हरेक स्थानीयतहमा खेलग्राम बनाउने योजना समेत सरकारसँग रहेको मन्त्री विश्वकर्माले सुनाए । त्यसका लागि स्थानीयतहले ३० प्रतिशत र संघीय सरकारले ७० प्रतिशत बजेट उपलब्ध गराउने छ । 


नेपाली क्रिकेट खेलाडिले प्राप्त गरेको सफलतलाई सरकारले सदुपयोग गर्न नसकेको भन्ने पत्रकारको प्रश्नमा मन्त्रीविश्वकर्माले वर्तमान सरकार देशको विकास र समृद्धिसँगै खेल क्षेत्रको विकासका लागि पनि प्रतिवद्ध भएको दावी गरे ।


Views: 44