24th March | 2019 | Sunday | 9:04:25 AM

राष्ट्रिय टोलीको नयाँ जर्सी

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २१, २०७५ (५:५१ AM)

राष्ट्रिय टोलीको नयाँ जर्सी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो नयाँ लोगो र राष्ट्रिय फुटबल टोलीले प्रयोग गर्ने जर्सी सार्वजनिक गरेको छ । एन्फाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय टोलीको जर्सी तथा एन्फाको आधिकारिक नयाँ लोगो सार्वजनिक गरेको हो । 

पोखराका सन्दीप तिवारीले बनाएको लोगोलाई एन्फाको नयाँ लोगोका रूपमा प्रयोग गर्ने भएको छ । एन्फाले लोगो निर्माणका लागि सार्वजनिक आहृवान गरेको थियो । जसमा पाँच सय ७० जनाले लोगो डिजाइन गरी पठाएका थिए । तीमध्ये उत्कृष्ट ठहरिएको तिवारीको लोगोलाई एन्फाले प्रयोग गर्ने भएको हो । लोगो निर्माण गरेवापत एन्फाले तिवारीलाई ५० हजार नगदले पुरस्कृत गरेको छ ।

नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ । पुछारमा फुटबलको चिन्ह रहेको छ । फुटबलमा ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने घेरा राखिएको छ । एन्फाको लोगो दोस्रोपटक परिवर्तन भएको हो । यसअघि विसं २०६२–६३ को जनआन्दोलनपछि परिवर्तन गरिएको थियो । त्यसबेला हाल रहेको लोगोको मध्ये भागमा रहेको श्रीपेच हटाएर फुटबल राखिएको थियो ।

सोही कार्यक्रममा एन्फाले नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सीसमेत सार्वजनिक गरेको छ । जर्सीलाई अतिथि तथा खेलाडीले सार्वजनिक गरेका थिए । नयाँ जर्सी सधैझैँ रातो र निलो रङमा रहेको छ । तर, लोगो रहेको स्थान परिवर्तन भएको छ । यस्तै जर्सीको अघिल्लो भागमा सगरमाथाको प्रतीक राखिएको छ । जर्सीको डिजाइन एन्फा आफैले निर्माण गरेको हो । एन्फाको नयाँ जर्सी केल्मी कम्पनीले निर्माण गर्नेछ । 

यस्तै एन्फाले फुटबल टिमको गीतसमेत सार्वजनिक गरेको छ । फुटबल टिमको गीत राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलले रचेका हुन् । गीतमा शिव परियार, इन्दिरा जोशीलगायतको स्वर रहेको छ ।

कार्यक्रममा उपस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले कार्यले फुटबलमा नयाँ हौसला थपेको बताए । 

‘फुटबलका लागि आज महŒवपूर्ण दिन हो,’ उनले भने, ‘हामी खेलबाट देशलाई चिनाउने अभियानमा छौं । प्रत्येक दिन केही न केही नयाँ दिनुपर्छ । यसले खेलाडीलाई ऊर्जा थपेको छ ।’

उनले खेलकुदमा गुणात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । यही जोसका साथ अघि बढेमा खेलकुदका माध्यमबाट देशलाई चिनाउन समय नलाग्ने उनले बताए । 

‘हामी आजसम्म हिमाल र बुद्धलाई सम्झेर गर्व गर्छौ,’ उनले भने, ‘अब हाम्रो पुस्ता, रगत, सिर्जनाले नेपाल चिनाउनुपर्छ । त्यो चिनाउनसक्ने क्षमता हाम्रो खेलाडीसँग छ ।’

कार्यक्रममा उनले आठौं खेलकुद प्रतियोगिता खेल चैत्र १५ गतेबाट सुरु गर्ने बताए । यस्तै नेपालमा हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद डिसेम्बर १ देखि डिसेम्बर १२ सम्म गर्ने तयारी गर्न लागिएको उनले जानकारी दिए ।


Views: 33